गृहपृष्ठ जापानमा पढेर रोजगारी पाउनेमा नेपाली तेस्रो

जापानमा पढेर रोजगारी पाउनेमा नेपाली तेस्रो

भाषा र सीप परीक्षा यसै साता

Japan_worker_NewsKarobar

जापानमा अध्ययनका लागि ‘स्टुडेन्ट भिसा’मा गएर पछि रोजगारी भिसा (वर्क भिसा)मा परिणत गर्नेहरूमध्ये नेपालीहरू तेस्रो नम्बरमा परेका छन् । त्यहाँका युनिभर्सिटी वा प्राविधिक शिक्षाअन्तर्गत पढ्न गएकाहरूले यसरी ‘स्टुडेन्ट भिसा’लाई ‘र्वक भिसा’मा परिणत गर्ने गरेको माइचिनी सिम्बुनले लेखेको छ ।

यसरी भिसा परिवर्तन गर्नेहरूमा चाइनिजहरू पहिलो नम्बरमा छन् । सन् २०१८ का ४२ प्रतिशत चाइनिजले भिसा परिवर्तन गरी ‘वर्क भिसा’ लिएको त्यहाँको इमिग्रेसन सर्भिस एजेन्सीले जनाएको छ ।

यस्तै २२ दशमलव २ प्रतिशत भियतनामी र ११ दशमलव ३ प्रतिशतले नेपालीले आफ्नो भिसा परिवर्तन गरी रोजगारी भिसा लिएका छन् ।

अध्ययनका लागि त्यहाँ जानेहरूले इन्जिनियर, एकाउन्टेट, बिजनेस म्यानेजर, प्राफेसर आदिका लागि ‘वर्क भिसा’ लिने गरेको जनाइएको छ । सन् २०१८ मा कुल २५ हजार ९४२ जनाले आफ्नो भिसा परिवर्तन गरी रोजगारी भिसामा परिवर्तन गरेका थिए । यो अघिल्लो वर्षभन्दा ३ हजार ५२३ जना बढी हो भने सन् २०१३ का तुलनामा दोब्बर हो ।

जापानमा श्रमशक्तिको व्यापक अभाव बढ्दै गएपछि यसरी अध्ययनका लागि त्यहाँ पुग्नेहरूले आफ्नो भिसा नै परिवर्तन गरेर त्यहाँ काम गर्न थालेका पत्रिकाले लेखेको छ ।

जापानले हालैमात्र नेपालबाट औपचारिक रूपमा नै श्रमिक लिने विषयमा सम्झौता गरिसकेको छ भने यसका लागि आवश्यक प्रक्रियासमेत आरम्भ भइसकेको छ ।

यसका लागि  नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार पहिलो चरणमा नर्सिङ केयरगिभरका लागि यही कात्तिक १० र ११ गते भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परीक्षण परीक्षा लिँदैछ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ । यी दुवै परीक्षामा उत्तिर्णहरूले मात्र जापानमा रोजगारी पाउनेछन् ।

नेपालीहरूका लागि जापान विगतदेखि नै आकर्षक श्रम गन्तव्यका रूपमा रहँदै आएको छ । विगतमा ‘जिट्को’मार्फत कृषि क्षेत्रमा काम गर्ने गरी नेपाली श्रमिकहरू त्यहाँ पठाइएकोमा प्रायःजसोले ‘स्टुडेन्ट भिसा’ र ‘भिजिट भिसा’मा पुगेर पछि ‘वर्किङ भिसा’ लिने गरेका छन् ।

सन् २०१० देखि औपचारिक रूपमा नेपालीहरू श्रमकै लागि जापान जान थालेका हुन् । जापानी दूतावासका अनुसार १९८० का दशकदेखि हालसम्म करिब ३ हजार नेपालीहरू प्रशिक्षार्थीका रूपमा जापान गएका छन् ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु