गृहपृष्ठ बालक्लब नै बालविवाहको माध्यम !

बालक्लब नै बालविवाहको माध्यम !

chila marrige_balbibah

मुगुको मुगुम कार्मारोङ गाँउपालिका-८ मांग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लबमा आबद्ध छन् । उनीहरू दुवै सरकारी तथा गैरसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालिम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन् । बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक देखाउन गाउँगाउँमा सँगै पुगेर उनीहरू बालविवाह नगर्न गाउँका धेरैलाई सचेतना दिँदै हिँडिरहेका हुन्छन् । अरुलाई सचेतना गर्न हिँडेका यी दुवैले गएको चैतमा १४ र १५ वर्षकै उमेरमा बालविवाह गरे ।

कानुनविपरीत उमेर नपुग्दै विवाह गर्नुहुन्न, थाहा पाएर पनि बालविवाहविरुद्ध सडक नाटक देखाउन गाउँतिर सँगै हिँडेका बेला माया बसेपछि मोबाइलमा कुराकानी हुँदै थाहै नपाई विवाह गर्ने सहमति भई आफूहरू घरबाट भागेको सीताले बताइन् । ‘सडक नाटकको अभियानमा सँगै नहिँडेको भए सायद विवाह हुँदैनथ्यो कि ?’ छिरिङले भने । विवाह गरेसँगै सीताले आफ्नो पढाइ छाडेर एक-दुई महिनामा आमा बन्दै छिन् भने छिरिङ आफूले पढाइलाई निरन्तरता दिने बताएका छन् ।

अरूलाई बालविवाह गराउनु हुन्न भन्दै हिँडेका तिनै बालबालिकाको दुई-तीन दिनमै बिहे गर्न भनी भागेको सुनिएको यो मात्रै पहिलो घटना होइन । पहिलेपहिले सानै उमेरमा बाबुआमाले बिहे गरिदिएको देखिन्थ्यो, अहिले बाबुआमाले प्रायः विवाह गरिदिन छाडेका छन् । उनीहरू आफैं जोडी बन्छन् । अहिले तालिम, गोष्ठी र सेमिनार नै बालबालिकाको जमघटको थलो र मायाप्रीतिको चौतारी बन्ने गरेको छ ।

मोबाइल र सामाजिक सञ्जाल फेसबुकले पनि बालविवाह बढेको मुगुम कार्मारोङ गाउँपालिका-८ मांग्रीगाउँका स्थानीयवासी पेमातोर्चे लामा बताउँछन् । बालविवाह गर्ने जोडी प्रायः बालक्लबमा रहेका पदाधिकारी नै छन् । विद्यालय र समुदायमा आधारित दुई समूहमा गैरसरकारी संघसंस्थाले बालक्लब गठन गरी उनीहरुलाई बालअधिकार, बालविवाह न्यूनीकरण र विभिन्नखाले क्षमता अभिवृद्धिका तालिम, गोष्ठी, सेमिनार, छलफल, बैठक सञ्चालन गर्ने गरेको देखिन्छ ।

गैरसरकारी संस्थाले गरेका यस्ताखाले क्रियाकलाप उनीहरूको निश्चित समय अवधिका लागि औपचारिकता मात्र निभाएको पाइन्छ । ती संस्थाहरु निश्चित समयमा कार्यक्रम गर्छन्, हिँड्छन् । यस्ताखाले कार्यक्रमको नियमित अनुगमन र थप कार्यक्रममा जोड नदिँदा केही समयका लागि सञ्चालन गरेका तालिम, गोष्ठी, बैठक र विभिन्न खाले अभियानले बालविवाह न्यूनीकरणमा खासै प्रभाव नपरेको महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानध्यापक देवबहादुर मल्लको भनाइ छ ।

जिल्लाभर बालविवाह गर्ने जोडीको संख्या के-कति छ भन्ने तथ्यांक सरकारी निकाय र बालबालिकासम्बन्धी काम गर्ने कुनै पनि गैरसरकारी संस्थासँग छैन । जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी बालविवाह हुने सदरमुकाममा रहेको छायाँनाथ रारा नगरपालिका मानिन्छ । त्यसपछि क्रमशः मुगुम कार्मारोङ, सोरू र खत्याड गाउँपालिकामा पनि बालविवाह हुने गरेको छ ।

जिल्लामा बालअधिकार र बालविवाह न्यूनीकरणका लागि जिल्लामा आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था कार्यरत छन् । उनीहरूले आफ्नो कार्यक्रम निश्चित समयका लागि गर्छन्, त्यसपछिको अनुगन र निरन्तरता दिने काम स्थानीय सरकार तथा अन्य निकायले  गर्नुपर्ने हो ।  गैरसरकारी संस्था महासंघ मुगु शाखाका अध्यक्ष सुरेन्द्र मल्लले गैरसरकारी संस्थाले गरेका क्रियाकलापलाई स्थानीय तह र अन्य निकायले निरन्तरता नदिँदा बालविवाह घट्न नसकेको बताए । (नृपेन्द्रबहादुर मल्ल/रासस)

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु