गृहपृष्ठ सिंगो संसार स्वास्थ्यकर्मीको नेतृत्वमा युद्ध लड्दै छ, निरुत्साहित नगरौँ : देउवा

सिंगो संसार स्वास्थ्यकर्मीको नेतृत्वमा युद्ध लड्दै छ, निरुत्साहित नगरौँ : देउवा

sherbahadur_deuba

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंगो संसार कोरोनाभाइरसविरुद्ध स्वस्थ्यकर्मीको नेतृत्वमा लडिरहेकाले उनीहरूलाई निरुत्साहित गर्न नहुने बताएका छन् । ‘आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो,’ विज्ञप्तिमार्फत उनले भने, ‘यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न म सबैलाई आग्रह गर्छु ।’

विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएपछि देउवाले विज्ञप्ति जारी गरी नागरिकलाई संयम रहन आग्रह गरेका हुन् । कांग्रेस सभापति देउवाले प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहनु भन्दै उच्च प्रसंसा गरेका छन् । उनीहरूका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण खलल हुन नदिन उनले सरकारलाई विशेष आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि उनले तीनवटै तहका सरकारलाई पनि सजग गराएका छन् । जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरुसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी एवं गाउँ–सहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाइकर्मीलाई पनि उनले सम्झिएका छन् ।

देशका कयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेकाले जनजीवन कष्टकर बनेको भन्दै देउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल समयमा संयम रही एकताका साथ आजको परिस्थिति सामना गर्न अपिल गरेका छन् ।

सभापति देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले व्यस्थित गर्न सरकारलाई आग्रह गरेका छन् । पिसिआर परीक्षणको दायरा ७७ जिल्लामै बढाउन, कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न र अत्यावश्यक भेन्टिलेटर जोहो गर्न पनि उनले सरकारलाई अपिल गरेका छन् । त्यस्तै क्वारेन्टिनहरु व्यवस्थित नहुँदा कोरोना विस्तारमा योगदान पुगेका घटना स्मरण गर्दै उनले मापदण्डयुक्त क्वारेन्टिन व्यवस्थापनमा अविलम्ब ध्यान पु‑याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले नेपाली जनसम्पर्क समितिहरु तथा देशबाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासलाई प्रतिकूलताको घडीमा डायस्पोराका नेपालीको हितमा ऐक्यबद्ध ढंगले कार्य गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु