गृहपृष्ठ प्रधानमन्त्रीले ज्योतिषीलाई भने- दक्षिणाको लोभमा बद्नाम हुने काम नगर्नू !
प्रधानमन्त्रीले ज्योतिषीलाई भने- दक्षिणाको लोभमा बद्नाम हुने काम नगर्नू !
फाइल तस्बिर
प्रधानमन्त्री कोपी शर्मा ओलीले संविधानविरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताएका छन् । उनले संविधानविरोधी काम गर्ने जो कोहीलाई पनि सरकारले नछोड्ने बताए ।
संविधानविपरीत काम नगर्न पनि प्रधानमन्त्रीले आग्रह गरे । नेपालसँग आफ्नो देशको पहिचान आफैं बनाउन सक्ने हैसियत भएको उनको भनाइ छ । उनले वीरपुर्खाहरुले रगत पसिना बगाएको इतिहास बोकेको देश नेपाल भएको भन्दै आफ्नो पहिचान आफैं स्थापित गर्ने महान अभियानमा सरकार लागिपरेको बताए ।
नेपाली सेनाले ब्रिटिस सेनालाई पराजित गरी विजय प्राप्त गरेको खुसियालीमा बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै पेसाकर्मीका समस्यातर्फ सरकारको ध्यान रहेको बताए । सबैका समस्या सँगसँगै समाधानको बाटोमा सरकार अगाडि उनको भनाइ छ ।
सरकारको ध्यान शान्ति, सुव्यवस्था र विकासमा केन्द्रित रहेको भन्दै ओलीले अब मुलुकले विकासको बाटो समात्ने दाबी गरे । त्यसका लागि सबै आधार तयार हुँदै गएको उनले बताए ।
प्रधानमन्त्री ओलीले केही समूह देश टुक्र्याउन उद्यत रहेको भन्दै जनतालाई सचेत हुन आग्रहसमेत गरे । ‘दुनियाँ एकातिर छ, केही मान्छे अहिले उपद्रो गर्दै छन्,’ उनले भने, ‘पुग्ने कहाँ हो ? गर्ने के हो ? आजको समस्या के हो ? थाहा छैन तर केही न केही उपद्रो गर्न खोज्दैछन्, त्यस्तासँग सचेत हुन आवश्यक छ,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले केही समूहहरु जनता भड्काउन नसकेर ज्योतिषीलाई उचाल्न थालेको आरोपसमेत लगाएका छन् । उनले दक्षिणाको लोभमा बद्नाम हुने काम नगर्न ज्योतिषीलाई आग्रहसमेत गरे ।
उनले देशभरका गढी र किल्लाको सरकारले संरक्षणमा गर्ने बताए । जितगढी किल्लाको रक्षा गर्नु देशको रक्षा गर्नु भएको भन्दै उनले यहाँको अतिक्रमित जमिनलाई पुरानै अवस्थामा कसरी ल्याउने भन्नेबारे सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णुप्रसाद पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेपाली कांग्रेसका संसदीय दलका नेता बालकृष्ण खाण, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्यलगायतको उपस्थिति थियो ।
प्रकाशित समय १४:५९ बजे
















