गृहपृष्ठ पोखरामा खुलेआम ‘अवैधानिक प्याराग्लाइडिङ’का कारण बढ्यो दुर्घटना

पोखरामा खुलेआम ‘अवैधानिक प्याराग्लाइडिङ’का कारण बढ्यो दुर्घटना

दैनिक जसो दुर्घटना, नियमनकारी निकाय मौन

paraglading_pokhara फाइल तस्बिर।

पोखरामा ‘अवैध’ रुपमा प्याराग्लाइडिङ हुदा हिजोआज दैनिक जसो दुर्घटना हुन थालेको छ । यसै क्रममा पोखरामा व्यवस्थित प्याराग्लाइडिङ गराउन नसक्दा सोमबार र मंगलबार लगातार प्यराग्लाइडिङ दुर्घटना भए ।

सोमबार प्यराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिकले ज्यान गुमाउनु पर्यो भने मंगलबार प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाइते हुन पुगे । रोमानियाका करिब ४० वर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासी तालमा डुब्न पुगेर उनको मृत्यु भएको घटना सेलाउन नपाउँदै मंगलबार दुई देशका दुई जना प्याराग्लाइडिङ सिक्दै गरेका सोलो पाइलट दुर्घटनामा परेका हुन् ।

माछापुच्छ्रे गाउँपालिका-८ ठाँटीमा पोल्यान्डका ३७ वर्षीय जानुज कारोल प्याराग्लाइडिङका ग्लाइडर बिजुलीको तारमा ठोक्किँदा घाइते भएका छन् । नाङ्गो बिजुलीको तारमा छुन पुग्दा उनको दाहिने हातमा बिजुलीले जल्न पुगेको बताइन्छ ।

उनको हाल मणिपाल शिक्षण अस्पताल पोखरा उपचार भइरहेको छ । त्यसैगरी रसियाका ६३ वर्षीय यागुडीउ यलगिज मादी गाँउपालिकाको छाचोकमा प्याराग्लाइडिङ गर्ने क्रममा चिलाउनेको रुखमा अड्किदा सामान्य घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनमा परेका दुबै जनाका अनुमति नदिएको स्थानमा पुग्नु नै अवैधानिक रुपमा प्याराग्लाइडिङ उडान तथा अवतरण भएको विषयमा न त कास्की प्रहरीलाई यसको बारेमा ज्ञान छ नत सम्बन्धित निकाय नागरिक उडड्य कार्यालयलाई नै जानकारी छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले पोखरामा यति वेला अवैध ढंगबाट प्याग्लाइडिङ हुँदा दुर्घटना बढेको बताए । पोखरा नागरिक उडड्यन कार्यालयले दिएको सीमा सराङकोट, तोरीपानी र माद्रेढुंगाबाट प्याराग्लाइडिङ उडान र अवतरको लागि खपौंदी, चंखपुर क्षेत्रमा अनुमति दिए पनि हाल विभिन्न देशका सोलो(सिकारु) पाइलटहरुले विभिन्न ठाँउबाट उडान भर्दै अवतरण गर्दा पोखरामा प्यराग्लाइडिङमा ठूलो समस्या आएको महासचिव रावतले दावी गरे ।

उनले भने, ‘पोखरामा प्याराग्लाइडिङमा धेरै वेथिति मौलाएको छ, यसलाई अब समयमै नियमन गर्न नसके पोखरामा अझ थप प्याराग्लाइडिङ दुर्घटनाको संख्या बढ्न सक्छ ।’

पोखरामा दैनिक जसो प्याराग्लाईडिङ दुर्घटना बढ्दै जाँदा आफुहरु निकै दुःखि भएको प्याराग्लाइडिङ पाइलट बालकृष्ण बसेलले गुनासो गरे । उनले भने, ‘पोखराको मुख्य पर्यटनको आकर्षणको रुपमा विकास हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङलाई अब व्यबस्थित पार्न नसके यसको जोखिम बढ्न सक्छ ।’

ब्लु स्काइ प्यराग्लाइडिङ कम्पनीका सञ्चालक नारायण पराजुलीले नागरिक उडड्यन कार्यालय, प्रहरी प्रशासनको, प्यराग्लाइडिङ नियमन गर्ने संस्था हवाई खेलकुद संस्था लगायतका संस्थाहरु प्याराग्लाइडिङलाई व्यवस्थित पार्ने विषयमा गम्भीर नहुँदा पोखरामा प्यराग्लाइडिङ दुर्घटना बढेको दावी गरे ।

प्याराग्लाइडिङ पाइलट रविन गुरुङले पोखरामा पछिल्लो क्रममा प्याराग्लाडिङ गर्न जोखिम बढ्दै गएको बताए । उनले भने, ‘पोखराको आकासमा विहान भन्दा दिउँसो एक बजेपछि कहिले काँही हावा हुरी आउने जसका कारणले गर्दा सिकारु पाईलटहरुलाई कसरी तत्काल ल्यान्ड गर्ने भन्ने राम्रो ज्ञान नहुँदा पोखरामा प्याराग्लाइडिङ सिकारु सोलो पाइलटहरु प्रायः दुर्घटनमा परेका छन् ।’

पोखराको आकासमा केही सिमित ठाँउहरु विभिन्न कम्पनीहरुसँगको समन्वयमा विदेशी पाइलटहरुलाई उडान र अवतरणको सीमा दिएको भए पनि उनीहरु आकासमा उड्दा सीमा भन्दा बाहिर जाने गरेको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले बताए ।

उनका अनुसार हाल पोखरामा करिब १० भन्दा बढी देशका करिब ३ सय जना प्यराग्लाइडिङ पाइलटहरुले  एकै पटक सोलो प्यराग्लाइडिङको लागि अनुमति लिएका छन् । चालु आर्थिक वर्षको फागुन २० सम्म पोखरामा ८ सय २३ जनाले प्यराग्लाइडिङको अनुमती दिएको सूचना अधिकारी पौडेलले बताए ।

उडान भर्ने र अवतरण गर्ने कुनै कम्पनीसँग समन्वय गरी आउने प्रति प्यराग्लाइडिङ पाइलटले १५ दिनको लागि ५ हजार ६ सय ५० रुपैयाँ राजश्व तिर्ने गरेको छ । तर, पोखरामा केहिले अनुमति लिए पनि केहीले अनुमती बिना आफू खुसी आफूलाई मन लागेको ठाँउबाट उडान भर्ने र अवतरण गर्ने गरेका छन् ।

पोखरामा केही रसियन पाइलटहरुको एक समूहले हिमालयन ओपन कप भनेर विदेशी पाइलटहरुलाई आफू खुसी प्रतियोगिता गरेका छन् । यद्यपी उक्त प्रतियोगिताको लागि उनीहरुले केहिले व्यक्तिगत रुपमा उडानको अनुमति दिए पनि प्रतियोगिता नै आयोजना गरे पनि नेपालका आधाकारिक कुनै पनि संस्थासँग अनुमति बिना गत फेब्रुरअरी २७ देखि यही मार्च ६ तारिख (फागुन २२) सम्म उक्त प्रतियोगिता आयोजना गर्दैछन् । अन्तर्राष्ट्रियस्तरका उक्त प्रतियोगिता गर्दा सम्बन्धित देश र सम्बन्धित खेल संघ र स्थानीयसँगको समन्वयमा हुनु पर्नेमा यसमा कुनै कुरालाई ख्याल नगरी खुलेआम यस्तो प्रतियोगिता हुँदा कास्की प्रशासन भने मौन रहेको छ ।

उक्त प्रतियोगिताको लागि सुरक्षा, रेस्क्यु जस्ता कुरामा आयोजकहरुले ख्याल नै नगरेकोले गर्दा अर्को गम्भीर त्रुटी भएको छ । पर्यटकीय क्षेत्रमा पर्यटनको आकर्षण रहेको प्याराग्लाइडिङ गर्ने नाममा दुर्घटना बढ्दै जाँदा कुनै दिन नेपालको नाम समेत बदनाम हुने भएको व्यवसायीहरुले चिन्त्ता व्यक्त गर्न थालेका छन् ।

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु