गृहपृष्ठ धितोपत्र बोर्डले पुँजी बजारसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
धितोपत्र बोर्डले पुँजी बजारसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय पुँजी बजारसम्बन्धि सम्मेलन हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले आइतबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो । बोर्ड र अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभेलपमेन्ट (ओईसीडी)ले संयुक्त सम्मेलन गर्न लागेका हुन् । नेपालको पुँजी बजारको नियमनलाई अन्तर्राष्ट्रियकरण गराउने र वित्तीय साक्षरता बढाउन सम्मेलन केन्द्रीत हुने आयोजकको भनाइ छ ।
सम्मेलनमा वित्तीय साक्षरता, समावेशीता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशीता, बाल्यकालदेखि वित्तीय जोखिम कम गर्ने र ग्रामीण तथा सहरी जनसंख्याको वित्तीय आवश्यकताका विषयमा छलफल हुनेछ । साथै साना तथा मझ्यौला उद्योगमा पहुँच वृद्धि गर्ने विषय पनि समेटिने बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यले नेपाली बजार थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
असार १७ र १८ गते हुने सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलियालगायत ६ राष्ट्र र नेपालका गरि १ सय २५ जना वित्तीय विज्ञ सहभागी हुनेछन् ।
प्रकाशित समय १७:०६ बजे

















