गृहपृष्ठ सांसदको हचुवा प्रश्न‑ बजेट आउनुअघि वीरगन्जबाट कसरी भित्रिए डेढ सय विद्युतीय सवारी ?
सांसदको हचुवा प्रश्न‑ बजेट आउनुअघि वीरगन्जबाट कसरी भित्रिए डेढ सय विद्युतीय सवारी ?
वीरगन्ज भन्सारबाट राजस्व असुली लक्ष्यको ५७ प्रतिशतमात्र
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि जेठ १५ गते सार्वजनिक बजेटका विषयमा कतिपय सांसदले हचुवा प्रश्न उठाउने गरेको तथ्य फेलापरेको छ । सोमबारको प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिइसकेपछि प्रस्टीकरणका क्रममा सांसदले सदनमै हचुवामा प्रश्न राखेका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट रुपन्देही ५ का प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य भरतकुमार शाहले ‘सरकारको बजेट आउनुभन्दा केही दिन पहिले डेढ सय विद्युतीय गाडीहरु बीरगन्ज भन्सारबाट भित्रिएको र कर बढ्दै छ भन्ने कुरा कसरी लिक भयो ?’ भन्दै प्रश्न गरे । उनले भने, ‘मन्त्रीज्यूले बिजुलीबाट चल्ने गाडीमा भन्सार बढाउनुभएको छ । सरकारको बजेट आउनुभन्दा केही दिन पहिले डेढ सय विद्युतीय गाडीहरु बीरगन्ज भन्सारबाट भित्रिएका छन्, यो कसरी लिक भयो ? पाँच सय डिजेल पेट्रोलका गाडीहरु भन्सारमा नछुट्ने र यी गाडीहरु रातारात कसरी छुटे ? यो बारेमा मन्त्रीज्यूले छानबिन गर्नुहुन्छ कि हुन्न ?’
जहिल्यै पनि प्रतिपक्षी दल र तिनका सांसदका लागि सरकारका हरेक कामको विरोध गर्नु नै आफ्नो धर्म बन्ने गरेको छ । अहिले नेपाली कांग्रेसको बजेट ल्याएको भए र नपाल कम्युनिस्ट पार्टी प्रतिपक्षीमा भए पनि विरोधका यस्तै स्वर उरालिन्थे । बजेटलाई सत्तारूढ दलले मुक्तकण्ठले प्रसंसा गर्नु र विपक्षीले मनपरी बोल्दै विरोध गर्नु राजनीतिका लागि राजनीति मात्र हो । यद्यपि, सांसद शाहले सही तथ्यांक पक्डिएको भए अर्थमन्त्री डा. युवराज खतिवडाका लागि यो निकै ठूलो नैतिकताको प्रश्न हुने थियो । गलत तथ्यांक समाउँदा सांसदकै गरिमा र विश्वसनीयतामाथि प्रश्न उठेको छ । त्यसमाथि पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले समेत शाहको हचुवा तथ्यको पछि लागेर त्यसको जवाफ माग्न सहयोग गरे ।
वीरगन्जमा रहेका वीरगन्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट दुवैवटा बजेट आउनुअघि त्यति ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्रिएकै छैनन् । वीरगन्ज भन्सार कार्यालयबाट सन् २०२० जनवरीयता जम्मा ६ वटा र सुक्खा बन्दरगाहबाट जम्मा १५६ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाका अनुसार ती विद्युतीय सवारीसाधन पनि एकैपटक भन्सार पास भएका होइनन् । वीरगन्ज भन्सार कार्यालयपरिसरमा डिजेल, पेट्रोलबाट चल्ने ५०० सवारीसाधन किन अड्किए ? भन्ने सांसद शाहीको प्रश्न पनि निराधार छ । ‘भन्सार यार्डमा सामान्य अवस्थामा पनि तीन‑चार सय सवारीसाधन हुन्छन्,’ प्रमुख भन्सार प्रशासक निरौला भन्छन्, ‘अहिले यकिन तथ्यांक त थाहा छैन तर सात‑आठ सय सवारीसाधन हुनुपर्छ ।’
भन्सार यार्डमा यतिबेला सवारीसाधन पास नहुनुको कारण भने वित्तीय व्यवस्थापनको समस्याले हुनसक्ने उनले औँल्याए । ‘लकडाउनका कारण व्यवसायी वित्तीय समस्यामा छन्, त्यस्तै ड्राइभरलगायतका जनशक्ति समस्या होलान्,’ निरौलाले भने, ‘तर सामान्य अवस्थामा तीन‑चार सय सवारीसाधन हुने ठाउँमा अहिलेको विषम परिस्थितिमा सात‑आठ सय हुनुलाई सामान्य नै मान्नुपर्छ ।’
सामान्यतः बजेट सार्वजनिक हुनु एक‑दुई दिनअघि जहिल्यै पनि भन्सार दर हेरफेर हुनसक्ने अनुमानमा अधिकतम व्यापारी व्यवसायीले सामान छुटाउने गरेको भन्सार कार्यालयले जनाएको छ । ‘बजेट आउनुअघि केही बढी सामान पास हुनु सामान्य हो,’ निरौलाले भने, ‘यो वर्ष पनि केही दिनअघिसम्म औसत ५ करोड संकलन भइरहेकोमा अघिल्लो दिन मात्रै १ अर्ब १८ करोड संकलन भएको थियो ।’
सुक्खा बन्दरगाहबाट पनि सन् २०२० का ६ महिनामा जम्मा १५६ वटा सवारीसाधन पास भएका छन् । ‘तीमध्ये एमजी इलेक्टिक वैशाख १५ गते १५ वटा, १६ गते ३० वटा र जेठ ५ गते ७५ वटा गरी १२० वटा भित्रिएका हुन्,’ सुक्खा बन्दरगाहका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले भने, ‘जेठ १४ गते कियाका दुईवटा विद्युतीय सवारीसाधन पास भएका छन् ।’ त्यसअघिका चार महिनामा ३४ वटा सवारीसाधन आयात भएको उनले बताए । भन्सार यार्डमा डिजेल, पेट्रोलबाट चल्ने जम्मा ५‑६ वटा सवारीसाधन रहेको उनले स्पष्ट पारे ।
राजस्व असुली ५७ प्रतिशतमात्र
नेपालको सबैभन्दा ठूलो र बढी भन्सार राजस्व संकलन हुने वीरगन्ज भन्सार कार्यालयबाट हालसम्म ५७ प्रतिशतमात्र राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष भन्सार संकलन लक्ष्य १ खर्ब ७१ अर्ब रहेकोमा यो अवधिमा ७०‑७१ प्रतिशत संकलन भएको प्रमुख भन्सार प्रशासक निरौलाले जानकारी दिए । ‘यो वर्षको सम्भावित क्षमता १ खर्ब ८८ अर्ब हो, त्यस आधारमा दैनिक साढे ५२ करोड संकलन हुनुपर्छ, लकडाउनअघि औसत ४५‑४८ करोड संकलन हुँदै आएकोमा केही दिनअघिसम्म ५ करोड थियो, अहिले १०‑१५ करोड भइरहेको छ ।’ यो वर्ष लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन हुने उनले बताए ।
मूलतः हिजोआज खाद्यान्न, औषधी, गेडागुडी, तरकारी, भुसलगायतका सामान नेपाल भित्रिरहेको तर औद्योगिक कच्चापदार्थ, फलाम, स्टिल, सवारीसाधन, सवारीसाधनका पार्टपुर्जाकालगायतका बढी भन्सार असुली हुने सामान नआइरहेकाले भन्सार असुली बढ्ने र लक्ष्य नजिक पुग्ने गुन्जायसै नरहेको प्रमुख भन्सार प्रशासक निरौलाले स्पष्ट पारे ।
प्रकाशित समय १४:५४ बजे
















