गृहपृष्ठ इन्स्योरेन्स कम्पनीबाट दाबी भुक्तानीमा किन हुन्छ ढिलाइ ?

इन्स्योरेन्स कम्पनीबाट दाबी भुक्तानीमा किन हुन्छ ढिलाइ ?

इस्योरेन्स भन्नेबित्तिकै हरेकको दिमागमा एउटा कुरा घुम्छ, त्यो हो दाबी भुक्तानी । कम्पनीहरूले दाबी भुक्तानीमा समस्या देखाउँछन्, कागजात पुगेन भनेर दुःख दिन्छन् र ढिलाइ गर्छन् । विगतमा जीवन बिमा कम्पनीहरूलाई बढी लाग्ने गरेको यो आरोपबाट निर्जीवन बिमा कम्पनीहरू पनि अछुतो छैनन् । तथ्यांक हेर्दा भुक्तानीमा समस्या धेरैजसो निर्जीवन कम्पनीमै भएको देखिन्छ । वास्तविकता के हो त ! के बिमा कम्पनीहरूले नियतवश नै दाबी भुक्तानीमा आलटाल गर्छन् ?

बिमा कम्पनीहरू यसमा कत्ति पनि सहमत छैनन् । यी फगत लगाइने गरेका आरोप हुन् । कहीँ सानो समस्या भए कुरा नबुझी गरिने हल्लाका कारण इन्स्योरेन्स इन्डस्ट्री नै बदनाम भइरहेको उनीहरू बताउँछन् । कतिपय अभिकर्ताले ‘बिमित’लाई प्रस्ट नबुझाई बिमा गराउने भएकाले पछि समस्या देखिने गरेको केही बिमा कम्पनीको टिप्पणी छ । कतिपय कम्पनीहरू सर्भेयरका कारण भुक्तानीमा हुने ढिलाइका कारण पनि निर्जीवन बिमा कम्पनीले आरोप खेप्नुपरेको बताउँछन् ।

सानिमा जनरल इन्स्योरेन्सको हालै जारी गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार ८०७ वटा बिमा दाबीबापत ६ करोड ५६ लाख रुपैयाँ भुक्तानी भएको छ भने ४०६ वटा बिमा दाबीबापतको ७ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीका डेपुटी जनरल म्यानेजर प्रविणकुमार कोइराला क्लेम रिपोर्टिङ गर्ने तर डकुमेन्ट नपठाउने गरिएका कारण पनि भुक्तानी हुन बाँकी रहेको हुन्छ । ‘बिमा कम्पनीहरू जोखिम बहनकै लागि स्थापित भएका हुन्, दाबी भुक्तानीमा आलटाल गर्ने भन्ने प्रश्नै हुँदैन,’ उनी भन्छन्, ‘भुक्तानी नगर्ने नियत कुनै कम्पनीले राख्छन् भन्ने मलाई लाग्दैन ।’

उनका अनुसार बिमितले सर्भेयरले माग गरेअनुसारका कागजात नदिँदा भुक्तानीमा ढिलाइ भइरहेको हुन्छ । बिमा कम्पनीहरूले बिमा समितिको नीतिअनुसार सर्भेयरबाटै काम गराउनुपर्ने हुन्छ । यसको मुख्य उद्देश्य स्वतन्त्र हिसाबले हानी नोक्सानी मूल्यांकन होस् र वास्तविक क्षति मूल्यांकन होस् भन्ने हो ।

‘अर्को कुरा अभिकर्ता या मिडिएटरलाई हामीले तालिम दिएका हुन्छौँ । उनीहरूले तालिममा कति बुझ्छन्, बिमा गर्न चाहनेलाई कति बुझाउँछन्, बिमितले कति बुझ्छन्, ‘ डेपुटी जनरल म्यानेजर कोइराला भन्छन्, ‘बिमा गरेका बेला उनीहरूलाई राम्ररी बुझाउने हो भने यस्ता समस्या आउँदैनन् ।’

एनएलजी इन्स्योरेन्स कम्पनीले पनि गत वर्ष ५ हजार ४६५ वटा बिमा दाबी भुक्तानी गरेको छ भने २ हजार ८६२ वटा बिमा दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीका पर्सनल एन्ड इस्टाब्लिसमेन्ट हेड एवं सूचना अधिकारी नौमीनाथ अधिकारी पनि कोइरालाकै जस्तो तर्क गर्छन् । उनका अनुसार कतिपय कागजात पुगिरहेको हुँदैन र कतिपय विमित निवेदन दिने तर फर्किएन नआउने गर्छन् । ‘प्रक्रियामै भएका भुक्तानीलाई पनि बाँकी सूचीमा राखिएको हुन्छ,’ अधिकारी भन्छन्, ‘हामीकहाँ सर्भेयरबाट मूल्यांकन गराउने गरिन्छ, आफ्नै कर्मचारीबाट गराए केही छिटो हुन्छ कि भन्ने लाग्छ ।’  बिमा कम्पनी सम्भावित जोखिम बहनकै लागि स्थापित भएकाले नदिऊँ भन्ने चाहना कसैमा हुन्छ होला भन्ने उनलाई पनि लाग्दैन ।

गत वर्षको विवरणअनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले २९ वटा दाबीमार्फत एक करोड २० लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ भने कुनै पनि दाबी भुक्तानी गर्न बाँकी छैन । कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना सामान्यतः दाबी भुक्तानीमा समस्या नआउने तर्क गर्छन् । जीवन बिमाको हकमा सहजै भुक्तानी हुने तर कहिलेकाहीँ सानो त्रुटिले गर्दा भुक्तानी केही दिन पछाडि धकेलिने उनले बताए ।

‘जस्तो कि बिमा गराएका बेला जन्ममिति खुल्ने कागजात छुटाइयो, अभिकर्ताले जथाभावी मनपरी मिति राखिदियो, स्टाफले पनि गम्भीरतापूर्वक लिएन र विश्वासका आधारमा पोलिसी इस्यु गरिदियो भने पछि समस्या आउन सक्छ,’ सानो उदाहरण दिँदै उनले भने, ‘हामीले यसमा निकै गम्भीरता देखाउने गरेका छौँ, फलतः काजगात पुगेको तीन दिनभित्रै सेटलमेन्ट गर्ने गरेका छौँ ।’

अभिकर्ताको गल्तीका कारण दाबी भुक्तानीमा ढिलाइ हुन्छ भन्नेमा उनी खासै सहमत देखिएनन् । ‘अभिकर्तामा बिमासम्बन्धी सबै कुराको राम्रो ज्ञान हुनुपर्छ तर उसका कारण सबै त्रुटि भएको भन्न मिल्दैन किनकि पोलिसी इस्यु गर्ने बिमा कम्पनीको स्टाफले नै हो । अभिकर्ताका लागि सपोर्टिभ टिम हुन्छ ।’

यस्तै अजोड इन्स्योरेन्स कम्पनीले गत वर्षको विवरणअनुसार १ हजार ९८० वटा दाबीका लागि २२ करोड ५४ लाख ४७ हजार भुक्तानी गरेको छ भने १४३ दाबीका लागि ५ करोड ४७ लाख ४७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री अजोडमा दाबी भुक्तानीमा समस्या नरेहको बताउँछन् । ‘केही प्रोसेसिङमा छन्, कागजात पाएको सात दिनभित्र हामीले दाबी भुक्तानी गर्ने गरेका छौँ,’ उनी भन्छन्, ‘कुनै‑कुनै ठूलो केसमा बोर्डको बैठक बस्न नभ्याउँदा एक महिनासम्म पनि ढिला हुन्छ तर यस्तो निकै कम हुन्छ ।’ अजोडमा लामो समयदेखि अड्किएका फाइल नभएको उनले स्पष्ट पारे ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्ष ५२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको र २ करोड १७ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीका डेपुटी सिइओ होमबहादुर श्रेष्ठ क्लेम परेपछि लिस्टमा राखिने तर कागजात जुटाउँदा भुक्तानीमा केही समय लाग्ने भएकाले बाँकी देखिएको बताउँछन् । ‘तर ९९ प्रतिशत क्लेम सेटलमेन्ट हुने गरेको छ, मुख्यतः बिमितले कागजात नपुर्‍याएकै कारण केही ढिला हुन्छ,’ उनले भने ।

कहीँ सानो समस्या भए कुरा नबुझी गरिने हल्लाका कारण इन्स्योरेन्स इन्डस्ट्री नै बदनाम भइरहेको बिमकहरू बताउँछन् ।

अर्को कुरा अहिले पनि नेपालमा बुझेर, जानेर बिमा गर्नेहरू ५ देखि १० प्रतिशतमात्र हुने र बाँकी सबै चिनजानका आधारमा हुने भएकाले दाबी भुक्तानी प्रोसेसमा बिमितबाटै ढिलाइ हुने उनले स्पष्ट पारे । ‘जानेर, बुझेर बिमा गरेकाहरुको हकमा कुनै समस्या हुँदैन,’ डेपुटी सिइओ श्रेष्ठ भन्छन्, ‘बिमा कम्पनीहरू दाबी भुक्तानीका लागि सधैँ गम्भीर हुन्छन् ।’

अपरिपक्व एजेन्टका कारण कहिलेकाहीँ ठूलो समस्या आउने बताए । बिमा समितिले तोकेको गाइडलाइन र पाठ्यक्रमअनुसार अभिकर्ताले १८‑२० घण्टाको तालिम लिनुपर्छ । त्यसमा अभिकर्ताको आचारसंहितादेखि क्लाइन्टसँगको व्यवहार, जानकारी गराउनुपर्ने कुरा सबै हुन्छ । ‘यसमा केही लापर्बाही पनि भएको पाइन्छ,’ श्रेष्ठ भन्छन्, ‘अभिकर्ता कोड हतारिएर वितरण गरिएका कारण पनि समस्या भएको हुनसक्छ ।’

सिटिजन्स लाइफ इन्स्योरेन्सले गत वर्ष ११५ वटा दाबीबापत १३ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३७ दाबीबापत २ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी लाइफ इन्स्योरेन्समा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने बताउँछन् ।

‘प्रोसेसमै समय लाग्छ, कसैको मृत्यु भएमा जानकारी तल्काल गराइन्छ तर काजकिरियाका प्रक्रिया पूरा गरेर दाबीका कागजात लिएर आउँदा समय लागिहाल्छ,’ उनी भन्छन्, ‘नपाउने भन्ने हुँदै हुँदैन ।’ वित्तीय विवरणमा बाँकी देखिएका सबै ३७ वटै दाबी प्रोसेसिङमा छन् ।’

त्यस्तै एभरेस्ट इन्स्योरेन्स कम्पनीले पनि ४ हजार १५६ वटा दाबीमार्फत ४९ करोड १ लाख ७९ हजार भुक्तानी गरेको छ । वित्तीय विवरणअनुसार २ हजार ८६१ वटा दाबीबापतको ९९ करोड ४५ लाख ६१ हजार भुक्तानी हुन बाँकी छ । त्यस्तै अन्य बिमा कम्पनीको पनि बाँकी दाबी भुक्तानी धेरै छ ।

विकासशील राष्ट्रका बिमा तथा पुर्नबिमा कम्पनीहरुको संगठन  (एआईआरडिसी) का अध्यक्ष एवं नेपालकै पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह साधारणतया भुक्तानी प्रक्रियामै समय व्यतित हुने बताउँछन् । ‘कतिपय दाबीमा तत्कालै भुक्तानी भइरहेको हुन्छ तर धेरै दाबीमा सर्भेयर नियुक्त गर्नुपर्ने, घटनास्थलसम्म पुग्नुपर्ने, स्वतन्त्र ढंगले मूल्यांकन गर्नुपर्नेलगायत कारणले ९० दिनसम्म बित्ने गरेको हाम्रो अनुभवले देखाउँछ,’ उनी भन्छन्, ‘अहिले दाबी भुक्तानी पेन्डिङ जस्तो देखिनुको प्रमुख कारण कोरोना पनि हो, कोरोनाका कारण सबै ठाउँमा सहज एक्सेस हुन पाएको छैन ।’

कोरोना बिमाको भुक्तानी भने एक‑दुई दिनमै हुने गरेको दृष्टान्त उनले दिए । ठूला दाबीमा पनि सर्भेयरले पूर्ण प्रतिवेदन बुझाएपछि बिमा समितिको भुक्तानी मार्गदर्शनको दायराभित्रै रहेर सेटलमेन्ट गराइने उनले स्पष्ट पारे ।

बिमा समिति के भन्छ ?

वित्तीय प्रतिवेदनअनुसार इन्स्योरेन्स इन्डस्ट्रीका करिब सबै कम्पनीको केही मात्रामा दाबी भुक्तानी बाँकी छ । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल शीघ्र भुक्तानीका लागि कानुनी मापदण्ड भए पनि भुक्तानीमा कहिलेकाहीँ ढिलाइ हुने गरेको बताउँछन् । ‘मुख्य समस्याचाहिँ कागजात संकलनमै भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘निर्जीवन बिमाको हकमा सर्भेयरले १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने, त्यसपछि फुल प्रतिवेदन बुझाउने र फुल प्रतिवेदन बुझाएको २१ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने कानुनी प्रावधान छ ।’

फुल प्रतिवेदनका लागि समय नतोकिएकाले कहिलेकाहीँ सर्भेयरबाटै ढिलाइ हुने गरेको पाइएकाले पाँचवटा भन्दा बढी सर्वे प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा पुनः सर्भेयर नियुक्त गर्न नपाइने प्रावधान राखिएको पौडेलले जानकारी दिए । सर्भेयरले फुल प्रतिवेदन दिएको २१ दिनभित्र दाबी भुक्तानी भएन अथवा मूल्यांकनमा चित्त बुझेन भने निर्क्योल गर्ने पहिलो ‘प्राविधिक अदालत’ बिमा समिति जान दुवै पक्षका लागि बाटो खुला हुनेछ ।

बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ अनुसार जीवन बिमाको हकमा बिमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बिमालेख तथा परिचय खुल्ने कागजातहरूसहित भुक्तानी लिन आउन सूचना जारी गर्नुपर्ने व्यवस्था छ । बिमितले पेस गरेको कागजात आवश्यक जाँचबुझ गरी निवेदन दर्ता गरेको सात दिनभित्रमा दाबी भुक्तानी दिनुपर्नेछ ।

तर, बिमालेखको बिमा अवधि समाप्त हुनुअगावै बिमितको मृत्यु भएमा इच्छाएको व्यक्ति भए इच्छाएको व्यक्तिले र इच्छाएको व्यक्ति नभए ऐनमा भएको व्यवस्थाअनुसार सबैभन्दा नजिकको हकवालाले आवश्यक कागजातसहित निवेदन दिएको १५ दिनभित्र दाबी फर्छ्योट पुर्जा जारी गर्नुपर्ने र पुर्जामा बिमितले सही गरेको १५ दिनभित्र भुक्तानी गर्नुपर्नेछ ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु