गृहपृष्ठ लकडाउनयता बैंकको निक्षेप २ खर्ब ६६ अर्बले बढ्यो, जीडीपीभन्दा बैंकको निक्षेप धेरै
लकडाउनयता बैंकको निक्षेप २ खर्ब ६६ अर्बले बढ्यो, जीडीपीभन्दा बैंकको निक्षेप धेरै
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गत चैत ११ गतेबाट लकडाउन लगाइयो, लगातार पाँच महिना लामो लकडाउनका कारण धेरैले आफ्नो आयआर्जन, पेशा, व्यवसाय गुमाए ।
नियमत आम्दानीका बाटो नहुँदा मध्यम र तल्लो-मध्यम वर्गीयहरूले आफ्नो बचत र सरसापटबाट जीविकोपार्जन गर्न बाध्य भइरहेको विभिन्न अध्ययनले देखाए पनि बैंकिङ क्षेत्रको बचत भने यसबीचमा २ खर्ब ६६ अर्ब रूपैयाँले बढेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत असार मसान्तसम्मको बैंकिङ तथ्यांकअनुसार चैत मसान्तमा बैंकिङ क्षेत्रको कुल निक्षेप ३६ खर्ब ६८ अर्ब रूपैयाँ रहेकोमा असार मसान्तमा यो रकम ३७ खर्ब ३४ करोड रूपैयाँ पुगेको छ, यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १०४.४३ प्रतिशत हो ।
लामो अवधिका लडकडाउनका कारण बैंकिङ क्षेत्रबाट हुने ऋण लगानी भने खुम्चिएको छ । चैतदेखि असारका बीचमा बैंकिङ क्षेत्रबाट जम्मा ५ अर्ब रूपैयाँमात्रै कर्जा प्रवाह भएको राष्ट्र बैंकको विवरणले देखाउँछ ।
चैत मसान्तसम्म बैंकिङ क्षेत्रबाट ३२ खर्ब ६८ अर्ब रूपैयाँ कर्जा प्रवाह भएकोमा असार मसान्तसम्म जम्मा ३२ खर्ब ७३ अर्ब रूपैयाँमात्रै कर्जा प्रवाह भयो ।
बैंकिङ क्षेत्रबाट कम कर्जा प्रवाह हुनु देशमा आर्थिक मन्दी गहिरिएको सूचक हो । बैंकिङ क्षेत्रबाट जति धेरै कर्जा प्रवाह भयो देशभित्र त्यति नै धेरै आर्थिक क्रियाकलाप पनि फस्टाउँछ । पाँच महिने लकडाउन अवधिमा पूरै आर्थिक क्रियाकलाप ठप्प हुँदा त्यसले बैंकिङ क्षेत्रको कर्जा प्रवाहमा पनि असर पारेको हो ।
कोराना भाइरस संकटसँगै बैंकिङ क्षेत्रमा निक्षेप संकलन हुँदै गइरहेको तर लगानी गर्ने ठाउँ नपाउँदा अहले बैंकिङ प्रणालीमा २ खर्ब २ अर्ब रूपैयाँ अधिक तरलता थुप्रिएको छ । बैंकिङ क्षेत्रमा पैसा पनि भएको तर लगानी हुनै नसक्ने अवस्था बढ्दै गएसँगै अर्थतन्त्र ‘प्यारालाइज’ भएको छ । यसले देशको आर्थिक वृद्धिलाई समेत खुम्च्याउँछ ।
बैंकिङ क्षेत्रमा तरलता बढ्दा त्यसले सर्वसाधारणले पाउने ब्याजदरमा असर पार्छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बचत खाताको औसत ब्याजदर ४.१६ प्रतिशत रह्यो भने मुद्दती खाताको औसत ब्याजदर ९ प्रतिशत थियो । सबै किसिमका निक्षेपका औसत ब्याजदर ६ प्रतिशत रहँदा बैंकहरूले लिने कर्जाको औसत ब्याजदर भने १०.११ प्रतिशत थियो ।
गत आर्थिक वर्ष २०७६/७७ भरिमा देशको वित्तीय प्रणालीमा ६ खर्ब १ अर्ब रूपैयाँ निक्षेप थपियो भने बैंकिङ प्रणालीबाट ३ खर्ब ९३ अर्ब रूपैयाँमात्रै कर्जा प्रवाह भएको छ । बैंकिङ क्षेत्रमा रहेको कुल निक्षेपमध्ये ५६ प्रतिशत मुद्दती, २६.८५ प्रतिशत बचत, २.४४ प्रतिशत चल्ती र १२ प्रतिशत कल डिपोजिटले ओगटेको छ ।
पछिल्लो समयमा बैंकहरूले बचत खातामा भन्दा लामो अवधिको मुद्दती र तत्कालीक कारोबार बढाउने कल डिपोजिटमा ध्यान दिएका कारण अहिले बचत खाताका अनुपात घटेको हो ।
अहिले देशभरिका २७ क वर्गका वाणिज्य बैंक, ख वर्गका २० विकास बैंक र ग वर्गका २२ वित्त कम्पनी गरी ६६ बैंक-वित्तीय संस्थामा ०७७ असार मसान्तमा ३ करोड २४ लाख ५४ हजार २०४ बैंक खाता खुलेका छन भने देशभरि मोबाइल बैंकिङका प्रयोगकर्ता १ करोड १३ लाख ६ हजार, इन्टरनेट बैंकिङ प्रयोगकर्ता १० लाख ३१ हजार र एटीएम प्रयोगकर्ता ७३ लाख २९ हजार छ ।
देशभरि बैंक तथा वित्तीय संस्थाबीचको बढ्दो प्रतिष्पर्धा तथा सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने पर्ने बाध्यकारी व्यवस्थासँगै देशभरि बैंकका शाखा संख्या ९ हजार ७६५ पुगेका छन् । एउटा बैंकको शाखाले औसतमा ५ हजार २५५ जनालाई सेवा दिनु पर्छ, यसमा लघुवित्तको संख्यासमेत जोड्दा औसत ३ हजार ७२ जनाले एउटा बैंकका शाखाबाट सेवा पाउँछन् ।
जनसंख्याका अनुपातमा सबैभन्द कम मनाङ र मुस्ताङमा क्रमसः एउटा शाखाले ६३२ र ८२० जनालाई सेवा दिन्छन् भने सबैभन्दा बढी जाजरकोटमा १५हजार २९७, अछाममा १४ हजार ४११, बैतडीमा १४ हजार २८, रौतहटमा १३ हजार ८४७ र बझाङमा १३ हजार ८० जनालाई सेवा दिनु पर्छ ।
प्रकाशित समय १७:२७ बजे

















