गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा कोरोना कोषमा १ करोड ७ लाख रुपैयाँ प्रदान

एनआईसी एशिया बैंकद्वारा कोरोना कोषमा १ करोड ७ लाख रुपैयाँ प्रदान

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकले कोरोनाभाइरस (कोभिड- १९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

‘कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाको लागि आ-आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

बैंकले यसअघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५/१५ लाख गरी कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाख रुपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकारसँगको सहकार्यमा करिब ४८ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको एनआइसी एशिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु