गृहपृष्ठ भारतीय मिडियाको दुष्प्रचारविरुद्ध राष्ट्रिय एकता खाँचो
भारतीय मिडियाको दुष्प्रचारविरुद्ध राष्ट्रिय एकता खाँचो
विगत केही सातायता भारतीय मिडियामा समाचारका नाममा नाङ्गो प्रहसन चलिरहेको छ । भारतीय मिडियाको प्रकाशन प्रसारणको विषयलाई लिएर स्वयम् भारतभित्रै पनि बेलाबेलामा व्यापक आलोचना हुने गरेको छ । भारतीय मिडियामा पनि दुई धार छ, एउटा धार पत्रकारिताका मूल्य-मान्यता, सिद्धान्तमा चल्ने, अर्को लोकप्रियता (टीआरपी)का लागि पिपली लाइभ वा तैमुर अली पत्रकारिता गर्ने । खासगरी सत्ताको तावेदारी गर्ने मामलामा भारतीय मिडियाहरू अति नै तल्लोस्तरमा उत्रने गरेका छन्, यो कुरा त्यहाँका विपक्षी दलका नेताहरूलाई नङ्ग्याउनका लागि गरिने प्रकाशन प्रसारणलाई हेर्दा थाह हुन्छ । आलोकाँचो स्वभावका अथावा उरन्ठेउला ठिटा प्रवृत्तिका भारतीय टेलिभिजन प्रसारकहरूको चरित्र चित्रण गर्दा स्वयं भारतीय नागरिकहरूले समेत भ्रम फैलाउने र गलत विषयवस्तुलाई समाचारका रूपमा जबर्जस्ती थुपार्ने प्रवृत्तिका रूपमा बुझ्दै आएका छन् । त्यसको झलक पिप्ली लाइभ नामक सिनेमामा प्रष्टरुपमा भारतीय टेलिभिजन प्रसारणहरूको वास्तविक अनुहार देखाइएको छ ।
आफूले आफैलाई नम्बर एक घोषणा गर्ने भारतीय टेलिभिजन प्रसारकहरू नहुँदै नभएका मनगढन्ते कथा बुन्छन्, समाचारका सत्य, सन्तुलन र विश्वसनीयता (एबीसी)का आधारभूत सिद्धान्त किताबको दराजमा थन्क्याएर टीभी समाचार कक्षमा पस्ने भारतीय सम्पादक, संवाददाताहरूबाट पत्रकारिताका आधारभूत मूल्य-मान्यताका अपेक्ष गर्नु नै व्यर्थ हो । अझ आफूलाई चरण राष्ट्रवादी देखाउनका लागि छिमेकी मुलुकहरूको माथि उनीहरूले लगाउने आरोप यति निकृष्ट र लज्जास्पद हुन्छ कि पत्रकारिताको मूल्य मान्यता, सिद्धान्त सबैलाई तिलाञ्जली दिन्छन् । भारतीय पत्रकारिताका इतिहास नेपालभन्दा पुरानो छ र त्यहाँका पत्रकारिताका अध्ययन, अध्यापन पनि नहुने होइन । नेपालकै अघिल्लो पुस्ताका धेरै सञ्चारकर्मीहरू र पत्रकारिताका गुरुहरू भारतमै अध्ययन गरेर आएका हुन । केही अघिसम्म पत्रकारिताका धेरै पाठ्यपुस्तक भारतीय लेखककै हुन्थे । यसको अर्थ भारतका सबै सञ्चारकर्मीहरू तैमुर अली पत्रकारिता नै गर्छन् भन्ने होइन, त्यहाँ पनि जिम्मेवार पत्रकारिता गर्नेहरू छन्, तर उनीहरू ओझेलमा छन् ।
सन् १९९९ को भारतीय विमान अपहरण काण्डमा नेपाल र नेपालीमाथि लगाइएको आरोप अझै उनीहरूले सच्याउन तत्परता देखाएका छैनन् । भारतमा हुने जुनसुकै पनि बम काण्ड अथवा कुनै विध्वंसका अपराधीहरू नेपालमा आएर बस्ने अथवा पाकिस्तानीहरू नेपालबाटै परिचालित हुने भारतीय मिडियाले लगाउने आरोप सामान्य नै भइसक्यो । हालैमात्र कोरोना भाइरसको संक्रमण विस्तार हुँदै गर्दा बाराका एक जना जनप्रतिनिधिमाथि भारतीय मिडियाहरूले कोरोना बम भारतमा फैलाउनका लागि जमातीहरूलाई लागि यहाँ लुकाएर राखेको भन्नेसम्मको निकृष्ट आरोप लगाए । आज भारत विश्वकै सर्वाधिक संक्रमण भएका देशहरूमध्ये तेस्रो स्थान छ, नेपालमा भेटिएकामध्ये अधिकांश संक्रमितहरू भारतबाटै आएको पाइएको छ, यसको अर्थ भारतले नेपालमा कोरोना पठाएको भनिहाल्न मिल्दैन । यसको ठीक उल्टो अवस्था हुन्थ्यो भने भारतीय मिडियाले नेपालमाथि अनेकथरिका आरोप लगाइसकेका हुन्थे । भारतीय मिडियाकर्मीहरूका अल्पज्ञान र पूर्वाग्रहकै कारण दुई देशबीचको सम्बन्ध कटूताको चरणमा पुगिसकेको छ । बेलायती उपनिवेशकालीन दास लघुताभाष बोकेका केही भारतीय टीभीकर्मीले त नेपालीहरूमाथि युद्धका आमन्त्रण गरिसक्दा उनीहरूले भारतको सुरक्षामा गोरखा सैनिकका अपरिहार्य उपस्थिति बिर्सिसके ।
नेपालले आफ्ना एक ऐतिहासिक प्रमाण, कागजात र नक्साहरूका आधारमा लिम्पियाधुरा-लिपुलेक-कालापानी सहितको नक्सा जारी गरेपछि भारतीय संस्थापन पक्षको मुटुमा तीर हानेजस्तो भएको छ र त्यहाँको साउथ ब्लकले भारतीय मिडियालाई अनौपचारिक रुपमा परिचालन नै गरेर नेपालविरुद्ध, नेपालका प्रधानमन्त्रीविरुद्ध र यहाँका राजनीतिक दलका नेताहरुविरुद्ध निकृष्ट प्रचारबाजी गर्न लगाइरहेको छ । पछिल्लो समयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चिनिया राजदूत होउ यान्छीको मायाजालमा बसेको भन्ने समेतका निकृष्ट आरोप भारतीय मिडियाले लगाइरहँदा नेपाल सरकारले औपचारिकरुपमा यसको आपत्ति जनाउन नसक्नु अर्को लाचारीको विषय भएको छ । नेपाली मिडियाले अन्तर्राष्ट्रिय इन्टरनेट प्लेटफर्ममा उपलब्ध भइसकेको माओलाई माक्स लगाएको प्रतिकात्मक फोटो प्रयोग गर्दा सरकारी सञ्चारमाध्यममा काम गर्ने चिनियाँ पत्रकारदेखि स्वयं चिनियाँ राजदूतावासले नेपाली मिडियामाथि भारतपरस्त भएको भन्दै विज्ञप्ति निकाल्न सक्ने तर भारतीय मिडियाले स्वयं राजदूत जस्तो गरिमामय पदमा रहेको व्यक्तित्वलाई हनीट्रयाप शब्द प्रयोग गरेर प्रचारबाजी गरिरहँदा चिनियाँ पक्षको मौनता पनि आश्चर्यलाग्दो छ ।
नेपालका उपप्रधानमन्त्री भइसकेका उपेन्द्र यादवले चिनिया राजदूतको हनीट्रयापमा प्रधानमन्त्री फसेको भनेर भारतीय टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिएका छन् । उनले आफूले यस्तो अन्तरवार्ता नदिएको भनेर खण्डन गरे पनि टेलिभिजनमा आवाजमा छेडछाड गरिएको देखिँदैन । भारतीय मिडियामा बोल्न पाए भन्दैमा नेपालका खासगरी मधेसको राजनीतिमा संलग्न भएका केही नेताहरू जे पनि बोल्छन् भन्ने कुराको विगतदेखिकै उदाहरणले पुष्टि गरेको छ । समाजवादी पार्टीले उपेन्द्र यादवको भनाइमाथि प्रष्टीकरण जारी गर्नै पर्छ ।
अहिले निजी टेलिभिजन प्रसारकहरूको तर्फबाट आफूले स्वःस्फूर्त रुपमा जुन तरिकाले भारतीय समाचार च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन्, यो स्वागतयोग्य छ, यसलाई केवल टेलिभिजन महासंघसँगै सरकारले समेत औपचारिकता प्रदान गर्नुपर्छ । नेपाली विज्ञापन व्यवसायीहरूले यो लामो समयदेखि विदेशी च्यानलहरूमा विज्ञापनरहित क्लिनफिड प्रसारणको माग गर्दै आएका छन् । सरकारले यस सम्बन्धमा नीतिगत व्यवस्था गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन फलाम तातेकै बेला हथौडा प्रहार गर्नुपर्छ भन्ने नेपाली उखान जस्तै तत्कालीक लोकप्रियताका लागि केही भारतीय सामाचार च्यानलहरू प्रसारण रोकेर मात्र समस्या समाधान हुँदैन । तत्कालैबाट लागू हुने गरी सबै विदेशी च्यानलमा क्लिनफिड नीति कार्यान्वयनमा ल्याउनु पर्छ । यसका साथै, प्रेस काउन्सिल नेपालले आफ्नो भारतीय समकक्षी प्रेस काउन्सिल अफ इन्डियालाई पत्राचार गरेर पत्रकारिताको न्यूनतम आचारसंहिता, मूल्यमान्यताविपरीत समाचार प्रसारण गर्ने सबै भारतीय सञ्चारमाध्यमहरूलाई कारबाहीका लागि सरकारी तहबाटै जोडदार माग गर्नुपर्छ । यदि भारतीय पक्षले कारबाही बिलम्ब गरे भने यसलाई अन्तर्राष्ट्रिय प्रेस काउन्सिलसम्म उठाएर भारतीय पक्षलाई नङ्ग्याउन पर्यो भने पनि पछि पर्नु हुँदैन । सरकारको तहबाट पनि औपचारिक रुपमानै भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा उभ्याएर सरकारले आजैका मितिमा आपत्ति जनाउनु आवश्यक भइसकेको छ, नत्र भने यो हेपाहा प्रवृत्ति सदैव कायम रहिरहने छ ।
प्रकाशित समय ११:५८ बजे

















