गृहपृष्ठ एनआईसी एसिया बैंकद्वारा कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु
एनआईसी एसिया बैंकद्वारा कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु
देशभर शाखा सञ्जालमार्फत् आफ्ना ग्राहकलाई सेवा दिदै आएको एनआइसी एसिया बैंकले आफ्नो डिजिटल पहिलो बैंक बन्ने रणनीतिअनुरुप कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ ।
बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबर सोर्स भुक्तानीको गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।
अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको यस साइबर सोर्सको गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो । अमेरिका, चीन, भारतलगायत एसिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको बैंकले जनाएको छ ।
यस सुविधामार्फत् ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआइसी एसिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित इकमर्श ट्राभल एन्ड टुर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकलालगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।
नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पुर्याउदै यस बैंक आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंतिमा रहिआएको छ । यस पेमेन्ट गेटवे प्रविधिमार्फत् बैंकले आफ्ना मर्चेन्ट तथा सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आएको डिजिटल सेवालाई थप प्रगाढ बनाएको छ । यस गेटवे प्रणालीबाट हालका लागि भिसा कार्डमार्फत् कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै मास्टर्स कार्ड, युनियन पेलगायतका कार्डमार्फत् कारोबार गर्न सकिने तयारी गरिरहेको छ ।
डिजिटल पहिलो बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहकको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको बताइएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशतसहित कुल ८ लाख ६६ हजार पुर्याएको छ । साथै मोबाइल बैंकिङमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशतसहित कुल १२ लाख १ हजार पुर्याएको छ । त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशतसहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पुर्याएको छ । साथै बैंकले १५ हजार भन्दा बढी क्यूआर मर्चेन्ट र करिब ४ हजार पीओएस मर्चेन्टमार्फत् ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब एक अर्ब ८७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधीरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १४:३० बजे

















