गृहपृष्ठ विवाद समाधानका लागि अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन

विवाद समाधानका लागि अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन

फाइल तस्बिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।  कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वयले बिहीबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कार्यदल सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

पार्टीमा देखिएको समस्या समाधान र संकटको निकासका लागि सुझाव पेश गर्नका गठन भएको कार्यदललाई यथासक्य छिटो प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ । कार्यदलले देशमा र पार्टीमा देखिएको समस्या समाधान हुनेगरी पार्टी र सरकारलाई सक्षम पार्नेगरी सुझाव पेश गर्ने आशाका साथ शुभकामना दिएको प्रवक्ता श्रेष्ठले बताए ।

कार्यदलले विवाद समाधानका लागि तयार पार्ने प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र त्यसपछि बैठकमा पेश हुने बताइएकाे छ । कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

सरकारले पार्टी विभाजन र संवैधानिक आयोग गठनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद उत्पन्न भएको थियो । चाैतर्फी विरोध भएपछि उक्त दुवै अध्यादेश सरकारले फिर्ता लिए पनि नेकपाको आन्तरिक विवाद भने झनै उत्कर्षमा पुगेको हो । ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहको माग थियो । ओलीले भने राजीनामा नदिने बरू जस्तोसुकै चुनाैतीकाे पनि सामना गर्ने बताएका थिए ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु