गृहपृष्ठ महोत्सवको प्रचारप्रसारमा पोखराका व्यवसायी

महोत्सवको प्रचारप्रसारमा पोखराका व्यवसायी

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको २१औं पोखरा सडक महोत्सवको निम्तो दिन पोखराका व्यवसायी देश दौडाहामा निस्केका छन् ।

बिहीबार पोखराबाट निस्केको टोली शुक्रबार जनकपुर पुगेर पत्रकार सम्मेलन गरेको छ । पोखरामा सडक महोत्सव १२ पुसबाट सुरु हुँदै छ ।

पर्यटन प्रवर्द्धन गर्न ‘सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिन लागेको रेवानका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भने, ‘प्रत्येक वर्ष मनाउँदै आएको पोखरा सडक महोत्सवमा पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष लक्ष्मण सुवेदीले मौलिक संस्कृतिसँगै सिधा सम्पर्क गराउने उद्देश्यले जनकपुर आएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेलले पोखरा सडक महोत्सव सफल पार्न दुवैतिरका व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।

नाटाका पूर्वअध्यक्ष ओमप्रकाश पाण्डेले सिधा हवाई सेवा तथा बस सञ्चालन गर्ने विषयमा सहकार्य गर्न छलफल सुरु गरेको स्पष्ट पारे । उनले जनकपुरका पर्यटन व्यवसायीलाई पोखराका व्यवसायीसँग सहकार्य गर्न आह्वान गरे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले धार्मिक पर्यटन प्रवर्द्धन गर्न मुक्तिनाथ, पशुपतिनाथ र जानकी मन्दिर धार्मिक परिपथको विकास गर्नुपर्नेमा जोड दिए । उनले भारतीय पर्यटक प्रवर्द्धन गर्न धार्मिक रुट विकासका लागि लाग्न सबैलाई आग्रह गरे ।

पोखराको फिस्टेल गेटदेखि डिहिको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ । खुला सडकमा टेबल कुर्सी निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन् ।

महोत्सव सञ्चालन हुने सडकका दायाँबायाँ रंगरोगन गरी रंगीचंगी ध्वजासहित सिँगारिनेछ । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज, विभिन्न खानेकुराका स्टल, लुगाकपडा, बालउद्यानले सजाइनेछ ।

महोत्सवमा भारतीय, पाकिस्तान र नेपालका संस्कृति झल्किने कार्यक्रमहरु प्रस्तुत गरिनेछ । महोत्सव सञ्चालन हुने क्षेत्रको ३ किलोमिटर अगाडिसम्म स्टलहरु प्रदर्शन, विभिन्न खानाका परिकार, मनोरञ्जन तथा खेलकुद, हस्तकला, साहसिक पर्यटक खेलकुद वृतचित्त, बालउद्यान प्रस्तुत गरिनेछ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु राजु लामा, सविन राई, कर्म ब्यान्ड, अभए एन्ड स्टिम इन्जस, लाहुरे, माउन्ट ८८४८ को लाइभ कन्सर्ट रहनेछ ।

त्यस्तै पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कृष्ण गुरुङ, बद्री पंगेनी, प्रीति आले, राजन गुरुङ, टीका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपति शर्मा, सम्झना भण्डारी, कुमार पुन, पार्वती जिसी, पोख्रेली माग्ने बुढा, दिवाकर भण्डारीको समूह, मनोज गजुरेल र पुर्खे बालगायत कलाकारहरुको प्रस्तुति रहनेछ ।

प्रकाशित समय ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु