गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकको नाफा साढे ४ अर्ब
राष्ट्रिय वाणिज्य बैंकको नाफा साढे ४ अर्ब
राष्ट्रिय वाणिज्य बैंकले गत वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५९ करोड कम हो । अघिल्लो वर्ष बैंकले पाँच अर्ब चार करोड ६५ लाख २० हजार ३७८ रुपैयाँ नाफा गरेको थियो ।
सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष ब्याज, कमिसन तथा अन्य आय गरी खुद १० अर्ब रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । नौ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार १० अर्ब ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।
बैंकले १७ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ७ अर्बभन्दा बढी निक्षेप जम्मा गरेबापत ब्याजमा खर्च गरेको छ । बैंकले अघिल्लो वर्ष चार अर्ब ९७ करोड ९३ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो । बैंकले फि र कमिसनबापत करिब ६५ करोडभन्दा बढी कमाएको छ । बैंकको ब्याज खर्च अघिल्लो वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले बढेको छ । बैंकको खराब कर्जा सामान्य घटेको छ । अघिल्लो वर्ष ४.७९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.०८ प्रतिशत भएको छ ।
प्रकाशित समय १६:३६ बजे

















