गृहपृष्ठ पर्यटक आगमन वृद्धिका आधारमा नेपाल पहिलो नम्बरमा

पर्यटक आगमन वृद्धिका आधारमा नेपाल पहिलो नम्बरमा

९ महिनामा ८ लाख ३१ पर्यटकले नेपाल भ्रमण गरे

Tourism_NewsKarobar

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)द्वारा सार्वजनिक विवरणअनुसार सन् २०१८ मा पर्यटक आगमनका आधारमा नेपाल पहिलो स्थानमा परेको छ । पाटाका अनुसार सन् २०१८ मा नेपालमा पर्यटक आगमन २४.८ प्रतिशतले वृद्धि भइ नेपाल महादेशकै पहिलो नम्बरमा परेको हो ।

यसैगरी २१.८ प्रतिशतको पर्यटक वृद्धिसहित टर्की दोस्रो नम्बरमा, १९.९ प्रतिशत पर्यटक भियतनाम तेस्रो स्थानमा, १७.५ प्रतिशत पर्यटक वृद्धिसहित निकारागुवा चाैथाे र १५.५  प्रतिशत पर्यटक वृद्धिसहित कोरिया पाँचाै स्थानमा छ ।

सन् २०१४ देखि २०१८ का पाँच वर्षका अवधिमा यी गन्तव्यहरूमा करिब २४ प्रतिशतले पर्यटक बढेको पाटाले जनाएको छ, संख्यागत रूपमा यी गन्तव्यमा थप १३ करोड ६० लाख अन्तर्राष्ट्रिय आगन्तुक आएका थिए ।

यसैबीच, सन् २०१९ को पहिलो ९ महिना (जनवरी-सेप्टेम्बर)मा ८ लाख ३१ हजार ६८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको समान अवधिभन्दा ७.६ प्रतिशतको वृद्धि हो । सन् २०१८ का यही अवधिमा ७ लाख ७२ हजार पर्यटक नेपाल आएका थिए ।

भारत, चीन, जापान, थाइल्यान्डलगायतका देशबाट आउने पर्यटकको संख्यामा भइरहेको उत्साहजनक वृद्धिले समग्र पर्यटक आगमन पनि बढाएको हो ।

यो वर्ष पर्यटक आगमनका हिसाबले भारतीय पर्यटक नै पहिलो नम्बरमा छन् भने दोस्रो स्थानमा चिनियाँ पर्यटक छन् । भारतीय पर्यटकले कुल पर्यटक आगमनको २० प्रतिशत ओगटेको र चिनियाँ कुल आगमनको १४ प्रतिशत हिस्सा ओगटेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढेको हो भने चिनियाँ करिब १० प्रतिशतले बढेको हो । यसैगरी जापान र थाइल्यान्डबाट आउने पर्यटकको संख्या करिब ३९ प्रतिशतले बढेको छ ।

हवाई माध्यमबाट करिब १ लाख ६० हजार भारतीय पर्यटक नेपाल आउँदा समान अवधिमा चीनबाट आउने पर्यटकको संख्या १ लाख २० हजार पुगेको छ ।

सेप्टेम्बरमा ८९ हजार पर्यटकले नेपाल भ्रमण गरेकामा चालू महिना अक्टुबरपछि ट्रेकिङको मुख्य सिजन सुरु हुने तथा हालै चिनियाँ राष्ट्रपति नेपाल भ्रमण गरेका कारण त्यसले सकारात्मक प्रभाव परी आउँदा दिनमा चिनियाँ पर्यटक बढ्ने भएकाले यो वर्ष साढे १२ लाखका हाराहारीमा पर्यटकले नेपाल भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु