गृहपृष्ठ पोखरामा पनि आतिसवाजीसहित सागको शुभारम्भ
पोखरामा पनि आतिसवाजीसहित सागको शुभारम्भ
पर्यटकीय नगरी पोखरामा पनि १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को सोमबार आतिसवाजीसहित शुभारम्भ भएको छ । आइतबार काठमाडौंमा भव्य समारोहबीच उद्घाटन भएको भोलिपल्ट आठ वटा खेल हुने पोेखरामा पनि काठमाडौंकै जस्तै गरी आतिसवाजीसहित शुभारम्भ गरिएको हो ।
उद्घाटनको अवसरमा मार्च पासमा सोनी गुरुङले नेपालको झण्डा बोकेकी थिइन् । उनले ट्रायथलनमा पोखराबाट पहिलो स्वर्ण पदक दिलाएकी हुन् । सात देशका खेलाडी एवं अफिसियललाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला सिंगारिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले खेलको शुभारम्भ गर्दै पोखरामा हुने सागलाई भव्य रुपमा सफल पार्न आग्रह गरे । उनले भने, ‘पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, यसमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं, पोखरामा हुने खेल भव्य रुपमा सम्पन्न गर्न सवै क्षेत्रको सहयोगको अपेक्षा छ ।’ पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै गौरवको बिषय भएको उनले बताए ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता आफ्नो कार्यकालमा सम्भव भएको बताए ।
उद्घाटनको अवसरमा विभिन्न जनजातिका भेषभूषा भल्कने पहिरनसहित सात राष्ट्रका खेलाडीले आफ्नो झाण्डासहित मार्चपास गरेका थिए ।
प्रकाशित समय ०७:५० बजे
















