गृहपृष्ठ पर्यटकीय सम्भावना बोकेको हुम्लामा व्यावसायिक चेतनाको अभाव

पर्यटकीय सम्भावना बोकेको हुम्लामा व्यावसायिक चेतनाको अभाव

अतिथि देवो भव : भन्ने शब्दार्थले नै आगन्तुकलाई सम्मान गर्ने नेपाली परम्पराको स्पष्टका साथ भाव झल्काएको छ । पर्यटनका बारेमा हाम्रा परम्पराहरुमा पनि अनैकौं प्रकारका उक्तिहरु पाइन्छन् । पर्यटन व्यवसायको सुरुवात सदियौंदेखि भए तापनि प्रमाणित रुपमा चार हजार वर्ष पहिले इजिप्टका राजा शुल्गीले आफ्नो राज्यमा आउने यात्रुहरुका लागि चौडा बाटो, राम्रा बगैंचा र आरामगृह बनाएको कुराको अभिलेख नै हालसम्मको पर्यटनको प्रमाणिक पहिलो दस्तावेज हो ।

नेपालको सन्दर्भमा पर्यटन व्यवसायको लागि नेपालको एकीकरणपूर्व र एकीकरणपछि दुई चरणमा हेर्ने गरिए पनि कर्णालीको सन्दर्भ अलि फरक छ । कर्णाली अञ्चल बृहत खस राज्यको आधारखण्ड भएकोले यहाँ राज्यद्वारा नै यात्रुहरुका लागि चल्तीमा ल्याइएका धारा, कुवा, पाटीपौवा, धर्मशाला, बिसौनी, कोसेढुंगा, गुठी तथा धर्मभकारीहरुका अवशेषहरु अझै हाम्रा गाउँघरमा देख्न पाइन्छन् । सिमकोटको दोचादोफर गुठी, चंखेली, मारघोर, नारा तथा छुँउसामा बनाइएका पौवाहरु यसका प्रमाणहरु हुन् ।

कर्णालीको आर्थिक मेरुदण्डको आधार उत्तर दक्षिण राजमार्गको विकास मानिएको थियो । यो राजमार्ग बर्दियाको दानव भूताल, सुर्खेतको काँक्रेविहार, दुल्लुको पाथरनाउली, सिञ्जा, चंखेली, दार्मा, पंखा, मारघोर, सिमकोट, गीरखेल्न, याल्वाङचौर, यारी, नारा, तालाखार, मानसरोवर-कैलास, डिगर्चा हुँदै ल्हासाको पोतला दरबारसम्मको राजमार्गमा वर्षा समयमा उत्तरतिर ७४ प्रकारका सामानहरु र दक्षिणतिर १११ प्रकारका सामानहरुको व्यापार हुन्थ्यो । यसबाट एकातिर धार्मिक पर्यटनको विकास भएको थियो अर्कातिर आर्थोपार्जन हुन्थ्यो ।

हुम्लाको ग्रेन थरापीको स्रोत रातो चिनो ।

यसै सन्दर्भमा कर्णाली प्रदेशको ३६ कर प्रर्णालीमा प्राकृतिक तथा सांस्कृतिक आयाममा प्राकृतिक साधन स्रोतहरुको अति महत्वपूर्ण स्थान र यात्रा वृत्तान्तसँग सम्बन्ध रहेको छ । राजा गगनीराजको यात्रा यसैको एक जिउँदो प्रमाण हो । यसमा यात्राका क्रममा सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक र आर्थिक प्रसंगहरुको बयान गरिएको छ ।

हुम्लामा आन्तरिक रुपमा यात्राका अनेकौं सन्दर्भमा अनेकौं प्रसंगहरु भए पनि यहाँ आधिकारिक रुपमा पर्यटनको कहिले विकास भएको कुराको यकिन लेखोट छैन । हुम्लामा पर्यटनको सुरुवात खस राजाको पालादेखि नै भएको पाइन्छ ।

पर्यटनको शाब्दिक शब्दार्थ :

पर्यटनको शाब्दिक शब्दार्थलाई नियाल्दा यात्रा गर्नु वा घुम्नु हुन्छ । यसरी यात्रा गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ । आफू स्थायी रूपले बसोबास गरिरहेको ठाउँबाट अन्यत्र कतै कुनै उद्देश्य लिएर घुम्छ र त्यहाँ उसले आफूसँग भएको पैसा खर्च गर्छ भने त्यसलाई पर्यटक भनिन्छ । पर्यटक स्वदेशी र विदेशी दुवै हुन सक्छन् । पर्यटक हुनका लागि आफ्नो स्थायी बसोवास भएको ठाउँबाट अन्यत्र गएको, घुम्न गएको ठाउँमा आर्थिक आयका लागि संलग्न नभएको र  घुमफिरमा कम्तीमा पनि २४ घण्टा बिताएको हुनुपर्छ ।

हुम्लाको प्रसिद्ध देवता रामपालको माँडु (मन्दिर) : जसलाई न्यायिक स्थानको रुपमा सम्मान गरिन्छ ।

हुम्लामा पर्यटनको सम्भावना :

प्राकृतिक तथा सांस्कृतिक रुपमा सम्पन्न हुम्लामा अनेकौ प्रकारका पर्यटकीय सम्भावना रहेका छन् । यो विविधता नै यहाँको अनमोल धन हो । जसको सही उपयोगले आय आर्जनको दिगो विकल्प बन्न सक्छ । तर यसका लागि यातायात, आवास, सूचना तथा सञ्चार, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य, खानेपानी, उर्जा लगायतका विभिन्न पूर्वाधारहरुको विकास विस्तार गर्न अति आवश्यक छ ।

यस्ता पूर्वाधारहरूको न्यूनतम रुपमा विकास भएमा आन्तरिक तथा बाह्य पर्यटनको विकास हुने सम्भावना छ । हालको अवस्थामा हुम्लालाई मुख्य रुपमा विभिन्न क्षेत्रमा विभाजन गरी पर्यटन विकासको विस्तार गर्न सकिने देखिएको छ । सिमकोट लिमी, सिमकोट मानसरोवर कैलास, सिमकोट रारा, सिमकोट रानीसैन, सिमकोट चाङला, सिमकोट रलि, सिमकोट नेप्का, सिमकोट बडिमालिका र सिमकोट मारघोर गरी १० क्षेत्रमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

यसका अलवा हुम्ला जिल्लामा विभिन्न प्रकारका पर्यटनका लागि विकास गर्न सकिने प्रवलता रहेको छ । ग्रामीण पर्यटन, समुदायमा आधारित पर्यटन, दिगो पर्यटन, वैकल्पिक पर्यटन, गरिबमुखी पर्यटन, उत्तरदायी पर्यटन, नियन्त्रित पर्यटन, लक्ष्य-निर्धारित पर्यटन, चल्ती पर्यटन र पर्यापर्यटन हुम्लाका पर्यटकीय सम्भावनाका क्षेत्रहरू हुन् । उल्लेखित पर्यटनका विभिन्न किसिममध्ये धेरै किसिमका पर्यटनहरु हुम्लामा प्रचलनमा ल्याउन सकिने भए पनि स्थानीय समुदायहरुको पर्यटन र पर्यटन शिक्षाको पर्खाइमा हुम्लाका कारण पर्यटनको विकास हुन सकेको छैन ।

महाभारतका योद्धा भीमसेनले धनुषबाट फालेको विशालकाय प्रस्तर कला भिउढुंगा

पर्यटन शिक्षाको आवश्यकता :

पर्यटनको विकास र विस्तारका लागि पर्यटक, पर्यटक व्यवसायी, स्थानीय समुदाय र स्थानीय निकायहरुका लागि पर्यटन शिक्षा दिन अति आवश्यक छ । यसका लागि विभिन्न माध्यमहरु प्रयोग गर्न सकिन्छ । जस्तै, पोस्टर, पम्पलेट, साइन बोर्ड, गाइड बुक, सूचना केन्द्र, वृत्तचित्र, संग्रहालय, रेडियो, पत्रपत्रिका, इन्टरनेट, चेतनामुलक कार्यक्रम आदिका माध्यमबाट पर्यटन शिक्षा दिन सकिन्छ ।

हुम्ला उत्तरी सीमा हिल्छाको स्वागत ढोका

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु