गृहपृष्ठ प्रधानन्यायाधीश पराजुली विरुद्ध अनसन बस्ने डा. केसीकाे घाेषणा
प्रधानन्यायाधीश पराजुली विरुद्ध अनसन बस्ने डा. केसीकाे घाेषणा
काठमाडौँ — प्रा डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै १४ औं अनसनको घोषणा गरेका हुन्।
डा केसीले सर्वोच्च अदालतले ४ वर्ष अघि त्रिविले बर्खास्त गरेका डिन डा शशी शर्मालाई आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले पुनर्वाहलीको आदेश दिएपछि उनी विरुद्ध अनशनको घोषणा गरेका हुन् ।
‘विगत केही महिनादेखि सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था सबैका सामु छर्लंग छ । त्यसले भ्रष्टहरुलाई उन्मुक्ति दिएर पुरस्कृत गर्ने मात्र नभई देशलाई पचासौं अरब राजस्व घाटा बनाएर कंगाल बनाउनमा भुमिका खेलिरहेको छ,’ डा केसीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यसले आम नागरिकको दोहन गरेर सीमित भ्रष्ट र अपराधीहरु मात्रै धनी हुादै गइरहेको तथा न्यायालय लगायत राज्यका सबै अंगहरु तिनको कब्जामा गइरहेको अवस्था छ ।’
चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्नुपर्ने, आइओएमका डिनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरिनुपर्ने तथा माफिया डिनको पुनर्वहाली तुरुन्त खारेज गरिनुपर्ने लगायतका ५ सुत्रीय माग राख्दै डा केसी अनसनमा बस्न लागेका हुन् ।
उनको विज्ञप्तीमा भनिएको छ- ‘न्यायालय न्याय दिने हैन न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसित मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ । कानुन र विधिको शासन हावी हुनुपर्नेमा कानुनलाई निकृष्ट व्यक्तिगत स्वार्थ पुर्ति गर्ने माध्यम तथा आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाइएको यो अवस्थामा हामीसित समस्याको जरोसितै लड्नुको विकल्प छैन । त्यसैले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधान न्यायधीश गोपाल पराजुली विरुद्ध लड्नुको अब विकल्प छैन ।’
केसीका मागहरुः
-पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानविन र कारवाही गरियोस् ।
-चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।
-आइओएमका डिनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस् । माफिया डिनको पुनर्वहाली तुरुन्त खारेज गरियोस् ।
-मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागवण्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् ।
– त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् ।
प्रकाशित समय १०:०९ बजे

















