गृहपृष्ठ पाँचखाल‑४ का २६ जनाको अजोड इन्स्योरेन्सबाट कोरोना बिमा
पाँचखाल‑४ का २६ जनाको अजोड इन्स्योरेन्सबाट कोरोना बिमा
कोरोना संक्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिका वडा नम्बर ४ ले अजोड इन्स्योरेन्सबाट कोरोना बिमा गर्न स्थानीय बासिन्दालाई सिफारिस गर्ने गरेको छ । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अध्यक्ष सुन्दर तामाङले ‘कोरोना बिमा’का लागि सिफारिस दिन थालेका हुन् ।
‘हामीले जानेकाहरूलाई यो कम्पनीबाट बिमा गर्नुस् भन्दैनौँ, नजानेकाहरूको हकमा सिफारिस बनाएर कार्यालयमै राख्छौँ र अजोड इन्स्योरेन्समा खबर गर्छौं, उहाँहरू आएर डकुमेन्ट लानुहुन्छ र बिमा गरिदिनुहुन्छ,’ उनले भने, ‘सबै कुरा नबुझेका वडाबासीलाई हामीले सहयोग गरेका हौँ ।’
बिमा कम्पनी र सरकारबीच कोरोना बिमाका लागि सहमति भएअनुसार ५० प्रतिशत अनुदानमा कोरोना बिमा हुने गरेको छ । त्यसअनुसार परिवारका सदस्यको बिमा गर्दा बिमितले ५० हजार बिमांक रकमबराबर ३ सय रुपैयाँ र एक लाख बिमांक रकमबराबर ६ सय रुपैयाँ तिर्नुपर्नेमा सरकारले ५० प्रतिशत रकम अनुदान दिएको छ । अनुदान पाएसँगै बिमितले ५० हजारका लागि १५० रुपैयाँ र एक लाखका लागि ३ सय रुपैयाँ प्रिमियम तिरे पुग्नेछ ।
कोरोना बिमाका लागि पाँचखाल नगरपालिका ४ ले सोमबारदेखि सिफारिस दिन थालेको हो । भदौ ८ गतेदेखि १७ गतेसम्ममा २६ जनाले बिमा गराएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
उनले आफ्नो वडाका १२८ एकल महिलाको पनि कोरोना बिमा गराइरहेका छन् । ‘मैले व्यक्तिगत खर्चमा उहाँहरुको बिमा गराउन थालेको छु, एकल महिलाको पहिचान भरी प्रक्रिया अघि बढाइसकेको छु,’ उनले भने । उनीहरूको प्रिमियम सबै अध्यक्ष तामाङले तिर्नेछन् ।
पिसिआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएमा बिमा कम्पनीले एक लाख रूपैयाँ बिमा रकम प्रदान गर्नेछ । त्यस्तै पाँचखालका अन्य वडाले पनि कोरोना बिमा गर्न स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । पाँचखाल २ का अध्यक्ष हरि खतिवडाले कोरोना बिमा गर्दा आर्थिक भार कम हुने भएकाले बिमा गर्न स्थानीयलाई आग्रह गरिएको बताए ।
(यसअघि ‘५० प्रतिशत छुटमा कोरोना बिमा गराउँदै अजोड इन्स्योरेन्स‘ शीर्षकमा राससबाट लिइएको समाचार त्रुटिपूर्ण भएकाले सच्याइएको छ । – सम्पादक)
प्रकाशित समय १७:४९ बजे

















