गृहपृष्ठ बुटवल उपमहानगर दीर्घकालीन र आवधिक योजनाको सुझाव माग्दै

बुटवल उपमहानगर दीर्घकालीन र आवधिक योजनाको सुझाव माग्दै

बुटवल- विभिन्न क्षेत्रका विज्ञहरुले जनसहभागितामा आधारित विकास मोडल तयार पारेको भन्दै बुटवलको दीर्घकालिन र आवधिक योजनाको सराहना गरेका छन् । उनीहरुले समृद्धिको पहिलो आधार पनि जनसहभागितामा आधारित विकास भएको भन्दै त्यसैका आधारमा अगागि बढ्न पनि सुझाव दिए ।
बुटवल उपमहानगरले नगरको दीर्घकालीन र आवधिक योजनाका बारेमा सुझाव संकलन गरेको थियो । सोही कार्यक्रममा सहभागी विभिन्न विषयका विज्ञहरु, पूर्व सांसद, राजनीतिक दल तथा नागरिक अगुवाहरुले निजी र सामुदायिक क्षेत्रलाईसमेत समेट्दै र दिशा निर्देश गर्दै स्थानीय सरकारले योजना बनाउन जरुरी रहेकोमा जोड दिए ।
पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ सुशिल ज्ञवालीले जनअपेक्षा बढेर गएको र त्यो स्वभाविक पनि रहेको भन्दै दिगो र टिकाउ विकासका लागि जनसहभागिताको मोडल उपयुक्त रहेको बताए । बुटवल उपमहानगरपालिका विज्ञ समूहका संयोजक समेत रहेका ज्ञवालीले अध्यय्नको विज्ञता र अनुभवको श्रेष्ठताका आधारमा योजना बनाउन सुझाव दिए ।
तिनाउ–दानव करिडोरलाई प्राथिकतामा राख्दै जितगढी, रामापिथेकश, मणिमुकुन्द सेनलगायतका कैयौं ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुलाई समृद्धिका आधारका रुपमा विकास गर्न जरुरी रहेको उनले बताए । भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, वातावरणीय तथा पर्यावरणीय व्यवस्थापन समृद्धिका स्तम्भ रहेको उनको भनाइ थियो ।
ई.डा. खेटराज दाहालले तिनाउ नदीलाई वरदानको रुपमा लिएर समृद्धिको आधार बनाउन जरुरी रहेकोमा जोड दिए । समृद्ध बुटवलका लागि प्रचूर तथा भरपूर सम्भावनाहरु रहेको उल्लेख गर्दै अहिले प्रस्तुत गरिएको खाका उपयुक्त रहेको बताए ।
विज्ञहरु डा.ईश्वर गौतम, डा. राजेन्द्र ओझालगायतले जनसहभागितामा आधारित योजनाहरुमै प्राथमिकताक दिन सुझाव दिए । तिनाउ–दानव करिडोरलाई प्राथमिकता दिंदै अव्यवस्थित बसोबासीको प्रभावकारी व्यवस्थापन जरुरी रहेकोमा उनीहरुको जोड थियो ।
शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार, कृषि र वातावरणलाई समृद्धिको आधार मान्दै त्यसैका आधारमा योजनाको खाका बनाइएको नगर प्रमुख शिवराज सुवेदीले बताए । सोही योजनाका सम्बन्धमा नगरका सबै १९ वटै वडाहरुमा स्थानीयको सुझाब संकलन गरिसकिएपछि विज्ञहरुसमक्ष प्रस्तुत गरिएको प्रमुख सुवेदीले बताए ।
करिब २६ अर्ब बराबरको बजेटमा बन्ने योजनाहरुका सम्बन्धमा समुदायको सुझाव संकलन गरिएको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ । समुदायस्तरमा सुझाव संकलनका काम दुई सातादेखि भइरहेको र त्यहाँबाट प्राप्त सुझावसमेतलाई विज्ञ समूहमा राखेर प्रस्तुत गरिएको उनले बताए ।
पूर्व सांसदहरु देवेन्द्र घिमिरे र रामप्रसाद भट्टराईले योजना बनाउनु अघि समुदायको सुझाव संकलन गरिनु महत्वपूर्ण काम भएको भन्दै सराहना गरे । पूर्व सांसदहरुले बुटवलको पहिचान जोगाउने र पर्यटकीय गन्त्व्य बनाउन जरुरी रहेकोमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता युवाराज गिरीले सबैको भावना समेट्ने कोसिस भएको भन्दै यस्लाई निरन्तरता जरुरी रहेको बताए । बुटवलका प्रत्येक वडाहरुमा रहेका सम्भावना र त्यहाँका समस्याको दीर्घकालिन समाधान हुने गरी योजना अगाडि सारिएको बताउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पहिलोचरण भेला सकेर दोस्रो चरणमा विज्ञहरूसहित छलफल गरिएको बताए ।
वडाहरुमा रहेका टोलविकास संस्था, सामाजिक संघसंस्था, नागरिक अगुवा, उद्योगी–व्यवसायी, शिक्षक, विद्यार्थी र लक्षित समुदाय सबैको प्रतिनिधित्व हुनेगरी भेला मार्फत सुझाव लिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।
योजनाको खाका परामर्शदाता इकोकोड प्रालिका इन्जिनियर कुमार धमला लगायतको टिमले गरेको र सोही खाकामा आधारित सुझाव संकलनका काम भएको कार्यक्रम संयोजक भुवाप्रसाद लुइँटेलले बताए ।
सुझाब संकलनका काम संगै योजनाको प्राथमिकता र तथ्यांक अद्यावधिकको काम पनि संगसंगै भइरहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । शिक्षा, स्वास्थ, ढलनाली, खानेपानी तथा पूर्वाधार विकासमा ध्यान दिन सुझावहरु आएको उनले बताए ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु