गृहपृष्ठ महिलाले नेतृत्व गरेको नमुना गाउँ जहाँ घरेलु हिंसा हुँदैन
महिलाले नेतृत्व गरेको नमुना गाउँ जहाँ घरेलु हिंसा हुँदैन
बराहताल गाउँपालिका-८ बेलचौरका महिलाहरु विगतदेखी घरेलु हिंसा सहन बाध्य थिए । प्राय मगर र गुरुङ्ग तथा केहि मात्रामा मात्रै क्षेत्री र दलित रहेको त्यो बस्तिमा मदिरा उत्पादन पनि हुन्थ्यो । पुरुषहरु कोही रोजगार थिए भने कोही मजदुरी गर्दथे । महिलाहरुका लागि भने घरधन्दा नै मुख्य पेशा थियो ।
गाउँमा भएका सबै घरका महिलाहरु हिंशाको सिकार नभए पनि अधिकांश महिलाहरु पुरुषहरुकै अधिनमा चल्न बाध्य थिए । यो समस्या बेलचौरको मात्रै होईन, समग्र नेपाली महिलाहरुको पनि हो । त्यसमा पनि कर्णाली प्रदेशका महिलाहरु पुरुषको अधिनमा बाँच्न बाध्य छन् ।
तर, कर्णाली प्रदेशकै राजधानी सुर्खेतभन्दा केही पश्चिममा रहेको बराहताल गाउँपालिका-८ का महिलाहरु भने गाउँनै नेतृत्वमा लिन सफल भएका छन् । बेलचौरमा महिलाकै नेतृत्व र निर्णय लागू हुन्छ ।
वि.सं. २०६३ सालमा सानो आमा समूह गठन गरी नेतृत्वको थालनी गरेका महिलाहरुले अहिले गाउँलाई नै खुशियाली नमुना गाउँ समेत घोषणा गरेका छन् ।

बेलचौरमाका जम्मा ५५ घरका सबै महिलाहरु आमा समूहमा आबद्ध भई विभिन्न सामूहिक काम गरी आर्थिक उपार्जन समेत गर्छन् । सामूहिक कृषि मात्रै होईन बेलचौरका महिलाहरुले विकास निर्माणका काम पनि गर्दै आएका छन् ।
महिलाहरुले केही गर्न सक्दैनन् र उनिहरु घरमै सीमित हुनुपर्छ भन्ने परम्परागत सोचलाई बेलचौरका महिलाहरूले चुनौतीमात्र दिएका छैनन्, व्यवहारिक रूपमै महिलाको कुशल क्षमता प्रमाणित गरिदिएका छन । बाटो खन्ने, पुल निर्माण तथा पानीको कुलो खन्ने काम समेत बेलचौरका महिलाहरु आँफै गर्छन् ।
बेलचौर आमा समूहकी अध्यक्ष निर्मला दर्लामी पहिले यसरी गाउँकै नेतृत्व लिन सकिन्छ भनेर नसोचे पनि गर्दै जाँदा यहासम्म आइपुगेको बताउँछिन् । उनका अनुसार पुरूषहरूले पनि उनीहरूलाई भरपूर साथ दिएका छन् । ‘समूह गठन गर्दा यसरी गाउँकै नेतृत्व लिन्छौं भन्ने सोच थिएन । बचत गर्ने बानी बसाल्न समूह गठन गरेका थियौं,’ निर्मला भन्छिन्, ‘तर केही संघसंस्थाको नेतृत्व तथा पुरुष दाजुभाईहरुको सहयोगमा नमुना गाउँ घोषणा गर्न सफल भएका छौं ।’
सुरुमा पुरुषहरुले के गर्न सक्छन् र ? भनेर उपेक्षा नगरेका पनि होइनन् । तर, सफल हुँदै गएपछि उनीहरूको पनि साथ पाउन थालेको उनको भनाई छ । उनका अनुसार पुल निर्माण, बाटो निर्माण तथा खानेपानीको व्यवस्थापन जस्ता विकास निर्माणमा समेत समूह सक्रीय भएको उनले बताइन् ।

गाउँलाई २० वटा सूचक तयार गरी हिंशामुक्त बनाई प्रत्येक घरमा सुख र शन्तिको दियो बाल्ने आफूहरुको लक्ष्य रहेको निर्मलाको भनाई छ । प्रत्येक घरका बालबालिकाहरु विद्यालय गएको हुनुपर्ने, छोराछोरीलाई समान व्यवहार गरेको हुनुपर्ने, प्रत्येक घरमा केही न केही व्यवसाय गरेको हुनुपर्ने, प्रत्येक घरमा गोबर ग्यास हुनुपर्ने, मदिरा उत्पादनमा रोक लगाएतका २० वटा सूचक पार गरेपछि आफूहरुले नमुना गाउँ घोषणा गरेको समूहकी सचिव डिला सारुले बताईन् ।
‘पहिला हाम्रो गाउँ पनि अरू गाउँ जस्तै थियो, आजभोली धेरै फरक भएको छ,’ सचिव सारूले भनिन्, ‘आजभोली कसैले पनि हिंसा सहनु परेको छैन । हिंशामुक्त समाज र आर्थिक सम्वृद्धि नै हाम्रो परिकल्पना हो ।’
नमुना गाउँ घोषणा गर्ने क्रममा किडाक नेपालले सहयोग गरेको सारुको भनाई छ । संस्थाले विभिन्न किसीमका तालीम तथा कृषिका लागि अनुदान समेत दिएको छ । जसले गर्दा महिलाहरु सशक्तिकरण भएको उनले बताइन् । ‘अब त हामी आफै सक्षम भएका छौं,’ उनले आत्मविश्वासका साथ भनिन्, ‘आफ्नो गाउँ आँफै बनाउन सकिन्छ भन्ने हिम्मत बढेको छ ।’ नमुना गाउँ अनुगमनको लागि थुप्रै समूहहरु आउने गरेको सचिव सारुले बताईन् ।
बराहताल गाउँपालिकाका प्रमुख तेजबहादुर बस्नेत बेलचौरका महिलाहरु केही वर्ष यता सशक्त बन्दै गएकोमा खुसी व्यक्त गर्छन् । उनी गाउँपालिकाका अन्य महिलाहरुलाई पनि सशक्त बनाउनुपर्नेमा जोड दिन्छन् । ‘चाहेपछि जे पनि हुन्छ । म पनि महिलाहरुको नेतृत्व रुचाउने मान्छे, यहाका महिलाहरुले गरेको उदाहरणीय कामले गाउँपालिकालाई नै चिनाएको छ,’ उनले भने, ‘उहाँहरुको सहयोगको लागि म पनि लागिपरेको छु ।’

त्यस्तै किडाक नेपालका प्रशासकीय अधिकृत भरत शाहीले संस्थाले गर्यो भन्नु भन्दा पनि बेलचौरका महिलाहरुको सामूहिक भावनाका कारण कार्य सफल भएको बताउँछन् । बेलचौर संस्थाको कार्यक्षेत्र भएकोले काम गर्दा गर्दै उनीहरुमा आएको परिवर्तनले संस्थालाई समेत चिनाएको उनले बताए ।
बेलचौरका ५५ वटै घरधुरीमा कृषी, व्यापार तथा पशुपालन लगाएतका उद्यम नगरेको घरै छैन । बेलचौरका महिलाअहरु हरेक सामाजिक काममा अग्रसर छन् । जसका कारण महिलाहरुले पनि चाहेमा समाजको नेतृत्व गर्न सक्छन् भन्ने बेलचौरमा देखिएको छ ।
प्रकाशित समय १६:३० बजे
















