गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैंकले साधारण सभा नगरी लाभांश वितरण गर्ने
सेञ्चुरी कमर्सियल बैंकले साधारण सभा नगरी लाभांश वितरण गर्ने
सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट वितरण गर्ने गरी सञ्चालक समितिबाट स्वीकृत भएको ४.७५ प्रतिशतमध्ये ३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ वितरण गर्न सञ्चालक समितिले स्वीकृत गरे पनि तत्कालका लागि ३ प्रतिशत वितरण गर्न लागेको हो ।
सञ्चालक समितिबाट स्वीकृत लाभांश कोभिड–१९ को महामारीले गर्दा वार्षिक साधारण सभा हुन नसकेका कारण् अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको थियो । विषम परिस्थितिमा सेयरधनीलाई केही राहत महसुस गराउने भन्दै बैंकले स्वीकृत नगद लाभांशको ३ प्रतिशत अर्थात् २५ करोड २४ लाख ६४ हजार १४७ रुपैयाँबाट आवश्यक लाभांश कर कट्टी गरी हुन आउने २३ करोड ९८ लाख ४० हजार ९३९ रुपैयाँ वितरण गर्न लागेको हो ।
बैंकका फागुन ३० गतेसम्म कायम सेयरधनीले अन्तरिम लाभांशको रुपमा रकम प्राप्त गर्नेछन् । बाँकी नगद लाभांश र बोनस सेयर वार्षिक साधारण सभापश्चात वितरण गर्ने बैंकले जनाएको छ । बैंकले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस घोषणा गरेको छ ।
प्रकाशित समय २०:११ बजे

















