गृहपृष्ठ यातायात मन्त्री महासेठले के गरे एक बर्षमा ?

यातायात मन्त्री महासेठले के गरे एक बर्षमा ?

९४ वटा पुल निर्माण मुख्य उपलब्धिको दावी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । सार्वजनिक निर्माणको ठेक्का लिएर काम नभएको गुनासो चौतर्फि आईरहँदा मन्त्रालयले भने ठेक्का व्यवस्थापनमा उल्लेखनीय सुधार भएको दाबी गरेको छ । एक वर्षको अवधिमा ९४ वटा पुल निर्माणको काम सम्पन्न भएको जानकारी गराउँदै मन्त्रालयले सार्वजनिक निर्माणको क्षेत्र तथा ठेक्का व्यवस्थापनमा उल्लेखनीय सुधार भएको जिकिर गरेको छ ।

मन्त्री महासेठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ९४ वटा पुल निर्माण गरेको मन्त्रालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा १ सय वटा पुल निर्माणको लक्ष्य भए पनि २ सय वटा पुल निर्माण हुने गरी कार्य भइरहेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । दूधकोशी नदीमा १ सय २० मिटर लामो मोटरेवल झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको मन्त्रालयको भौतिक प्रगतिमा उल्लेख गरिएको छ । मन्त्रालयले महेन्द्र राजमार्गमा २ सय २५ मिटर लामो रातुखोला पुल निर्माणको काम ठेक्का सम्झौताभन्दा १८ महिना अगावै सम्पन्न भएको जानकारी दिएको छ ।

चार सय मिटर लामो मरिण खोला पुल र ५ सय मिटर लामो कमला पुल ठेक्का सम्झौताभन्दा १५ महिनाअघि सम्पन्न भएको तथा सम्झौता भन्दा एकवर्ष अघि नै सम्पन्न भएको भेरी नदी पुलको काम मन्त्रालयको प्रगति देखाउन प्रसस्त रहेको मन्त्रालयको दाबी छ । मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही कठिनाइका बीच पनि मन्त्रालयले उल्लेखनीय कार्य गरेको दाबी गरे । उनले संघीयता कार्यान्वयनको पहिलो वर्ष तीनै तहका सरकारबीचको कार्य बाँडफाँड र कर्मचारी व्यवस्थापनलगायतका चुनौतीकाबीच मन्त्रालयले उल्लेखनीय काम गर्न सफल भएको मन्त्रीको जिकिर थियो ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु