गृहपृष्ठ बजेमा योजना धितो राखेर ऋण दिने व्यवस्था मिलाउन विज्ञकाे सुझाव
बजेमा योजना धितो राखेर ऋण दिने व्यवस्था मिलाउन विज्ञकाे सुझाव
काठमाडौं :पूर्वअर्थसचिव रामेश्वर खनालले अहिलेको वित्तीय प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको अन्यथा गरिब मानिस धनी बन्न नसक्ने बताउनुभएको छ ।पूर्वअर्थसचिव खनालले नेपाल आर्थिक मञ्चले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा धितो राखेर कर्जा दिने वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले कर्जा दिन धितो राख्नुपर्ने अहिलेको वित्तीय प्रणालीले धनीलाई मात्र थप धनी बनाउने भन्दै योजना धितो राखेर कर्जा दिने कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले युवाहरुलाई उद्यमशील बनाउनका लागि केन्द्र र स्थानीय सरकारले प्रभावकारी नियमन गर्ने गरी युवा स्वरोजगार कोष जस्ता कार्यक्रम ल्याइनुपर्ने र त्यसो भए आर्थिक समृद्धिको सरकारको योजना पूरा हुन सक्ने बताउनुभयो ।
खनालले वचत तथा ऋण सहकारी संस्थालाई केन्द्रीय निकायको नियमन आवश्यक नभएको बताउनुभयो ।
संघीय शासन व्यवस्थाको कार्यान्वयन भर्खर सुरु भएकाले काम भएन भनेर निराश हुन नहुने बताउनुभयो । उहाँले केही महङ्गो भएपनि संघीय शासन व्यवस्थाबाट विकासमा फड्को मार्न सकिने तर त्यसका लागि जनशक्तिको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्ना लागि आवश्यक जनशक्तिलाई आफैंले अनुमति दिने व्यवस्था भए मात्र प्रदेशको विकास हुने अन्यथा संघीय शासन व्यवस्था अवलम्बन गर्नुको अर्थ नहुने बताउनुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कायममुकायम सचिव बैकुण्ठ अर्यालले संघीयता धान्न सकिने व्यवस्था भएको भन्दै खर्च गर्ने प्रणालीमा भने सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहहरुले चालु आर्थिक वर्ष ४० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नसकेको र यसमा सरकार पनि दोषी रहेको भन्दै बजेट तर्जुमा गर्दा क्षमता बढाउने कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँल संघीय शासन व्यवस्था कार्यान्वयनमा आएको अवस्थामा संघीय संसद्का सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका नाममा बजेट खोज्नु अनुचित भएको बताउनुभयो ।
अर्यालले साना कार्यक्रममा रकम छर्नुको साटो पूर्वाधारका ठूला आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो
प्रकाशित समय २२:४२ बजे

















