गृहपृष्ठ एनसेलले सुरु गर्‍यो वायर फ्री प्लस वाइफाइको प्रि-बुकिङ

एनसेलले सुरु गर्‍यो वायर फ्री प्लस वाइफाइको प्रि-बुकिङ

निजी क्षेत्रको टेलिफोन सेवाप्रदायक कम्पनीले एनसेल प्राइभेट लिमिटेडले नयाँ थिम ‘प्लस’ अन्तर्गत वायर फ्री प्लस वाइफाइ सेवाको बुकिङ सुरु गरेको छ । एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने दाबीसहित गुणस्तरीय र भरपर्दो वायर फ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको हो ।

सेवा लिन इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क या नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । वायर फ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवाअन्तर्गत ग्राहकले दुई वटा सिमकार्ड, प्रत्येक सिममा पाँच जिबी डेटा, एनसेल नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हंगामा म्युजिक, दामी म्युजिकलगायतका डिजिटल कन्टेन्टहरु पर्छन् ।

कम्पनीले गोल्ड, प्लाटिनम र डायमन्ड गरी तीनवटा समूहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठूलो डेटा भोलुमसँगको बन्डलिङसहित प्रि‑बुकिङ लिने जनाएको छ । ग्राहकले आवश्यकताअनुसार कुनै पनि समूहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनका प्याकेज लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने ७९९ (कर बाहेक) बाट सुरु हुने एनसेलले जनाएको छ ।

प्याकेजको समयसीमाअनुसार ग्राहकले एकपटक मात्र तिर्नुपर्ने ग्राहक शुल्क ५००, वा २  हजार ५०० वा ३ हजार ५०० रुपैयाँ तिर्नुपर्छ । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा यो शुल्क छुट गरिएको छ । ग्राहकले लिने प्याकेजअनुसार यी प्याकेजअन्तर्गत पाइने सेवा हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गरी नसकेको वा बाँकी सेवा अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन ।

वायर फ्री प्लस वाइफाइ सेवाबारे एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकलाई आवश्यकताअनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु कम्पनीको उद्देश्य भएको बताए । ‘हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्समार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन् भन्ने सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने, ‘यस वायर फ्री प्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने विश्वास छ ।’

सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्मका ४० जिल्लामा यो सेवा उपलब्ध हुने एनसेलले जनाएको छ । कम्पनीका अनुसार विशेष योजनाअन्तर्गत बुकिङ सीमित अवधिका लागि मात्र ल्याइएको हो ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुका साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको विश्वास छ ।

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु