गृहपृष्ठ रोजगारीका लागि मलेसिया जान बन्द
रोजगारीका लागि मलेसिया जान बन्द
काठमाडौं– सरकारले तत्कालका लागि मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया बन्द गरेको छ । मलेसिया जाने कामदारबाट विभिन्न संयन्त्रमार्फत भइरहेको अवैध असुली हटाउनका लागि मलेसियाली सरकारमाथि दबाब सिर्जना गर्ने उद्दश्यले मलेसिया जान रोक लगाइएको हो । भिसा लागिसकेका कामदार भने मलेसिया जान पाउनेछन् ।
मलेसियाको नयाँ सरकारले हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया भने जनाएको छैन । मलेसियाको नेपालस्थित दूतावासले नेपालले अवैध घोषणा गरेर मलेसिया सरकारका तर्फबाट खडा गरिएका संयन्त्रमाथि थालेको छानबिनमा सघाउने बताएको छ ।
त्यसका लागि दूतावासले कामदारलार्इ भिसा दिने प्रक्रिया नै बन्द गरिदिएको छ । नेपाल सरकारले पनि मलेसियाबाट आउने मागपत्रमा पूर्व श्रम स्वीकृति दिन रोकेको छ । पूर्व श्रमस्वीकृति रोकिएपछि मलेसिया जाने कामदारमाथि भइरहेको अन्याय हटाउन मलेसियाको सरकारमाथि नैतिक दाबब पर्ने विश्वास श्रम तथा रोजगार मन्त्रालयको छ ।
श्रममन्त्री गोकर्ण बिष्ट अवैध असुली नहटेसम्म कामदार मलेसिया पठाउन बन्द गर्ने मनस्थितिमा पुगेका छन् । युवालाई रोजगारीका लागि जाँदा नै ऋणको भारी बोक्नुपर्ने गरी अवैध रुपमा भइरहेको असुलीलाई वैधानिकता दिन नसकिने बिष्टको भनाइ छ । मलेसियामा नेपाली कामदारको साख राम्रो भएकाले पनि त्यहाँको नयाँ सरकारले नेपालले उठाएका विषयलाई गम्भीर रुपमा लिनेमा आशंका नरहेको श्रम मन्त्रालयको बुझाइ छ ।
द्विपक्षीय रुपमा सम्झौता नभई एकपछि अर्को संयन्त्र थप्दै नेपाली कामदारलाई विदेशिने समयमै ठूलो आर्थिक भार थप्नु कूटनीतिक र नैतिक हिसाबले पनि गलत भएको श्रमविज्ञहरू बताउँछन् ।
विभिन्न संयन्त्र राखेर मलेसिया जाने कामदारबाट करिब १८ हजार रुपैयाँ अतिरिक्त रकम उठाइँदै आएको थियो । सरकारले अवैध असुली बन्द गरी रोजगारीका लागि मलेसिया जाने नेपालीको आर्थिक भार कटौती गर्ने श्रम मन्त्रालयका अधिकारी बताउँछन् ।
प्रकाशित समय १६:१४ बजे

















