गृहपृष्ठ उपल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ बढ्दै
उपल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ बढ्दै
उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस ‘बी’ को समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिएको छ ।
शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिनु समस्या विकराल नै भएको वीर अस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताए । ‘उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप विकराल छ, प्रत्येक चार जनाको जाँच गर्दा एक जना पोजेटिभ भेटिन्छ, यसरी प्रत्येक वर्ष संक्रमितको संख्या बढ्दै गए महामारीकै रूप लिने निश्चित छ,’ उनले भने ।
यस्तो रोग तिब्बतमा धेरै भएकाले त्यहाँका मानिससँगको हेलमेलका कारण रोग भित्रिएको बताउँदै बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस ‘बी’ विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढ्दै गएको डा. केसीले बताए । हेपाटाइटिस ‘बी’ संक्रमित सर्वसाधारणलाई समेत रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।
उपल्लो डोल्पाको धो गाउँ मात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँका सर्वसाधारणलाई समेत संक्रमण देखिएको छ । प्रत्येक वर्ष संक्रमितको संख्या बढ्दै गएको शिविर आयोजक संस्था एकएक पाइला नेपालले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा एकै घरका सम्पूर्ण परिवारमा हेपाटाइटिस ‘बी’ को संक्रमण भेटिएको छ ।
प्राणघातक रोगका रूपमा चिनिने हेपाइटिस ‘बी’ को पूर्ण रूपमा निको पार्ने औषधि हालसम्म नबने पनि असर न्यूनीकरण गर्ने औषधि काठमाडौँमा पाइने बताइएको छ । हेपाटाइटिस ‘बी’ आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलन नदिन रोगीले प्रयोग गरेको सुई, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले बताइन् । (रासस)
प्रकाशित समय १२:४२ बजे
















