गृहपृष्ठ मृत्युपूर्व यमराजले दिने चार सन्देश
मृत्युपूर्व यमराजले दिने चार सन्देश
सृष्टिको नियममा मानिस मात्र नभएर भगवानसमेत बाँधिएका हुन्छन् । भगवानले पनि त्यो निमयको परिधि नाघ्न सक्दैनन् । यसैका कारण जब भगवानले मनुष्य रूपमा जन्म लिए तब उनलाई पनि समय आएपछि शरीर त्याग्नु पर्यो भने मानिसलाई पनि यी कुरा सामान्य हुने नै भए । मान्छेको अनुरोधमा यमराजले मृत्युअघि चार सन्देश दिने वचन दिएका थिए । उक्त नियमको पालना यमराजले गर्दै आएका छन् । मृत्यु नजिकिएसँगै मृत्युको आभास दिने गरेका छन् । त्यति बेला मानिसले शरीर त्याग्ने समय आएको बुझ्नुपर्छ ।
सामान्यतया मानिसको उमेर बढ्दै जाँदा कपाल फुल्न थाल्छ । आम रूपमा कपाल फुल्नुलाई बुढ्यौलीको संकेत मानिन्छ । यमराजले मृत्युपूर्व पठाउने पहिलो संकेत कपाल फुल्नु हो । कपाल फुल्न थालेपछि ‘सांसारिक मोहबाट मुक्त हुने मार्ग पहिचान गर्दै अघि बढ’ भन्ने सन्देशका रूपमा बुझ्नु उत्तम हुन्छ ।
उमेर बढ्दै जाँदा मानिसका दाँत पनि कमजोर हुन थाल्छन् । कमजोर हुँदै दाँत फुक्लन पनि थाल्छन् । दाँत फुक्लनुको आशय ‘शरीरको मोह धेरै नगर’ भन्ने सन्देशका रूपमा बुझ्नुपर्छ । यो यमराजको दोस्रो सन्देश हो ।
उमेरको वृद्धिसँगै मानिसका ज्ञानेन्द्रिय कमजोर हुँदै जान्छन् । दृश्य र श्रवणशक्ति कमजोर हुँदै जान्छन् । यति बेला यमराजले ‘चर्म चक्षुले नदेखे पनि मनका आँखाले हेर्न थाल, दुनियाँका कुरा सुन्न छोडेर आत्मचिन्तनमा प्रेरित होउ’ भन्दै सम्झाएको रूपमा बुझ्नुपर्छ । आत्मचिन्तन मुक्तिमार्गको सहायक हुन्छ ।
उमेर बढ्दै जाँदा कम्मर नुग्न थाल्छ । शरीरले आफ्नै भार थाम्न सक्दैन । शरीर उठाउन पनि सहारा आवश्यक हुन्छ । यो यमराजको चौथो सन्देश हो । यतिबेला यमराजले ‘सांसारिक सहयोगको सट्टा ईश्वरकै सहारा लिनु उत्तम हुन्छ’ भनेर सम्झाएको रूपमा बुझ्नुपर्छ । ईश्वरले कर्मको फलभन्दा उत्तम लोकमा स्थान दिन सक्छन् । त्यसैले जीवनको उत्तरार्धमा ईश्वरको भरोसा बढी फलदायी हुन जान्छ । यमराजका यी चार सन्देश बुझ्न सक्ने मानिसले मृत्युपछि उत्तमलोक पाउने विश्वास गरिन्छ ।
प्रकाशित समय १२:०९ बजे
















