गृहपृष्ठ टेलिकम कम्पनीहरूले बेचे ३ करोड ७८ लाख सीम कार्ड
टेलिकम कम्पनीहरूले बेचे ३ करोड ७८ लाख सीम कार्ड
इन्टरनेट ग्राहक २ करोड १५ लाख
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या भर्खरैमात्र ३ करोड पुगेको छ, तर नेपालका टेलिकम कम्पनीहरूले जनसंख्याभन्दा २६ प्रतिशत बढी सीम कार्ड बेचेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा प्रकासित वैशाखसम्मको विवरणअनुसार हाल सञ्चालनमा रहेका नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम), एनसेन र स्मार्ट टेलिकमले कुल ३ करोड ७८ लाख ५४ हजार ७३६ सीम कार्ड बेचेका छन् ।
प्राधिकरणका नियमअनुसार ६ महिनासम्म नचलेको सीम कार्ड निष्क्रिय बनाइ त्यो नम्बर अर्कालाई दिनुपर्ने व्यवस्था छ । यसका बाबजुद प्राधिकरणका प्रतिवेदनमा भने कुल बिक्री भएका सीमकार्ड संख्या जोडेर विवरण निकालिन्छ ।
प्राधिकरणका अनुसार सबैभन्द बढी नेपाल टेलिकमले १ करोड ९४ लाख ३२ हजार ७८१ वटा सीमकार्ड बेचेको छ, यसमध्ये १ करोड ७७ लाख ६० हजार जीएसएम प्रविधिका ग्राहक हुन् भने २ करोड २ लाख १७ हजार सीडीएमए प्रविधिका ग्राहक हुन् ।
फिक्स्ड फोन (पीएसटीएन)का ६ लाख ६४ हजार ८ सय, डब्लूएलएलका १ लाख १९ हजार ग्राहकसहित टेलिकमका ग्राहक २ करोड २ लाख १७ हजार पुगेको प्राधिकरणको एमआईएस प्रतिवेदनमा उल्लेख छ । यो कुल ग्राहक संख्यासहित प्राधिकरणले कुल बजारको ५२.३२ प्रतिशत हिस्सा ओगट्छ ।
अत्यधिक उपयोगमा रहेको जीएसएम प्रविधिका ग्राहकका मात्रै आधारमा पनि टेलिकमले कुल बजारको ४९ प्रतिशत हिस्सा ओगटेको छ । टेलिकमको मुख्य प्रतिष्पर्धीका रूपमा एनसेल देखिएको छ, जसले कुल बजारको ४२ प्रतिशत हिस्सा ओगट्छ भने स्मार्ट टेलिकमले कुल बजारको ६ प्रतिशत हिस्सा ओगट्छ ।
प्राधिकरणका अनुसार वैशाखसम्म एनसेलले १ करोड ६२ लाख ९१ हजार ९९७ वटा र स्मार्ट टेलिकमले २१ लाख ३० हजार वटा सीम कार्ड बेचेको छ ।
इन्टरनेट ग्राहक २ करोड १५ लाख
सूचना तथा सञ्चार प्रविधिको बढ्दो विस्तार र सेवाप्रदायक कम्पनीहरूबीचको तीव्र प्रतिष्पर्धा कारण मुलुकभित्र इन्टरनेट प्रयोगकर्ता पनि २ करोड १५ लाख ७५ हजार ५७७ जना पुगेका छन्, यीमध्ये ७५ प्रतिशतले मोबाइलमा आधारित इन्टरनेट चलाउँछन् भने २४ प्रतिशतले तारयुक्त र १ प्रतिशतले वायरलेस इन्टरनेट चलाउँछन् ।
यो कुल जनसंख्याको झन्डै ७२ प्रतिशतमा पहुँच हो । कुल इन्टरनेट बजारको पनि नेपाल टेलिकमले ४९ प्रतिशत हिस्सा ओगटेको छ भने एनसेलले ३०, इन्टरनेट सेवा प्रदायकहरूले २० र स्मार्ट टेलिकमले १ प्रतिशत हिस्सा ओगटेको छ ।
मोबाइलमा इन्टरेनट चलाउनेहरू कुल १करोड लाख ६१ लाख ७६ हजारमध्ये १करोड लाख १५ लाख २३ हजार जनाले थ्रीजी चलाउँछन भने फोरजी चलाउनेका संख्या केबल ४५ लाख १६ हजारमात्रै छ । दुवै ठूला टेलिकम सेवा प्रदायकहरूले आफ्नो फोरजी कभरेज नेपालका ७७ वटै जिल्लामा पुगेको दाबी गरे पनि फोरजीका ग्राहक कम हुनुले तिनका दाबीमाथि प्रश्न उठाएको छ ।
प्रकाशित समय १९:२२ बजे

















