गृहपृष्ठ एलआईसी नेपालको १५ अर्ब बिमा शुल्क संकलन

एलआईसी नेपालको १५ अर्ब बिमा शुल्क संकलन

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले गत आवको चौथो त्रैमासिकसम्मा १४ अर्ब ८३ करोड ८५ लाख २५ हजार २९१ रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्ष १३ अर्ब ३४ करोड ७१ लाख १७ हजार ३७६ रुपैयाँ संकलन गरेको कम्पनीले प्रतिकूल अवस्थामा पनि बिमा शुल्क संकलन करिब डेढ अर्ब बढाएको हो ।

एलआईसी नेपालको शुक्रबार प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको कुल बिमा शुल्क आर्जन १४ अर्ब ९२ करोड ३८ लाख ५९ हजार छ । अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ४१ करोड १७ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा एलआईसीले तीन अर्ब ७४ करोड पाँच लाख ७१ हजार ९५६ रुपैयाँ दाबी भुक्तानी गरेको छ । मृत्यु दाबी भुक्तानी तथा परिपक्वपश्चात गरिएको दाबी भुक्तानी अघिल्लो वर्ष तीन अर्ब ३४ करोड ९४ लाख १५ हजार ३३८ रुपैयाँ थियो । त्यस्तै कम्पनीको भुक्तानी हुन बाँकी रकम २० करोड २८ लाख १८ हजार ४० रुपैयाँ छ । अघिल्लो वर्ष दाबी भुक्तानी हुन बाँकी रकम १४ करोड ३३ लाख ८४ हजार १३० रुपैयाँ थियो ।

कम्पनीले सञ्चालन अवधीमा ११ करोड ९७ लाख ९१ हजार ९६४ रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा १६ करोड हाराहारी थियो । गत आवसम्ममा कम्पनीले ७ लाख ६२ हजार १६३ वटा बिमालेख जारी गरेको छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु