गृहपृष्ठ मलाई पदमुक्त गर्नुहुने मुख्यमन्त्रीलाई मैले धन्यवाद दिएँ : पठान सिंह बोहरा

मलाई पदमुक्त गर्नुहुने मुख्यमन्त्रीलाई मैले धन्यवाद दिएँ : पठान सिंह बोहरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गरेपछि देशव्यापी विरोध भइरहेको छ । केन्द्रपछि पार्टी विवादको असर सुदूरपश्चिममा पनि परेको छ । सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहका एक मन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरिसकेका छन् । अब प्रदेशको राजनीति र ओली समूहले चाल्ने कदमका विषयमा केन्द्रित रहेर सुदूरपश्चिमका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहरासँग न्युज कारोबारका सुदूरपश्चिम संयोजक दिनेश बिष्टले गरेको कुराकानी :


माननीय ज्यु, कसरी मन्त्रीबाट पदमुक्त हुनुभयो ?

मलाई अहिलेसम्म पनि मन्त्रीबाट हटाएको कुनै आधिकारिक पत्र आएको छैन । म काम विशेषले काठमाडौं गएका बेला एकाएक मिडियामा बर्खास्त गरिएको भन्ने खबर सुनेको हुँ । पछि मुख्यमन्त्रीको स्वकीयलाई मेरो स्वकीयले फोन गरेर सोधेपछि म पनि स्पष्ट भएँ । मलाई पदमुक्त गरिनुको कुनै कारण पनि मैले पाइनँ ।

मन्त्रालयकै कामको सिलसिलामा काठमाडौं गएको थिएँ । पार्टीले केन्द्रीय कमिटीको सदस्य बनाएका कारण सपथ पनि लिएँ । सपथ लिएलगत्तै समाचारमा पदमुक्त भएको खबर पाएँ । किन पदमुक्त गर्नुभयो मलाई अहिलेसम्म मैले कुनै जवाफ आएको छैन । बरु, मलाई पदमुक्त गर्नुहुने मुख्यमन्त्रीलाई मैले धन्यवाद दिएँ । ३ वर्ष सँगै काम गरिरहँदा राम्रै काम भएको प्रतिक्रिया पाइरहन्थेँ । यो कारणले पदमुक्त हुनुभयो भनेर तपाईले नभने पनि मेरो तर्फवाट धन्यवाद छ भनेर मैले भनेँ ।

त्यसो भए, अर्को समूहको केन्द्रीय सदस्य भएकै कारण पदबाट हटाइएको हो त ?

मलाई त्यही लाग्छ । किन भने मैले केन्द्रीय सदस्यको सपथ लिएँ । यसलाई म फरक धारको गुटको सपथ लिएँ भन्दिनँ । नेकपाको अध्यक्ष केपी शर्मा ओलीबाट मैले सपथ लिएको हुँ । नेकपाको माउ पार्टीको अध्यक्षबाट सपथ लिएको छु । म नेकपाको केन्द्रीय सदस्य भएको हुँ । कुनै गुटको होइन । फरक भनेको त अलग गएर बस्ने र सडकमा जानेलाई पो भन्नुपर्छ । पार्टीलाई र सरकारलाई कमजोर बनाउने, सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्नेहरु पो अलग्गै पार्टी भए । बाहिरबाट भन्दा फरक धार भनिएला तर अहिलेको मुल नेतृत्व केपी शर्मा ओली हो, म त्यो पार्टीमा छु ।

अब प्रचण्ड-माधव पक्षले तपाईलाई बर्खास्त गरिसकेको छ । तपाईको टिम कस्तो गृहकार्य गर्छ ?

अब प्रारम्भिक चरण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा पनि अस्थिरता ल्याउने वादविवाद ल्याउने कुरा मुख्यमन्त्रीबाट सुरु भएको छ । पर्दा पछाडि को-को हुनुहुन्छ हामी बुझ्दै जाउँला । यसले झगडा बढाउने काम गर्छ । अब हाम्रो पार्टीले कसरी अगाडि बढ्ने भन्ने योजना बनाउँछ । हामी सोहीअनुसार अगाडि बढ्छौँ ।

कांग्रेस र जसपा तथा अर्को समूहकै प्रदेशसभा सदस्यहरुलाई तानेर तपाईको टिमले सरकार चलाउने भन्ने चर्चा पनि चलिरहेको छ नि ?

स्वभाविक हो, दुईतिहाई बहुमतको नेकपाको सरकारलाई त्यहीँ भित्रबाट कमजोर बनाउने विभाजन गर्ने खेल अगाडि बढिसकेपछि अर्को पक्षसँग छलफल गर्ने कुरा अगाडि त बढ्ला ।

कांग्रेससँगको सहकार्यमा सरकार बनाउने र तपाईको टिमले कांग्रेसलाई मुख्यमन्त्रीको प्रस्तावसमेत गरेको भन्ने कुरा बाहिर आएको छ । तपाईहरुले नै सरकार बनाउने सम्भावना छ त ?

अहिले त्यस्तो योजना बनिसकेको छैन । त्यो विषयमा घनिभूत छलफल हुन बाँकी छ । अहिले प्रारम्भिक चरणमै छौँ । कसरी अगाडि बढ्ने भन्ने पार्टीले निर्णय गर्ला । त्यसपछि के गर्ने भनेर तय हुन्छ ।

तपाईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा बसेर अहिले करिब ३ वर्षमा पदमुक्त हुनुभयो । यो अवधिमा के के उपलब्धि भए ?

यो अवधिमा मन्त्रालयको नेतृत्व गरिरहँदा हामीले धेरै ठुला आयोजना सुरु गरेका थियौँ । ९ वटै जिल्लामा ४ वटा जिल्ला जोड्ने गरी सडकका योजना अगाडि बढायौँ । धेरै सडक कालोपत्रे हुँदैछन् । धेरै टेण्डरको चरणमा छन् । प्रदेशसँगै संघीय सरकारले हस्तान्तरण गरेका कामको पनि गति तीव्र छ । बजेटको अभाव भएका योजनाका लागि बजेट माग पनि गरेका छौँ । प्रदेशको महत्वपूर्ण योजनामा जलविद्युत योजनालाई अगाडि सारेका थियौँ । त्यसको पूर्वाधार, विस्तृत परियोजना प्रतिवेदन तयार हुँदै थियो । खानेपानी, सिँचाई, तटबन्ध, जनता आवास कार्यक्रमलगायत थुप्रै आयोजना अगाडि बढिरहेका थिए । यस्तै केही योजनाकै कामका लागि काठमाडौँ गएको थिएँ । त्यतिबेलै पार्टीको केन्द्रीय सदस्य बन्ने अवसर पनि मिल्यो तर फर्किन नपाउँदै बर्खास्तको खबर सुनेँ ।

केही आगामी योजनाहरु पनि थिए होलान् । तपाई एक्कासि पदमुक्त हुँदा प्रभाव कस्तो पर्छ ?

असहज र अस्थिरता त सिर्जना भयो नै । एउटै पार्टीभित्र हामी रहेका थियौँ । एउटै पार्टीभित्र रहेकाहरुलाई विभक्त गर्ने, विभाजन गर्नेतिर केन्द्रित हुँदा असर त पक्कै पर्छ । पार्टीको संस्थापन पक्षबाट भन्दा पनि अरुतिरबाट सुरु भयो । यसले गर्दा असर पक्कै परेको छ । यो राजनीतिक पूर्वाग्रह राखेर यस्ता कुरा अगाडि बढिसकेपछि हाम्रो पार्टीले केही निर्णय त लिन्छ नै । सरकारलाई पनि असर त पर्ला । महत्वपूर्ण मन्त्रालय अनि हजारौँ योजना छन् । कहाँ के समस्या छ भन्ने त्यो मलाई राम्रोसँग थाहा छ । मलाई समस्या समाधान गर्न सजिलो हुन्छ । तर नयाँ मान्छेलाई काम गर्न केही समस्या त पर्छ नै । तर मैले धेरै राम्रो गरेँ भन्ने कुरा होइन । मभन्दा राम्रो गर्ने मान्छे पनि अब आउला । तर बुझ्न समय लाग्छ भन्ने हो । काम गर्ने समयमा मन्त्रालयमा मन्त्री नै नहुँदा काम प्रभावित पक्कै हुन्छ ।

मन्त्रालय सम्हालेको करिब ३ वर्षे अवधिमा अनुभव अनि सहयोग र चुनौती कस्तो भोग्नुपर्‍यो ?

मैले मन्त्रालयको जिम्मा सम्हालेपछि चुनौती त धेरै थिए । संघीयता कार्यान्वयनको प्रक्रियामा थियो । धेरै कुरा सिक्न नै बाँकी थियो । ६ महिनासम्म केही देखिएन । अन्यौल नै भयो । तर अर्को वर्षबाट काम गर्न सुरु भएपछि जनताले देख्नेगरी पूर्वाधार विकास हुन थाले र काम देखिन थाल्यो ।
तर बिस्तारै काम गर्दै जाँदा कर्मचारीबाट निकै सहयोग पाएँ । गत वर्षको वार्षिक प्रगतिमा हाम्रो मन्त्रालयले ८९ प्रतिशत प्रगति प्राप्त गरेको थियो । मन्त्रालयबाट बिदा हुँदा मैले त्योभन्दा बढी काम गर्नुहोला भनेर भनेको छु । मैले काम गरिरहँदा सहयोग निकै पाएँ ।

अहिले कयौँ पुल, सडक, झोलुङगे पुल लगायतका काम अगाडि बढे । जनताले अहिले देखिरहेका छन् । प्रदेश सरकारले योजना बनाउँदा केही नराम्रा पक्ष पनि छन् । सांसदहरुलाई करोडका दरले योजना बाँड्नु मलाई राम्रो लाग्दैन । मैले स्वीकार नगरे पनि सबैको आग्रहमा त्यो दिनै पर्‍यो । माननीयहरुले दिएका योजनामा रकम हाल्ने गरिएकै छ । तर त्यसरी बाँडिने योजनाले उपलब्धि भएन । प्रदेश सरकारले ठूला योजना बनाउनुपर्छ र साना योजना स्थानीय सरकारले अगाडि बढाउनुपर्छ भन्ने मेरो अडान रहन्थ्यो । त्योअनुसार काम गर्न नसके पनि मेरो मन्त्रालय बसाई निकै सुखद रह्यो ।

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु