गृहपृष्ठ सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा ज्ञान केन्द्र स्थापना

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा ज्ञान केन्द्र स्थापना

सुदूरपश्चिमका नौ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना भएका छन् । प्रदेश सरकार स्थापनापछि एक कार्यालयले दुईवटा जिल्ला हेर्ने गरी ज्ञान केन्द्र स्थापना भएका थिए । सेवाग्राहीलाई सेवा लिन समस्या भएपछि साउन १ गतेदेखि सबै जिल्लामा कार्यालय स्थापना गरिएको हो ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरेको हो । किसानको सहजताका लागि सबै जिल्लामा विज्ञ केन्द्र र ज्ञान केन्द्र स्थापना गर्दै सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री विनिता चौधरीले बिहीबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र कैलालीको कार्यालय उद्घाटन गरिन् । कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले समयमै कृषिका योजना सम्पन्न गर्न प्रदेशका नौ वटै जिल्लामा कृषि कार्यालय स्थापन गरिएको बताइन् । उनले प्रदेशका कृषि ज्ञान केन्द्रमा तत्काल प्राविधिक जनशक्ति व्यवस्थापन गरिने जानकारी गराइन् ।

चालू आर्थिक वर्षका योजनालाई यसै महिनाबाट अगाडि बढाइने भन्दै उनले कृषिमा लगानी बढाएरमात्रै रोजगारी सिर्जन गर्न सकिने तर्क गरिन् । ‘कोरोना महामारीले प्रभावित बनेको अर्थतन्त्र माथि उकास्न कृषिको विकल्प छैन,’ मन्त्री चौधरीले भनिन्, ‘त्यसका लागि परम्परागत कृषिलाई आधुनिकीकरण गरेर लैजान जरुरी छ ।’

कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा र बझाङमा यसअघि नै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएका थिए । साउन १ गतेबाट कैलाली, डोटी र दार्चुलामा पनि कार्यालय स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु