गृहपृष्ठ लालीगुँरास सहकारीद्वारा एटीएम सेवा र डेरी उद्योग सुरु
लालीगुँरास सहकारीद्वारा एटीएम सेवा र डेरी उद्योग सुरु
लालीगुरास सहकारी संस्था लिमिटेडले एटीएम सेवा सुरु गरेको छ । पुल्चोकस्थित मुख्य कार्यालयमा स्थापना गरिएको एटीएम बुथको संस्थाको २२औं दिवसको अवसरमा सहकारीका अध्यक्ष अमरदास श्रेष्ठले उद्घाटन गरे ।
करिब २१ हजार सेयर सदस्यले बुधबारबाटै एटीएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटीएम बुथ स्थापना गर्ने सहकारीको योजना रहेको उनले बताए ।
संस्थाले बिहीबारबाटै आफ्नो लगानीमा स्थापना भएको लालीगुँरास दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरेको छ । संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले उद्योगको संयुक्त रुपमा उद्घाटन गरे । चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेको सहकारीले दुग्ध उद्योग समेत स्थापना गरेको हो । उद्योगबाट बिहीबारदेखि दुग्धजन्य पदार्थको बिक्रीसमेत सुरु भइसकेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्यूको बिक्री सुरु गरेको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गर्दै उनले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउँदै लैजाने बताए । ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर सञ्चालन गरेको सहकारीले आफ्ना सेयर सदस्यहरुलाई थप प्रभावकारी सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने बताएको छ ।
संस्थामा हाल २१ हजार सेयर सदस्य छन् । साथै ३ सयभन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । २०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिखेलमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि/कलेज प्रालि, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावरलगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।
प्रकाशित समय १५:१२ बजे

















