गृहपृष्ठ सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ : अर्थमन्त्री
सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ : अर्थमन्त्री
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड- १९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्धन गर्ने बताए । उनले नीतिनियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको फिडब्याक लिएर काम गर्ने प्रतिवद्धता जनाए ।अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहने बताए । ‘आजको छलफल छलफलको अन्त्य होइन, सुरुवात मात्र हो,’ उनले भने ।
उद्योगी तथा व्यावसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताए । अर्थमन्त्री पौडेलले स्रोतको सीमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोहीअनुसार काम गर्दा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे ।
नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले कोभिड- १९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
प्रकाशित समय १७:११ बजे

















