गृहपृष्ठ प्रधानमन्त्री ओली भन्छन्- अन्तर्राष्ट्रिय सम्बन्ध उचाइमा पुगेको छ
प्रधानमन्त्री ओली भन्छन्- अन्तर्राष्ट्रिय सम्बन्ध उचाइमा पुगेको छ
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका बेला बाहिर हल्ला गरिएजस्तो राष्ट्रहितविपरीत र अनुचित कुनै सम्झौता नभएको दाबी गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दाबी गर्दै प्रधानमन्त्रीले त्यसका प्रमाणहरु रेकर्ड भइसकेको बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्ध उचाइमा पुगेको छ,’ सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै उनले भने, ‘छिमेकिसँगको सम्झौता र संयुक्त प्रेस वक्तव्य भए । यी सबै कुराले पुष्टि गर्छ । हामी खोक्रो दावी गर्दैनौं । सबै कुरा रेकर्ड छन् ।’
प्रधानमन्त्री ओलीले भारतसँग झुकेर नभर्इ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताए । ‘भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिन भनेपछि सम्बन्ध पुनःस्थापना भएको हो,’ उनले भने, ‘छिमेकीसँग सम्बन्ध सुमधुर भएको छ । सम्बन्ध पुनःस्थापित भएको छ । म गर्वका साथ भन्न चाहन्छु । सम्बन्ध सुधार हुनुपर्छ भनेर निहुरिएर होइन, झुकेर होइन । आफ्ना आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार गरेर होइन । सार्वजनिक सत्तालाई अन्डरमाइन गर्न दिएर होइन । स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नजरअन्दाज गरेर होइन । मिल्नैपर्छ, जसरी पनि भनेर होइन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेर सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतालाई मानेर र शिर उठाएर सम्बन्ध सुधार गरेका छौं ।’ सरकारले राष्ट्रियतालाई असाधारण महत्व दिएको उनको प्रस्टोक्ति छ ।
प्रकाशित समय १६:१४ बजे
















