गृहपृष्ठ माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश पारित
माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश पारित
माछापुच्छ्रे बैँकको १०.४ प्रतिशत लाभांश पारित भएको छ । पोखराको होटल पोखरा ग्रान्डमा बिहीबार सम्पन्न बैंकको २२औँं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सेयरधनीलाई चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।
लाभांशमध्ये ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस हुनेछ । बैंकले पुस २ गतेबाट नै सेयरधनीलाई लाभांश वितरण गर्न थालिसकेको जनाएको छ । साधारणसभाबाट माछापुच्छ्रे बैंकको सर्वसाधारण सेयर धनी समूहबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सिर्जना कार्की भट्टराईलाई चार वर्षका लागि सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैँकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड तथा साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक १६० शाखालगायत १४१ शाखारहित बैँकिङ सेवासमेत गरी ३०१ स्थानबाट ग्राहकलाई बैँकिङ सुविधा प्रदान गरिरहेको छ । देशभर बैंकका २०० वटा एटीएम छन् ।
प्रकाशित समय १९:५१ बजे

















