गृहपृष्ठ कर्णाली प्रदेशसभा : घाम तापेर समय बिताउँछन् सांसदहरु

कर्णाली प्रदेशसभा : घाम तापेर समय बिताउँछन् सांसदहरु

karnali-samsad3

कर्णाली प्रदेशमा सम्वृद्धिको चर्चा खुब चलेको छ । गरिबी र भोकमरी तथा पिछडिएको प्रेदशलाई सम्वृद्ध प्रदेश बनाउँछौं भन्दै जनतालाई सपना बाँढ्दै आएको कर्णाली प्रदेश सरकारले सुरुमा केही गर्छकी भन्ने लक्षण देखाएकै हो ।

देशभरका सातवटा प्रदेशमा सबैभन्दा पहिले राजधानीको टुङ्गो लगाई नामाकरणसमेत गरेको थियो कर्णालीले । सुरुसुरुमा समयकोसमेत ख्याल गर्ने कर्णाली सरकारको गति भने अहिले कछुवाको जस्तै भएको छ ।

कर्णाली प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइए पनि करिब दुई तिन घण्टा ढिला गरी सञ्चालन हुने गर्दछ । बैठकका लागि १ बजे नै उपस्थित भएका मन्त्री तथा सांसद र विशिष्ट पदाधिकारीहरु ३ बजेसम्म संसद भवनमा घाममा ढाड सेक्दै गरेको दृश्य देख्न सकिन्छ ।

नाम नभन्ने सर्तमा एकजना सचिवले भने ‘नीति निर्माण गर्नेहरुको गति त यस्तो छ भने आम कर्मचारीले यसबाट के सिक्लान् ? विशिष्ट पदाधिकारीहरु समेत प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुनु भनी दिउँसो एक बजेका लागि बोलाइयो तर तिन बजीसक्यो अहिलेसम्म बैठक सुरु नै भएको छैन । कार्यालयको काम छोडेर आएको छु । यस्तो तालले कर्णाली प्रदेश सकारले देखेको सम्वृद्धिको सपना पुरा हुँदैन ।’

पछिल्लो समय कर्णाली प्रदेशसभा बैठक ढिलो मात्रै होईन पटक–पटक अवरुद्ध र स्थगीत समेत हुने गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सांसद जिवनबहादुर शाही भन्छन्, ‘यो कर्णाली प्रदेश सरकारको केटाकेटी पन हो । यसले कर्णालीका जनतालाई झन् पीडा दिन्छ ।’

नेकपाले संसदीय दलको नेतासमेत चयन गर्न नसकेको शाहीले बताए । ‘दुई तिहाई प्राप्त गरेको नेकपाले अहिलेसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन,’ उनले भने, ‘नत प्रमुख सचेतक नै छान्न सकेको छ । यस्तो खालको आन्तरिक विवादका कारण संसदले दुःख पाइरहेको छ ।’

कर्णालीका सभामुख राजबहादुर शाहीले कार्यलयको काम कारबाही र राजनीतिक सहमति समयमै हुन नसक्दा बैठक सञ्चालनमा केही ढिला हुने गरेको स्वीकार गरे । ‘हाम्रो आन्तरिक कामहरु धेरै हुन्छ । कतिपय अवस्थामा राजनीतिक दलहरु असन्तुष्ट हुन्छन्,’ उनले भने, ‘सहमती नगराई बैठक सञ्चालन गर्न सकिँदैन । त्यसैले दलहरुलाई सहमतीमा ल्याउँदा केही ढिला भएको हो ।’

उसै त कर्णाली गरिब प्रदेशका नामले परिचित छ । अर्कातिर सरकारले देखेको सम्वृद्धिको सपना समयको ख्याल नगरे पुरा होला ?

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु