गृहपृष्ठ ‘कम्युनिष्ट सरकारलाई सच्याउनै लागि पनि कांग्रेसले जित्न आवश्यक छ’
‘कम्युनिष्ट सरकारलाई सच्याउनै लागि पनि कांग्रेसले जित्न आवश्यक छ’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आसन्न उपनिर्वाचन जितेर ‘सरकारका पक्षमा जनमत छैन’ भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् ।
उनले केपी ओली सरकारलाई ‘तिमी गलत बाटोमा छौ, अब सच्चिनुपर्छ’ भन्नकै लागि पनि उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस, पोखरा– १६ ले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट सरकार जनताका हक अधिकार खोस्न तथा न्यायालय, प्रेस र संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्यत रहेको आरोप लगाए ।
सभापति देउवाले जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिए । ‘प्रधानमन्त्री ज्यूको खोक्रो आश्वासन अब जनताले पत्याउँदैनन् । उहाँको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको हामी सबैले देखिसक्यौँ,’ उनले भने ।
सडक आन्दोलनबाट झक्झक्याउन खोजे पनि सरकार कानमा तेल हालेर बसेको उनले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीलाई भेटेर भारतले मिचेको भूभाग फिर्ता ल्याउन पहल गर्नुहोस्, त्यसमा नेपाली कांग्रेसले पनि साथ दिन्छ भन्यौँ । तर उहाँको व्यवहारले मिचिएको नेपाली भूमि फर्काउलाजस्तो देखिँदैन ।’ उनले सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।
सभापति देउवाले तपस्वी नेता तथा कास्की– २ का उम्मेदवार खेमराज पौडेलमाथि धेरै नै अन्याय भएको स्वीकार गरे । ‘उहाँ जतिको त्यागी नेतामाथि अन्याय भएकै हो । उहाँलाई न्याय दिने दायित्व कास्केली जनताको हातमा छ । उहाँलाई अत्यधिक मतका साथ सदनमा पुर्याइदिनुस्,’ देउवाले भने ।
चुनावी सभामा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने पार्टी कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने तर्क गरे । ‘कम्युनिष्ट पार्टीले झुटका अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन् । यो पटक कांग्रेसको विजय सुनिश्चित छ,’ उनले भने, ‘कास्कीबाट खेमराज पौडेललाई चुनाव जिताउनुहोस्, उहाँ सांसद मात्रै बन्नुहुन्न । अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिँडाउन पनि सघाउनुहुन्छ ।’
महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागिपरेको आरोप लगाए । ‘सरकार मुलुक, जनता र लोकतन्त्रको हितमा छैन । वर्तमान सरकार संविधान, संघीयता, गणतन्त्र र समावेशिताको विरुद्धमा छ,’ उनले भने, ‘सरकारलाई सच्याउनका लागि पनि यो चुनाव कांग्रेसले नै जित्न आवश्यक छ ।’
केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्य कोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्यत रहेको आरोप लगाए । ‘सुशासन, समृद्धि, शान्ति र सुखको ठूला–ठूला भाषण गर्ने कम्युनिष्ट कस्ता रहेछन् भन्ने यो २ वर्षमै देखिएको छ,’ उनले भने, ‘कम्युनिष्ट देश र जनताको हितमा कहिल्यै हुन सक्दैन ।’
अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि भोट दिने हो भने त्यो रवीन्द्रप्रति अपमान हुने बताए । हिजोका दिनमा पृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन हुँदैन भनेर रवीन्द्र राजाविरुद्ध लागेका स्मरण गर्दै नेता थापाले अहिले ‘रवीन्द्रको उत्तराधिकारी हुँ, सपना पूरा गर्छु’ भन्दै हिँड्न नैतिक हैसियत नहुने बताए ।
नेता थापाले नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा कास्कीका जनताले त्यो पूरा गर्ने उनले बताए । उनले सिंगो देशको भविष्यसँग जोडिएकाले यो चुनावमा कांग्रेसलाई जिताएर देशको गति र मति फेर्ने अभियानमा लाग्न आग्रह गरे । उम्मेदवार खेमराज पौडेलले आफू सधैँ कास्कीका जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गरे । उनले आफूले जितेर गए पनि सधैँ जनताकै साथमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए
गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले खेमराज पौडेललाई जिताएर कास्कीको मुहार फेर्न लागि पर्ने बताए । अर्का सांसद कुमार खड्काले सरकारको अधिकायकवाद अब धेरै नटिक्ने चेतावनी दिए । उनले कांग्रेसको पक्षमा लहर बढेकाले खेमराज पौडेलको जित सुनिश्चित भएको दावी गरे ।
प्रकाशित समय १६:१५ बजे

















