गृहपृष्ठ इक्यान शैक्षिक मेला अनलाइनमार्फत् हुने

इक्यान शैक्षिक मेला अनलाइनमार्फत् हुने

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटकको बृहत् शैक्षिक मेला अनलाइनमार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गतेदेखि ५ गतेसम्म अनलाइनमार्फत् सञ्चालन हुनेछ ।

इक्यानले कोरोना महामारीका कारण समयमा आयोजना हुन नसकेको मेला भौतिक रुपमा उपस्थित हुने अवस्था नभएकाले अनलाइनमार्फत् गरेर भए पनि विद्यार्थी, अभिभावकलाई जानकारी दिने उद्देश्य लिएको बताइएको छ ।

कोरोना भाइरसको महामारीका कारण भौतिक रुपमा उपस्थित हुने अवस्था नरहेकाले अनलाइनमार्फत् बृहत शैक्षिक मेला आयोजना गरी सम्पूर्ण जानकारी दिन लागिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । उनका अनुसार अनलाइन मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, उनीहरुका अभिभावक तथा सरोकारवाला पक्षहरुले सहभागी भइ विभिन्न प्रकारका शैक्षिक जानकारी लिन र जिज्ञासा मेट्न सक्ने बताए ।

‘अनलाइनमार्फत् आयोजना हुने मेलामा विद्यार्थी तथा अभिभावकहरुले विगतमा जस्तै विभिन्न देशमा रहेका विश्वविद्यालय, कलेज, अध्ययनका लागि लाग्ने शुल्क, भिसा प्रक्रिया, छात्रवृत्तिका बारेमा जानकारी लिनुका साथै त्यसका लागि लाग्ने आवश्यक प्रक्रियाबारे जानकारी लिन सक्ने ईक्यानका महासचिव दीपकराज भूसालले जानकारी दिए । उनका अनुसार यसपटक विगतका वर्षमा भन्दा शैक्षिक मेला पृथक हुनेछ ।

‘हाल नेपाल मात्रै नभइ हाम्रा शैक्षिक गन्तव्य भएका मुलुकहरु पनि कोरोना महामारीको चपेटामा छन्, त्यसैले यसपटक विद्यार्थी तथा अभिभावकहरुलाई कोरोनाको कारणले थपिएको चुनौती, त्यसबाट सम्बन्धित देशमा परेको असर र त्यसपछिको सम्भावनाका बारेमा पनि विस्तृत जानकारी दिइनेछ,’ महासचिव भूसालले भने ।

मेलामा एजुकेशन प्रोभाइडर र शैक्षिक मेलामा सहभागी परामर्शदातृ व्यवसायी विच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ । इक्यानले मेलामा विद्यार्थी तथा अभिभावक कसरी सहभागी हुने भन्ने विषयमा विस्तृत रुपमा क्रमश: जानकारी उपलब्ध गराइने ईक्यान मेला विभाग प्रमुख बासुदेव दाहालले बताए ।

कोरोना महामारीका कारण लामो समयदेखि शैक्षिक परामर्श दातृ संस्थाहरु खुल्न सकेका छैनन् भने विद्यार्थीहरु पनि भौतिक रुपमा उपस्थित भएर आवश्यक जानकारी लिन पाएका छैनन् । यस्तो अवस्थामा अनलाइनबाट मेला आयोजना हुने भएपछि घरमै बसेर सबै विद्यार्थी र अभिभावकले यसबारेमा जानकारी लिने अवसर प्राप्त भएको दाहालको भनाइ छ ।

अनलाइन माध्यमबाट आयोजना हुने मेलाको व्यवस्थापन वन अप प्रालिले गर्ने भएको छ । अनलाइन शैक्षिक मेलामा १५० भन्दाबढी कम्पनीको सहभागिता रहने इक्यानले जानकारी दिएको छ ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु