गृहपृष्ठ प्रथम सूर्योदय महोत्सवमा पर्यटकीय गन्तव्यको जानकारीका लागि कल सेन्टर

प्रथम सूर्योदय महोत्सवमा पर्यटकीय गन्तव्यको जानकारीका लागि कल सेन्टर

भोलिदेखि सुरु हुन लागेको प्रथम सूर्योदय महोत्सवमा इलामको सूर्योदय नगरपालिकाले ‘कल सेन्टर’ को स्थापना गरेको छ । पर्यटकलाई विभिन्न क्षेत्रमा भ्रमण तथा खान र बस्नका लागि सहज होस् भनी ‘टोल-फ्री’ मार्फत जानकारी गराउने उद्देश्यले कल सेन्टरको स्थापना गरेको हो ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै प्रमुख गन्तव्य मानिएको यस नगरपालिकामा पहिलोपटक आयोजना गरिएको महोत्सव यही मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ । ट्रोल-फ्री सञ्चालन गरिसकेपछि नगरभित्र रहेका सबै होटल, घरवासबारे सूचना दिने गरी नगरपालिकाले कल सेन्टरको व्यवस्था गरेको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । महोत्सवमा आएका पर्यटकलाई अप्ठ्यारो नपरोस् भनेर यस्तो व्यवस्था मिलाइएको उनको भनाइ छ ।

महोत्सव सफल पार्न नगर उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसिमित क्रियाशील छन् । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको नगर प्रमुख राईले बताए ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत पर्यटक आउने आयोजकको अपेक्षा छ । महोत्सवमा आन्तरिक र बाह्य गरी पाँच लाख पर्यटकले भ्रमण गर्ने अनुमान गरिएको उनको अनुमान छ ।

महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर, करफोकलगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपान्डा (रातो हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा संग्रहालय अवलोकन, देउराली पदयात्रा, साइकल दौड, फोटो प्रदर्शनी, मौलिक र जैविक परिकारसहितको खाना महोत्सव, साहित्यिक-सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।

कन्याममा चियाको राजधानीसमेत भएकाले चिया उत्पादनदेखि तयारीसम्मका जानकारीसहित पर्यटकलाई जैविक चियाको स्वाद चखाउने कार्यक्रम रहेको छ । महोत्सवको पहिलो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै उद्घाटन गरिनेछ । महोत्सवको उद्घाटन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ ।

पर्यटकलाई खाना र बस्नका लागि नगरभरिका होटल, रेस्टुरेन्ट, घरवासमा व्यवस्थापन गरिएको छ । महोत्सवका लागि नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ । इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थान यसै नगरमा पर्छन् । यो नगर सात ‘अ’ को नगरका (अर्थोडक्स चिया, अदुवा, अलैंची, आलु, अम्रिसो, अकबरे खुर्सानी र ओलन (दूध) का रूपमा परिचित छ । (रासस)

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु