गृहपृष्ठ प्रदेश ७ मा आज गौरा पर्व मनाइँदै
प्रदेश ७ मा आज गौरा पर्व मनाइँदै
प्रधानमन्त्री अाेलीले दिए शुभकामना
प्रदेश ७ मा आज गौरा पर्व मनाइँदै छ । प्रदेश ७ को दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुरमा गौरा पर्व मनाइन्छ । गौरा पर्व भाद्र शुक्लको षष्ठी देखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार व्रत बसेर आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।
गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
यसैबीच पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै पर्वले नेपालीहरुलाई एकतावद्ध गराउने विश्वास व्यक्त गर्नुभएको छ । गरौ पर्वले नेपालको साँस्कृतिक एकतालाई थप बलियो बनाउने उनको भनाइ छ । नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज, र संस्कारले विविधताबीच नै एकता, आपसीसम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै सामाजिक सद्भावना बढाउने काममा गौरा पर्व कोशेढुङ्गा सावित भएको उल्लेख गरेका छन् ।
प्रकाशित समय ०८:११ बजे