गृहपृष्ठ निर्मलाका बुवा भन्छन्, ‘न्याय नपाउने चिन्ता बढ्यो’

निर्मलाका बुवा भन्छन्, ‘न्याय नपाउने चिन्ता बढ्यो’

उच्चस्तरीय छानविन टोलीले सत्य बाहिर ल्याउला ?

कञ्चनपुरकी १३ बर्षीया बलीका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान व्युरोको टोली कञ्चनपुर पुगेको छ । टोलीले घटनाबारे सोमबारबाट विशेष अनुसन्धान सुरु गर्ने जनाइएको छ । सिआईबीका वरिष्ठ प्रहरी उपरीक्षकक ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको विशेष अनुसन्धान टोली महेन्द्रनगर पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उच्च अधिकारीको नेतृत्वमा सिआईबी टोली घटनाको विशेष अनुसन्धानका लागि महेन्द्रनगर आएको बताइएको छ । यसअघि घटनालगत्तै प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सिआईबी टोली महेन्द्रनगर पुगेको थियो । उक्त टोलीले घटनाबारे विस्तृत अनुसन्धान गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

यता, निर्मलाका आफन्त भने प्रधानमन्त्रीको निर्देशनमा महेन्द्रनगर आइपुगेको सिआइबीको टोलीले पनि घटनाबारे सत्यतथ्य बाहिर ल्याउनेमा शशंकित छन् । निर्मला हत्या प्रकरणमा यसअघि प्रहरीले नै वास्तविक दोषिलाई जोगाउन भूमिका खेलेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएपछि फेरिएको प्रहरी टीमले समेत वास्तविकता बाहिर ल्याउन नसकेपछि पीडित परिवारमा आशंका उत्पन्न भएको हो ।

घटनाको अनुसन्धानका लागि खटिएको नयाँ प्रहरी टोलीले सत्यतथ्य बाहिर ल्याउने आशामा बसेका पीडित परिवारले हप्ता दिनसम्म पनि कुनै तथ्य सार्वजनिक नभएपछि न्याय पाउनेमा विश्वस्त हुन नसकेको बताएका छन् । मृतक निर्मलाका बुबा यज्ञराज पन्तले न्याय पाउने आशा घट्दै गएको बताए ।

निर्मला हत्या प्रकरणमा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टको भुमिका शंकास्पद रहेको भन्दै स्थानीयले आन्दोलन चर्काएपछि प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीहरु फेरिएका थिए । प्रहरी अधिकारीको टोली आएको एक साताभन्दा बढी हुँदा पनि सो टोलीले घटनाबारे थप जानकारी पाउन सकेको छैन् । एसपी विष्ट निलम्वनमा परिसकेका छन् ।

गत भदौ ८ गतेदेखि कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरिक्षक कुवेर कडायतको टिमले अनुसन्धान गरिरहेको छ । तर, घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका पुरानै व्यक्तिहरुमाथिको अनुसन्धान जारी राखिएको र घटनासँग सम्बन्धित नयाँ तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कडायतले बताए ।

घटनामा संग्लन भएको आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टको काठमाण्डौँमा स्वास्थ्य परिक्षण भइरहेकाले मेडिकल रिर्पोट आएपछि धेरै कुरा पत्ता लाग्ने भनाइ प्रहरीको छ । अदालतबाट ७ दिनको म्याद थप गरेर निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबितामाथि पनि अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरमै रहेको पाँच सदस्यीय उच्च स्तरीय छानविन टोलीले पनि प्रहरीको अनुसन्धानलाई सहजीकरण गरिरहेको छानविन टोलीका संयोजक हरिप्रसाद मैनालीले बताए । बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यसअघि महेन्द्रनगरमा चर्किएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको थियो । आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले महेन्द्रनगरमा जारी गरेको कर्फयु पूर्ण रुपमा हटेपछि जनजीवन समान्य बन्दै गए पनि प्रहरीले भने कुनै तथ्य बाहिर ल्याउन सकेको छैन ।

प्रकाशित समय १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु