गृहपृष्ठ मौद्रिक नीतिले व्यवसायीलाई राहत : नेपाल हस्तकला महासंघ
मौद्रिक नीतिले व्यवसायीलाई राहत : नेपाल हस्तकला महासंघ
नेपाल हस्तकला महासंघले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि जारी मौद्रिक नीतिको स्वागत गरेको छ । महासंघले दिएका विभिन्न सुझावहरुमध्ये केहीलाई मौद्रिक नीतिले सम्बोधन गरेको महासंघले जनाएको छ ।
अहिलेको अवस्थामा आर्थिक वर्ष ०७७/७८ को बजेटमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्नेगरी व्यवहारिक विषयवस्तुलाई समेत सम्बोधन गरी मौद्रिक नीति जारी गरिएको संघले उल्लेख गरेको छ । मौद्रिक नीतिले निर्यातमुलक हस्तकला उद्योग व्यवसायलाई सम्बोधन गरेको, कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा व्यवस्था गरिनुलाई महासंघले सकारात्मक रुपमा लिएको छ । यस्तै २०७७ असार महिनासम्म भुक्तानी अवधि रहेका डिमाण्ड लोन, क्यास क्रेडिट लगायतका अल्पकालीन चालु पुँजी कर्जाहरुलाई २०७७ पुस महिनासम्म भुक्तानी गर्नेगरी नवीकरण गर्न मिल्ने व्यवस्था मौद्रिक नीतिमा गरिनु स्वागतयोग्य भएको महासंघले जनाएको छ ।
मध्यम र अतिप्रभावित पेशा व्यवसायमा प्रभावित भएको कर्जाको सावा, किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्त, चैत्र मसान्त र असार मसान्तसम्म भुक्तानी गर्नसक्ने व्यवस्थाले राहत मिलेको महासंघले जनाएको छ । यस्ता व्यवस्थाले निर्यातकर्ताहरुको निकासी अर्डर रद्ध भएको, उत्पादित सामानहरु विक्री हुन नसकेको अवस्थामा व्यवसायीहरुलाई राहत मिलेको संघले उल्लेख गरेको छ ।
विदेशी मुद्रा प्राप्त भएपछि नेपाली निर्यातकर्ताहरुको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र जारी गर्नुपर्ने समय १ महिनाबाट बढाएर ४ महिना कायम गर्ने व्यवस्थाले निर्यातकर्ताहरुको लागि सहयोगी भूमिका खेल्ने महासंघको विश्वास छ । त्यस्तै नेपाली निर्यातकर्ताले सम्बन्धित निकायको स्वीकृति लिई विदेशमा विभिन्न व्यापार मेला, प्रदर्शनी आदिमा नेपाली वस्तु व्यापार गरेबापत प्राप्त नगत नेपालस्थित बैक तथा वित्तीय संस्थामा जम्मा गर्न व्यवसायीहरुलाई सजिलो हुनेसमेत महासंघको अपेक्षा छ ।
करिब २० अर्ब रुपैयाँ हाराहारीमा राष्ट्र अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको हस्तकला उद्योग व्यवसायको संरक्षणको लागि मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने विषयहरु समावेश गरी महासंघले बैंकलाई सुझाव प्रदान गरेको थियो । महासंघको अध्यक्ष सुरेन्द्रभाई शाक्यको नेतृत्वमा पूर्वअध्यक्षहरु, पदाधिकारीहरु, अग्रणी निकासीकर्ता लगायतको टोलीले गर्भनर महाप्रसाद अधिकारीलाई सुझाव प्रदान गरेको थियो ।
प्रकाशित समय १८:२६ बजे

















