गृहपृष्ठ प्रधानमन्त्री ओलीमा दरिद्रता झल्कियो : गगन थापा
प्रधानमन्त्री ओलीमा दरिद्रता झल्कियो : गगन थापा
सरकारमा रिलक्ट्यान्ट डेमोक्र्याट चरित्र
नेपाली कांग्रेससामू यतिबेला दुई खालका चुनौती छन् । पहिलो, शक्तिशाली सरकारलाई कतिपय निर्णय गर्नुअघि विपक्षी पनि छ है भन्ने महशुस गराउनुपर्ने । दोस्रो, पार्टीभित्र नेतृत्वलाई लिएर बढेको विवादको व्यवस्थापन गर्दै पार्टी संरचनालाई चुस्त बनाउनुपर्ने । अन्तरपार्टी कलहका कारण यी दुइवटै चुनौतीसँग कांग्रेसले लड्न सकिरहेको छैन । यसै सन्दर्भमा आन्तरिक विवाद हल गर्दै सरकारको बलियो विपक्षीका रुपमा आफूलाई उभ्याउन कांग्रेसले अब के गर्छ भन्नेबारे सो पार्टीका केन्द्रीय सदस्य गगन थापासँग नवराज कुँवर र श्यामसुन्दर पुडासैनीले कुराकानी गरेका छन् ।
तपाईं चुनावलगत्तै कांग्रेसको विशेष महाधिवेशन भन्नुहुन्थ्यो, अब त शिघ्र महाधिवेशनसमेत नहुने संकेत देखिँदैछ त ?
खासगरी कांग्रेसका वर्तमान सभापतिसहितको एउटा पुस्ता परिवर्तन हुनुपर्छ भन्नेमा हिजो म जहाँ थिएँ, आज पनि त्यहीँ छु । १३ औं महाधिवेशनमा हामीले पुरानो पुस्तालाई विदा गर्न खोजेकै हौँ । तर, संख्या नपुगेकाले हाम्रो अभियानले सार्थकता पाउन सकेन । तर, महाधिवेशनपछि धेरै साथीहरु हामीले भनेकै ठाउँमा आउनुभएको छ । मलाई विश्वास छ यो पटकको महाधिवेशनमा हाम्रो अभियानले सार्थकता पाउनेछ ।
निर्वाचनपछि तपाईंले नेतृत्व परिवर्तनको विषयलाई जोडतोडका साथ उठाउनुभयो, प्रगति खोइ त ?
निर्वाचनलगत्तै दुईवटा कुरा भए । एउटा हामीले जेजस्ता प्रयास गरे पनि पार्टी सभापतिलाई हटाउने विधि भनेको महाधिवेशन नै हो । शिघ्र महाधिवेशनका लागि पनि पार्टी सभापति तयार नभएसम्म त्यो सम्भव छैन । त्यसैले शिघ्र महाधिवेशन भने पनि हाम्रो तागत म्याद थप्न नदिनेमा लगाउन सक्यौं भने कम्तिमा अबको एक–डेढ वर्षभित्र पार्टीलाई नयाँ नेतृत्व दिन सकिन्छ ।
दोस्रो कुरा, यति छोटो समयमा सरकारले यो खालका रवैया देखाउला र पार्टीले संघर्षकै कार्यक्रम घोषणा गर्नुपर्ला भन्ने सामान्य अनुमान पनि थिएन । पार्टीको सृदृढिकरणको बहस अलि ओझेलमा पर्ने स्थिति बन्यो । तर, महासमिति बैठकपछि फेरि यसले ट्रयाक समाउँछ ।
तपाईं हिजो महामन्त्री लड्दै गर्दा पनि तपाईंले सभापतिमा अघि सारेको व्यक्ति परानै पुस्ताका थिए, अब चाहिँ तपाईं एउटा पुस्ता सिध्याउन लाग्यो भन्ने अरोपबाट मुक्त हुन र आफू पनि नेतृत्व तहमा स्थापित हुन के गर्नुहुन्छ ?
अघिल्लो पटक एउटा प्रवृत्तिको विरुद्धमा म उभिएको थिएँ । पार्टी भनेको एउटा आधुनिक संगठन हो । संगठनमा ‘इन्ट्री र एक्जिट’ एउटा मापदण्ड र विधि भएन भने संगठन जीवन्त भएर चल्दैन । हामीकहाँ इन्ट्री छ, त्यसमा पनि केही समस्या छन् । हामी आफैँ सदस्य बनाउँछौं र उसैले निर्वाचित गरिदिने अवैज्ञानिक व्यवस्था छ ।
कुनै नेताले बाहिरनु पनि पर्छ है भन्ने चिन्तन र अभ्यास त छँदै छैन । न पार्टीको चुनाव हारेर बाहिरनुपर्छ, न राष्ट्रिय चुनाव हारेर बाहिरनुपर्छ । यस्तो तरिकाले आधुनिक संगठन चल्न सक्दैन । एक्जिट लिनका लागि हाम्रो बुझाइमा गणेशमान, किशुनजी, गिरिजाबाबुपछि शेरबहादुर र रामचन्द्रजीको जुन पुस्ता छ, त्यसभन्दा मुनि पनि अर्को पुस्ता छ । अर्को पुस्ताले पार्टी सभापतिको दाबी गर्नुपर्छ र हामीले त्यसलाई सहयोग गर्नुपर्छ । त्यसैले म हिजो पुस गर्नकै लागि होमिएको हुँ । त्यसबेला मेरो त्यही ड्युटी थियो ।
अब चै के गर्नुहुन्छ ?
यो पटकचाहिँ पछि के होला थाहा छैन । म आफू कहाँ हुन्छु त्यो गौंण कुरा हो । म केन्द्रीय सदस्य मात्र लड्न पनि सक्छु, कुनै प्रदेशमा गएर लड्न पनि सक्छु । जे पनि हुन सक्छ । तर म पुस्तान्तरणका लागि लाग्ने छु । यसपालिको यो अवस्था भनेको सोचेको जस्तो सहज अवस्था होइन ।
अहिले संसारभरी एक खालको राजनीतिक प्रवृत्ति देखा परेको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित भएको, संसदीय व्यवस्थामै रहेको तर गतिविधि अलोकतान्त्रिक गर्ने प्रवृत्ति । त्यसको पुनरावृति नेपालमा हुने ठोस संकेतहरु देखिएको अवस्था छ । यो सबै अवस्थाको बीचमा कांग्रेसको पुनर्जागरण लरतरो पाराले हुँदैन । टेक्निकल अभ्यासले त हुँदै हुँदैन । नेपाली कांग्रेसले आम मानिसलाई उत्साहित बनाउन सक्नुपर्छ । आम मानिसलाई उत्साहित बनाउका लागि नेता र विचार चाहिन्छ । म गर्न सक्छु वा यसकारण यो व्यक्ति नेतृत्वका लागि सक्षम छ भनेर कोही आउनुहुन्छ भने म कार्यकर्तामात्र बनेर बस्न तयार छु । अघिल्लोपटक हामीले मार्क छोड्न आवश्यक थियो, एउटा धक्का दिन आवश्यक थियो । यो पटकको आवश्यकता भनेको चाहिँ पार्टी पंक्तिलाई उत्साहित गर्ने नेतृत्वको हो । त्यसको खोजीमा छौं, त्यो खोजीले जहाँ पनि पुर्याउन सक्छ ।
तपाईंहरुकै धक्काले शेरबहादुर देउवा सभापति बन्नुभयो, आज उहाँकै विकल्प खोज्नुपरेको छ, तपाईंलाई आफ्नो कदमप्रति पश्चाताप छ ?
त्यसमा पश्चाताप मान्नुपर्ने कुनै कारण छैन । त्यसबेला दुईजना नेताबीचमा प्रतिस्पर्धा भयो । प्रतिस्पर्धा गर्दैगर्दा एकजना निर्वाचित हुने कुरा अवस्यम्भावी थियो । कसैलाई जिताउन कसैलाई हराउनका लागि हैन । त्यसबेला कृष्णप्रसाद सिटौलाजीको एउटा आफ्नो तर्क थियो, शेरबहादुर र रामचन्द्रजीले छोड्नुृपर्छ भन्ने । मेरो तर्क थियो, हाम्रो पुस्ता आउनुपर्छ भन्ने । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, रामशरण महत, शशांक कोइरालामध्ये कसैले पार्टीको नेतृत्व लिने आँट गर्नुपर्छ । त्यो भन्दा मुनी हाम्रो पुस्ताले आँट गर्नुपर्छ भन्ने मेरो विचार थियो । पुस्ता–पुस्ता भन्दैगर्दा एउटा नेताहरुको समूहको प्रतिनिधिको कुरा हुन्छ । मेरो चाहिँ बुझाइ अलि फरक छ । कांग्रेसमा भित्रने र बाहिरिने कुरासँग मेरो मत जोडिएको छ । यो जमेको पोखरीजस्तो भयो । पार्टी भनेको बगेको नदिजस्तै हुनुपर्छ । आउँछ, जान्छ, आउँछ, जान्छ त्यस्तो हुनुपर्छ । त्यही कारण हाम्रा गुटहरु पनि सिर्जनात्मक छैनन् । गुटहरु हाम्रोमा मात्र हैन विश्वभर बन्छन् नि ! हामी पनि गुटमा जोडिएका छौं, गुट बन्छ, भत्कन्छ, नयाँ बन्छ, यो प्रक्रिया पनि चलिरहन्छ । तर, गुट सिर्जनात्मक हुनुपर्छ । हाम्रो गुट सिर्जनात्मक बन्न सकिरहेका छैनन् । त्यसैले पार्टी जमेको पोखरी जस्तो भएको छ । अनि गुट चाहिँ पोखरीमै जमेको एउटा खण्डजस्ता भएका छन् । प्रदीप गिरीले गुटभन्दा पनि गिरोहजस्तो भन्नुहुन्छ नि ! हो, त्यस्तै भएको छ । व्यक्तिगत लोयल्टीसमेत गुटसँग छ ।
कांग्रेसले वैचारिक बहसको सुरुवात चाहिँ कहाँबाट थाल्ने ? विपीको समाजवाद भन्ने कि, आर्थिक नीतिमा हिजो गल्ति गर्यौँ भन्ने वा कि नयाँ बहस सुरुवात गर्ने ?
नेपाली कांग्रेसले समात्ने चुरो भनेको संविधान हो । नेपाली कांग्रेसले गर्व गर्ने कुरा के हो भने संविधान कांग्रेसको नेतृत्वमा आएको हो । यो संविधानले नयाँ बाटो देखाएको छ । यो संविधानले नेपालको राजनीतिक चरित्र कस्तो हुन्छ भन्ने कुरा पनि परिभाषित गरेको छ । यो संविधानले नेपालको समाजिक व्यवस्था हुने र कस्तो हुनु बाञ्छनीय छ भनेर पनि परिभाषित गरेको छ ।
भारतका प्रसिद्ध इतिहासकार रामचन्द्र गुवारले एउटा शब्द प्रयोग गर्नुहुन्छ ‘कन्स्टिच्युसनल प्याट्रियोटिजम’ अर्थात सवैधानिक देशभक्ति । भारतमा को देशभक्त हो को होइन भनेर संविधानले नै परिभाषित गरेको छ । हाम्रोमा पनि देशभक्तिका विषय संविधानले नै परिभाषित गरेको छ । त्यसैले यो संविधान चुरो कुरा हो । संविधानको कार्यान्वयनको कुरा सरकार र राजनीतिक दलसँग मात्र नभएर नागरिकसँग पनि जोडिएको छ । यहाँ दलित आन्दोलन भएका छन्, महिला आन्दोलन भएका छन्, जनजाती आन्दोलन भएका छन्, मधेसी र अन्य अधिकारका आन्दोलन भएका छन् । यति धेरै सामाजिक विषय छन् । यो संविधानको आलोकबाट हेर्दा ती आन्दोलन सकारात्मक ढंगले हेर्न सकिन्छ । कांग्रेसले सरकारलाई संविधानको ट्रयाकमा पनि मैले राख्ने हो, समाजलाई यो संविधानसँग जोड्न त्यसको नैतिक नेतृत्व गर्ने पनि मैले नै हो, यो संविधानको कर्ता म हो भन्ने हो भने यही संविधानले बाटो देखाउँछ । यो समयमा बाटो खोज्नका लागि विपी कोइरालातर्फ फर्किएर थप भारी नबोकौँ । किनकि, हामी आफैँले बनाएको संविधान हामीसँग । हामी संविधानको भारी बोकौं ।
त्यो भारी सरकारले बोकी दिँदैन ?
सरकार संविधानका आधारभूत सिद्धान्तबाट प्रत्येक दिन ‘डिरेल’ भइरहेको छ । एकपछि अर्को घटना भइरहेका छन् । यो आइसोलेसनमा एउटा घटना भयो, त्यसको विरोध गरेका छौं, त्यसलाई छोड दिएका छौं, फेरि अर्को घटनाको विरोध गरेका छौं, त्यसलाई पनि छोड दिएका छौं । यो तात्कालिन लाभका हिसाबले त उपयुक्त नै होला तर, ती सबैलाई एकठाउँमा राखेर अलि विस्तृतमा हेर्दा के देख्छौं भने सरकार यो संविधानप्रति प्रतिबद्ध छैन । यो भनेको एकदमै ठूलो दुभाग्यपूर्ण कुरा हो । अब यो परिस्थितिलाई कसैले सही ठाउँमा ल्याउन सक्छ भने त्यो नेपाली कांग्रेस नै हो भन्ने खालको विश्वास पार्टीले आर्जन गर्न सक्नुपर्छ ।
त्यसरी विश्वास आर्जन गर्न वर्तमान नेतृत्व सक्षम छैन ?
यसमा नेतृत्वसँग प्रश्न जोडिएर आउँछ – विगतलाई हेरेरर जनताले अहिलेको कांग्रेस नेतृत्वलाई पत्याउँछन् त ? हामी अहिले इन्स्टिच्युसनहरुको पवित्रताको कुरा गर्दैछौं, संविधानले परिकल्पना गरेको संस्थाहरुको राजनीतिक रंग नदेखिने परिकल्पना पूरा गर्छौँ, संविधान अनुसार इस्न्टिच्युसनहरुको पवित्रताको नेतृत्व गर्छौ भन्दै गर्दा मानिसले अलिअघि अदालतसँगको वर्तमान नेतृत्वले राखेको सम्बन्धको विषय सम्झन थाल्छन् । त्यसकारण विचारका हिसाबले अगाडि भए पनि हाम्रो विरासतलाई अघि बढाउन र अझ माथि उठाउन वर्तमान नेतृत्वले सहयोग पुर्याइरहेको छैन । त्यसैले संविधानले भनेको ठाउँमा देशलाई उभ्याउँछौं र त्यसको नेतृत्व हामी गर्छौ भन्दैगर्दा सबैभन्दा ‘राइट कम्बिनेशन’ पार्टीका लागि प्राप्त हुन्छ ।
संघीय संचनाअनुरुप कांग्रेसले पार्टी संरचना चाहिँ कहिले बनाउने त ?
तपार्इंले पार्टीको कुरा सोध्नुभयो । मेरो जोडचाहिँ पार्टीका अरु संरचना बनाउनतिर लाग्नुपर्छ भन्नेमा छ । सभापति फेर्न महाधिवेशन त कुर्नैपर्छ । त्यसअघि हामी पार्टीका संरचना बनाउनतिर केन्द्रित हुनुपर्छ । त्यसका लागि डेढ वर्ष कुर्नुहुँदैन । केहीदिनअघि महामन्त्रीको पत्र गइसकेपछि त देशभरमा १३ औं महाधिवेशनका सबै समिति जस्ताको त्यस्तै क्रियाशिल गर्नु भनिएको छ । त्यो पत्रपछि त हामी गाविसतिर फर्कियौं । कम्तिमा पालिकाको संचनाका लागि गाविसहरु मिलेर तोकिएको केन्द्रलाई मानेका थियौं, त्यो पनि अब रहेन । कांग्रेसका लागि त अहिले ७५ जिल्ला, १४ अञ्चल, गाविस तथा नगरपालिका गरेर झण्डै चार हजार स्थानीय निकाय छन्, २४० निर्वाचन क्षेत्र छन् । हामी यत्रो ठूलो प्रतिस्पर्धा गर्ने कुरा गरिरहेका छौं । यो संरचनामा पनि बनाउन सकेनौं भने के अर्थ ? त्यसैले असोज कात्तिकभित्रै महासमिति बैठक गरौं । यो संरचना फेराँै, त्यसपछि अर्को फागुनमा महाधिवेशन गरौं, शब्दमा आपत्ति छ भने ‘अर्ली महाधिवेशन’पनि नभनौँ । तर महाधिवेशन समयमा गरेर पार्टीलाई नयाँ जोस भर्ने काम गरौं । पार्टीमा यसो भन्ने साथीहरुको बहुमतमा भएपछि सभापतिले पनि त्यो निर्णयलाई लोकतान्त्रिक भएर स्वीकार गर्नुपर्छ ।
देशमा ७७ जिल्ला, ७५३ स्थानीय तह, सात प्रदेश र एक संघ गरी ८३८ संरचना छन् । ०७२ सालमा महाधिवेशन हुँदा प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित गरेर सबैभन्दा पहिलो अभ्यास गर्यौँ भन्ने तर अहिलेसम्म चार हजार बढी संचना राखेर बस्ने, यो त लाजमर्दो भएन र ?
धेरै विषय छन्, त्यतातिर जानुभन्दा पहिले फण्डामेन्टल कुरामा ध्यान दिनुपर्ने हो । हामी निर्वाचन लडेर आफ्नो श्रेष्ठता निर्वाचनबाटै स्थापित गर्न चाहन्छौं । अहिले त सरकार बाहिर छौं । पार्टीको संरचना नैं भएन भने चुनाव लड्ने चै कैले त ? अहिले रिसोर्सेज त्यहाँ छ, सरकार त्यहाँ छ, तर त्यसको समानान्तर हुने सरंचना हाम्रो छैन भने हामीले लड्ने कहाँ त ? यसमा पार्टी सभापतिजीको सबैभन्दा बढी हुटहुटी हुनुपर्ने हो । पार्टी सभापतिको कार्यशैली भएन भन्ने हामीले नै त्यसतर्फ सामूहिक दबाब सिर्जना गर्न सकिरहेका छैनौँ ।
कोही १४ औं महाधिवेशनमा म सभापति लड्ने हो भनेर आउनुभएको छ, कोही हामी लड्छौं भनिरहनुभएको छ । तर, पार्टी सभापति लड्ने त डेढ वर्ष पछि हो नि ! फेरि यहाँ सभापति फेरिँदैमा कायाकल्प भइहाल्छ भन्ने पनि त छैन । मुख्य कुरा त संचना हो, पहिला त संचना बनाउ न, प्रक्रियामा प्रवेश गरेपछि सभापति लड्ने वा सघाउने भन्ने बहस सुरु गरौँला न ।
अर्को कुरा, सभापति लड्छु भन्दै गर्दा ‘पोस्ट कन्स्टिट्युसन’ नेपाललाई मार्गनिर्देश गर्ने शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्न दृष्टिकोण चाहिँ के हो त ? दृष्टिकोणसहित आउनुप¥यो । जनताले थाहा पाउन समय लाग्ला । तर, कम्तिमा पार्टीभित्र हामीलाई त थाहा हुनुप¥यो नि ! पार्टीको बैठक समयमै राख्ने, गुटबन्दीलाई कम गर्ने, पार्टी संचालनलाई पारदर्शी बनाउने भन्ने कुरा प्राविधिक कुरामात्रै भयो । नेपाली कांग्रेसको वैचारिक दृष्टिकोण के हुने भन्ने कुरा पनि प्रष्ट चाहियो । जुन वैचारिक देष्टिकोणका आधारमा नेपाली कांग्रेसले अबको नेपाललाई नेतृत्व गर्न सक्छ । कम्तिमा सुन्न र छलफल त गर्न पाउनुपर्यो ।
तपाईँको पार्टी सभापति शेरबहादुर देउवाले ताप्लेजुङबाट चुनावी प्रचार सुरु गर्दा कम्युनिस्टले जिते भने अधिनायकवाद आउँछ भन्नुभएको थियो । अहिले सरकारका गतिविधिलाई लिएर कांग्रेसी नेताहरु अधिनायकवाद आउनै लाग्यो भन्दै विरोध गर्दैछन्, देउवा पो दुरदर्शी नेता हुनुहुँदो रहेछ त होइन ?
मचाहिँ यो सरकारका विषयमा अधिनायकवाद, सर्वसत्तावपादजस्ता शब्द प्रयोग गर्न उपयुक्त ठान्दिन । किनभने यसका आफ्नै परिभाषाहरु छन् । मैले यो सरकारलाई अधिनायकवादी हो भनेर भनेपनि दुःख मैले पाउँछु भन्ने कुरालाई मैले प्रमाणित गर्ने गरेर हिँड्नुपर्छ ।
तपाईँको नजरमा चाहिँ यो सरकार कस्तो हो त ?
यो सरकार चरम अनुदार छ, यो सरकार चरम गैरजिम्मेवार छ । कहिलेकाहीँ एकदम अनुदार र गैरजिम्मेवार सरकारले पनि क्षमता राख्छ । यो सरकारले त पछिल्लो समयमा त्यो क्षमता पनि देखाउन सकेन ।
विश्वमा विभिन्न सरकार र शासन पद्धतिका विषयमा बहस भइरहेको छ । विश्वमा विभिन्न सरकार लोकतान्त्रिक विधिबाट निर्वाचित त भएका छन्, तर गतिविधि भने अलोकतान्त्रिक छन् । विपक्षीप्रति अनुदार छन् । तर पनि ती सरकारले क्षमता राख्छन् ।
हाम्रो सरकार पनि डेमोक्रेटिक पद्धतिबाट निर्वाचित भएको छ, उसँग दुई तिहाइ बहुमत छ । तर, संविधान र लोकतान्त्रिक पद्धतिको सीमाभित्र बस्न चाहिरेको छैन । पटक–पटक सीमा नाघ्ने प्रयत्न गरिरहेको छ । विपक्षीप्रति अनुदार छ । यसलाई ठीक भन्ने की नभन्ने, ग्लोबल पोलिटिक्समा बहस भइरहेको छ ।
अहिले हामी करको कोलाहलसँगै यावत समस्याहरु देख्छौं । प्रधानमन्त्रीको दरिद्रता देख्छौं । हेर्दा सामान्य कुरा हो तर, गोवरग्याँसको प्लान्ट उद्घाटन गर्न प्रधानमन्त्री जानु भनेको आफूप्रतिको चरम दरिद्रता हो । उहाँको अभिव्यक्ति, काम संसदमा ल्याएका कानुन सबैलाई एक ठाउँ राखेर हे¥यो भने अलिकति पनि शासकीय क्षमता देखिँदैन ।
अनि अधिनायकवादी सरकारको उपमा चै किन दिइँदै छ त ?
चुनावका वेला पार्टी सभापतिले भनेको के कुराचाहिँ सत्य होला भने यो सरकार ‘रिलक्ट्यान्ट डेमोक्र्याट’ हो । डेमोक्र्याट हैन भनौँ, यत्रो वर्षदेखि लोकतान्त्रिक अभ्यासमै छ । हो भनौँ, गतिविधि लोकतान्त्रिक छैनन् । कहिलेकाहीँ हामी सडकमा लेन अनुशासन मानेर हिँडिरहेको बेला छेउबाट कसैले लेन मिच्छ, पुरै ट्राफिक डिस्टर्ब गर्छ । त्यसबेला उत्रेर दुई झापड हान्न मन लाग्छ नि ! तर, हामीले हान्न त पाइँदैन ।
यो त जिम्मेवारी लिएर आएको वा अख्तियार प्राप्त प्रहरीे/ट्राफिक प्रहरीले गर्नुपर्ने हुन्छ । तपाईँले उजुरी गर्नुपर्छ, कहिलेकाहीँ त्यति गर्दा पनि उसले सजाय नपाउन सक्छ । त्यति हुँदाहुँदै पनि तपाईँले मान्नुपर्ने हुन्छ । कानुनको शासन भनेको पेनफूल हुन्छ । तर, रिलक्ट्यान्ट डेमोक्र्याटले कानुनको शासनलाई मान्दैन । उसले परिणाम आउँछ भने कानुनको कुरा खोजिरहनु हुँदैन भन्छ । नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीहरु रिलक्ट्यान्ट डेमोक्र्याटका रुपमा देखिएका छन् ।
एमाले र माओवादीको एकतापछि केही परिवर्तनको अपेक्षा गर्न सकिँदैन ?
यसमा त के देखियो भने, माओवादी बाध्यताले स्वीकार गरेर आएको रिलक्ट्यान्ट डेमोक्र्याट हो । तर, एमाले त लामो प्रजातान्त्रिक अभ्यासबाट आएको पार्टी हो । संसदीय राजनीतिबाट खारिएको थियो । त्यही कारण कांग्रेस र एमाले उस्तै हुन् भनेर मतदाता स्वीप हुने अवस्था हामीले देखिसकेका थियौँ ।
माओवादी र एमालेको एकतापछि बन्ने कम्युनिस्ट पार्टी निकै शक्तिशाली र प्रभावकारी बन्छ भन्ने हाम्रो अनुमान थियो । किनकि, एमाले लामो समयदेखि लोकतान्त्रिक विधि र प्रक्रियाले बेरिएर चलेको पार्टी थियो । माओवादीचाहिँ अलि जुझारु पाराको थियो । त्यसैले यी दुई मिलेर बन्ने पार्टी सशक्त बन्छ भन्ने अनुमान गरेका थियौँ ।
तर, एकतापछि हाम्रो अनुमान ठीक उल्टो भयो । त्यो ‘रिलक्ट्यान्ट डेमोक्र्याट’ चरित्र एमालेले लियो र एमालेको कम्पनीवाला चरित्र माओवादीले लियो । त्यसपछि यो पार्टी एउटा बिग कम्पनी जस्तो देखियो । जोचाहिँ रिलक्ट्यान्ट डेमोक्र्याट हो । एउटा बिग कम्पनी जोसँग दुईतिहाइ बहुमत छ । त्यो त डेमोक्रेसीका लागि खतरा त भयो नै ।
तपाईँले भनेजस्तै लोकतन्त्र खतरामा छ भने अब कांग्रेसको भूमिका के त ?
यतिबेला नेपाली कांग्रेसको भूमिका यो भएन र त्यो भएन भनेर बोलेर हिँड्नेमै सीमित हुनुहुँदैन । सरकारले सीमा नाघ्यो भने रोक्न सक्ने अवस्थासम्मको हैसियत राख्नुपर्छ । जनतामा यो कुरा पुर्याउनुपर्छ । नागरिकलाई विश्वासमा लिन पनि सक्नुपर्छ । यसका लागि फेरि कुरा त संगठन क्षमता र तागत नै चाहिन्छ । त्यो तागत आर्जन गर्ने कुराको प्रारम्भिक छलफलमा हामी बल्ल प्रवेश गर्दैछौँ । सरकार बनेको छ महिना पूरा हुँदैछ, यति छोटो समयमा यो सरकारले धेरै गल्ती गरिसकेको छ । तर, सरकारले गल्ति गरेको छ, ती गल्ती सच्याउन कांग्रेसले खबरदारी गरेको महशुस जनताले गर्नुपर्छ । विधि र विधानको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस नै हो, उसलाई साथ दिनैपर्छ भन्ने भावना जनतामा उत्पन्न गराउन सक्नुपर्छ । हाम्रा सर्वोपरी जनता नै हुन् । उनीहरु छैनन्, पार्टी छैन, नेता छैनन् । तब हामी जनताको चाहाना प्रतिनिधित्व किन नगर्ने ? यसका लागि पहिला पार्टी नेतृत्व सुध्रिनुपर्छ । यो बेला अधिनायकवाद आयो भन्दै संघर्षमा जाने कुरा गरेरमात्रै त हुँदैन नि !
भनेपछि अहिले कांग्रेसका कतिपय नेता केपी ओलीले अर्को गल्ति गरिदिउन् भनेर कुरेर बसेका हुन् त ?
मेरो जोड कहाँ हो भने, सरकारले गल्ती गर्दा हामी चुप लागेर बस्नुहुँदैन । तर, सामान्य अवस्थामा पनि हामी सरकारकै मात्र पछि दौडिने होइन । जनताका मुद्दा शसक्त रुपमा अघि सार्न त हामी आफू पनि बलियो हुनुपर्छ । त्यसका लागि पार्टी सुदृढिकरणको मुद्दालाई ओझेल पर्न दिनुहुँदैन ।
अहिले पार्टी नेतृत्वले विधि र विधान मानेको छैन । विधान विपरितका पदाधिकारी बैठक आयोजना गरिएका छन् । हामी निर्णयसमेत पत्रपत्रिकाबाट थाहा पाइरहेका छौं । त्यत्रो केन्द्रीय समितिको निर्णयको अर्थै छैन ।
चुनावलगत्तै पार्टी नेतृत्व थोरै अल्मलिएको थियो, निराश पनि भएको थियो । समय गुज्रिएसँगै कार्यंकर्तामा आक्रोश घट्दै गयो । झन् सरकारले गल्ती पनि गर्दै गयो । यसले हाम्रो पार्टी नेतृत्वलाई उत्साहित बनाएको छ । किनभने, सरकारका गल्तितिर त पार्टीले पनि ध्यान दिनैपर्छ । तर, त्यस्ता अवसर कुरेर संगठन बन्दैन ।
त्यसो भए वर्तमान नेतृत्व रहँदासम्म पार्टीको क्षयीकरणमात्र हुने हो ?
अर्को महाधिवेशनसम्म यही नेतृत्व रहने हो । त्यसैले यो नेतृत्वलाई खुइल्याउनुमात्र पनि समाधान होइन । अब आउने महाधिवेशन जहिले हुन्छ, त्यतिबेला वर्तमान नेतृत्व पुनः दोहोरिनुहुन्न भन्ने मानसिकतालाई बलियो बनाउँदै लैजानुपर्छ । भन्दै जाने, दोहोर्याउँदै जाने, कसैलाई मन परोस् वा नपरोस् । महाधिवेशनसम्म यो नेतृत्वलाई मान्नुपर्छ भन्ने मान्यता पनि कायम राख्ने । विधानसम्मत चल्न पनि लगाउने हो । खास यतिबेला पार्टीको मुख्य नेतृत्वसँग असन्तुष्ट भएकाहरुको काम पनि नेतृत्वलाई दबाबमा राख्ने,आन्तरिक तयारी जारी राख्ने, पार्टीको महाधिवेशनका लागि आफूले सम्पूर्ण तयारी गरि नै रहने, पार्टीका संरचना निर्माणका लागि आफूले सम्पूर्ण शक्ति खर्च गर्ने । त्यसले पार्टीको पुनःनिर्माणमा सहयोग गर्छ जस्तो लाग्छ ।
प्रधानमन्त्री ओली र तपार्इंको सभापतिबीच साँठगाँठ छ भनिन्छ नि !
यो एकदमै गलत आरोप हो । सरकारका काम कारबाहीमा, उसले चालेका कदममा हाम्रो निरन्तर छलफल भइरहेको छ । सभापतिको कार्यशैलीमा असहमति रहे पनि सरकारका काम कारबाही र राष्ट्रिय राजनीतिका विषयमा सिंगो पार्टी एक ठाउँमा छ । यसमा कुनै अलमल छैन ।
तपाईं भन्नुहुन्छ, सरकार रिलक्ट्यान्ट डेमोक्र्याट शैलीको भयो भन्नुहुन्छ, तपार्ईंकै पार्टीका नेता सरकार अधिनायकवादतिर उन्मुख भयो भन्छन्, तपाईंलाई के लाग्छ, वास्तवमा यो सरकारको टार्गेटचाहिँ के हुन सक्छ ?
यो सरकार निर्वाचनबाट आएको सरकार हो । तर, नागरिकको आधारभूत स्वतन्त्रता, कानुनको शासन प्रत्येक निकाय, सरकारी संस्था र संसदले कसले कति अधिकार उपभोग गर्ने भन्ने कुरा संविधानले तोकिदिएको छ । यो सरकार ती सबै कुरा उल्लंघन गर्न चाहन्छ । नागरिक स्वतन्त्रतालाई रोक्न चाहन्छ, शक्तिको सीमालाई पनि उल्लंघन गर्न चाहन्छ । कहिले संसदको माध्यमबाट अदालतलाई प्रभावित पार्छ, कहिले सरकारबाट संसदलाई प्रभाव पार्छ । अर्थात विधि र विधानलाई जहाँबाट सकिन्छ, जसरी हुन्छ उल्लंघन गर्न चाहान्छ ।
अहिलेको समान्य विषयलाई हेरौँ । हेर्दा सामान्य लाग्छ । संविधानले नैं संघीय सरकारलाई विशेष जिम्मेवारी दिएको छ, जुन यो सरकारले गर्नैपर्ने हुन्छ । ती जिम्मेवारीसमेत सरकारले पूरा गरिरहेको छैन । तेस्रो कुरा क्षमता हो । कतिपय देशको अभ्यास हेर्ने हो भने विधान नाघेरै गतिविधि गरे पनि सरकार क्षमतावान पनि हुन्छ । तर, हाम्रो सरकारले त क्षमता राख्दै राखेन ।
हामी मान्छौँ, रेल, पानी जहाज हाम्रो देशका लागि एकदमै महत्वपूर्ण कुरा हुन् । तर, ओभरहोयम्ड भएर केटाकेटीले जस्तो प्रत्येक दिन त्यही कुरा गदै हिँड्नु कति उपयुक्त हो ? त्यही बहसका लागि मात्र अल्झनुले सरकार कति धेरै अलमलमा रहेछ र सरकार कति धेरै कमजोर रहेछ भन्ने कुरालाई संकेत गर्दछ ।
प्रधानमन्त्रीले विराटनगरको गोवरग्यास प्लान्ट उद्घाटन गरेदेखि म एति धेरै असन्तुष्ट भएँ कि प्रधानमन्त्रीको ‘स्टेट अफ माइन्ड’ कतातिर छ भनेर विचार गरिरहेको छु । बाहिर जतिसुकै आत्मविश्वास देखाएर अरुलाई गाली गरे पनि उहाँको मनस्थिति कति धेरै कमजोर रहेछ भनेर प्रस्ट भएको छ । नेपालको इतिहासमा यतिको शक्तिशाली प्रधानमन्त्री त अरु थिएन । त्यसैले अहिलेका प्रधानमन्त्री त ‘कुकुर भुके हजार, हात्ती चले बजार’ भनेजस्तो गरी मसँग एजेण्डा छन्, मसँग कार्यक्रम छन् मलाई केको चिन्ता भनेर हिँड्नुपर्ने हो । तर, प्रधानमन्त्रीको मनस्थिति उल्टो देखियो ।
तपाईंले भनेका कुरा कार्यक्रमिक हुन्, राजनीतिक उद्देश्य त ओलीसँग पनि केही न केही त हुनैपर्छ, कार्यक्रममा अलमल भए पनि यो सरकारका टार्गेट त होलान नि ! कांग्रेसको नजरमा त्यो चाहिँ के हो ? अधिनायकवाद वा प्रचण्डले भन्ने गरेजस्तो सत्ताकब्जा ?
यी तीनमध्ये तेस्रो कुरा त किन हुन्थ्यो होला र ! क्षमता नराख्ने त नभएरै होला । बाँकी दुईवटा कुरामध्ये संविधानले दिएका सीमा पनि मान्दिन नागरिक स्वतन्त्रता पनि म रोक्दै जान्छु, मसँग दुई तिहाइ बहुमत छ, यत्रो ठुलो पार्टीको संगठन पनि छ, यसकै आडमा म अर्को चुनाव जित्छु । यति भन्नेबाहेक यो सरकारसँग अर्को टार्गेट छ जस्तो मलाई लाग्दैन ।
बुढीगण्डकी परियोजना जसले ‘एमाले र माओवादीको एकता गराइदियो’ पनि भनिन्छ । त्यसबारे कांग्रेको धारणा के हो ? किन बोलिरहेको छैन कांग्रेस ?
यसमा कांग्रेस नबोल्ने भन्ने कुरै छैन । यसका विषयमा केही पनि भएको छैन । केही हुनभन्दा अघि अनुमानका आधारमा बोल्ने कुरा आवश्यकता भन्दा पनि हतारो हुन्छ । संसदीय समितिमा मत सभापति हुँदा यसबारे लामो छलफल गरेर आएका छौं । सरकारले गर्ने विकासका काम जो ठीकसँग भएका छन्, त्यसमा हाम्रो विरोध रहँदैन बरु सहयोग हुन्छ । तर, देशको र नागरिकको बृहत्तर हितभन्दा पनि निजी स्वार्थ र पार्टीको मात्र स्वार्थमा काम गरिन्छ भने हामी बोल्छौं, अरु जे जे गर्नुपर्छ त्यो पनि गर्छौँ ।
कांग्रेसमा युवा आकर्षण चाहिँ कसरी बढाउँदै हुनुहुन्छ ?
करिब ४० लाख मतको कुरा अहिलेको छ । नेपाली कांग्रेसले हिजो आफूलाई हालेको मत जोगाउने र विगतमा पार्टी नेतृत्वसँग रिसाएर दोस्रो पार्टीतिर गएका मत फर्काउन सक्ने अवस्था कांग्रेसको बन्छ । तर, कांग्रेसले चुनाव जित्ने गरी जाने हो भने नयाँ भोटर आकर्षित गर्नुको विकल्प छैन । आजको दिनमा कांग्रेसको त्यो अवस्था निर्माण भएको छैन । नयाँ भोटरले धेरै कुरा हेर्दैन । कुनै पनि पार्टीको विगतबाट ऊ अकर्षित हुँदैन । छलफल मात्र गर्न तयार हुने हो । यो पार्टीले मलाई आसा दिन्छ कि दिँदैन भनेर हेर्ने हो । त्या आसा उसले नेतृत्वबाट खोज्ने हो ।
मानौँ, मसँग कुनै एक कार्यकर्ता जोडिन आउँछ भने मैले ०६२/०६३ को आन्दोलनमा के गरँे भनेर हेर्न आउँदैन । उसले भविष्यमा कुशल नेतृत्व गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विगत छलफलको आधार हुन सक्छ, तर ऊ त्यसकारणले मात्र आश्वस्त हुन सक्दैन । त्यसैले नयाँ पुस्तालाई कांग्रेसको नेतृत्वले आर्षण दिन सकेको छैन ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १०:३१ बजे




















