गृहपृष्ठ सुदूरपश्चिममा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि सांसद फकाउँदै ओली समूह
सुदूरपश्चिममा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि सांसद फकाउँदै ओली समूह
सांसद बचाउन प्रचण्ड‑माधव समूहलाई हम्मे
केन्द्रमा नेकपा विभाजनको प्रभाव सुदूरपश्चिम तीव्र बनेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा अहिले पनि प्रचण्ड-नेपाल समूहको बहुमत छ । प्रदेशको मन्त्रीमण्डलमा ओली समूहका एक्ला मन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरिसकेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरी सो मन्त्रालयको जिम्मा मुख्यमन्त्री भट्टले नै सम्हालेका छन् । प्रदेशमा नयाँ मन्त्रीमण्डलका लागि यतिबेला दुइटै समूहले कसरत थालेका छन् ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये ३९ जना प्रदेशसभा सदस्य नेकपाका थिए । ३९ जना प्रदेशसभा सदस्यमध्ये तत्कालीन समयमा चार जना मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका थिए । तर अहिले आफ्नो पक्षमा १३ जना प्रदेशसभा सदस्य पुगेको ओलीनिकटका नेताहरुको दाबी छ ।
प्रदेशको मन्त्रीमण्डलबाट ओली समुूका मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीले पदमुक्त गरिसकेपछि यहाँ दुबै समूहले कसरत थालेका हुन् । मुख्यमन्त्रीले कुनै जानकारी नदिईकन राजधानीभन्दा बाहिर रहेका बेला उनलाई पदमुक्त गरेका थिए ।
सुदूरपश्चिमको मुख्यमन्त्री फेर्ने विषय धेरै पहिलादेखि नै उठेको विषय हो । भीम रावलले संरक्षण गरेपछि उनको पद जोगिएको छ । प्रचण्ड–नेपाल समूहमा रहेका मुख्यमन्त्रीलाई उनकै समूहले हटाउन खोजिरहेको छ । तर, भीम रावलले उनलाई जोगाउन खोजिरहेकाले ओली समूहमा आउने प्रदेशसभा सदस्यको संख्या बढेको ओलीनिकटका नेता बताउँछन् ।
पदमुक्त भएका बोहराले पनि खेल सुरु भएको संकेत गरेका छन् । कुनै विवादबिना पद जोखिममा रहेका मुख्यमन्त्रीबाटै सुरुवात भएकाले अब आफ्नो समूह पनि मुख्यमन्त्रीविरुद्ध जाने उनले बताए । ‘अहिले नै हामी यसो गर्छौं भनेर भन्न सकिन्न तर हामी एक्सनमा चाहिँ उत्रिन्छौँ,’ उनले भने ।
प्रदेशका पार्टी इन्चार्ज भीम रावलले आफ्नो समूहमा रहेका प्रदेशसभा सदस्यहरुलाई अन्यत्र जान नदिन मन्त्रालय विभाजन गर्ने तथा राज्यमन्त्री थप्नेसम्मको तयारी गरेका छन् । संघीय राजधानीमा केन्द्रित हुने रावलले पछिल्लो समय प्रदेश राजधानीमा आफ्नो समूहको बैठक र भेलालाई तीव्रता दिएका छन् । उनले प्रदेश पार्टीको बैठकदेखि ओलीनिकटका नेताहरुलाई कारबाहीमा तीव्रता दिएका हुन् ।
रावलले प्रदेश अध्यक्षसमेत रहेका ओलीनिकटका नेता कर्ण थापालाई कारबाहीका लागि सिफारिस गरिसकेका छन् भने कैलाली जिल्ला अध्यक्षलाई पनि कारबाही प्रक्रिया अघि बढाएका छन् ।
प्रदेशको मन्त्रीमण्डललाई बलियो बनाउन र आफूनिकटका प्रदेशसभा सदस्य अन्त जान नदिन रावलले मन्त्री तथा राज्यमन्त्री थप्ने तयारी थालेका छन् भने ओलीनिकटका नेताहरुले कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा छन् । कांग्रेसका १२ प्रदेशसभा सदस्य र राजपाका २ प्रदेशसभा सदस्यलाई लिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गर्न सकिने भन्दै ओलीनिकटका नेता टिम बलियो बनाउनमा केन्द्रित छन् ।
प्रचण्ड समूहले भने आफ्नो पक्षमै रहेका तर रुष्ट प्रदेशसभा सदस्यहरुलाई मन्त्री बनाउने आश्वासन दिइरहेको छ । विधानविपरीत काम गर्नेहरुलाई कारबाही गर्ने गरी पार्टीको संसदीय दलले तीव्रताका साथ काम गर्ने जनाएको छ । प्रदेश इन्चार्ज रावलले प्रधानमन्त्री ओली संविधानविपरीत गएसँगै सत्यको पक्षमा पार्टी एक भएको दाबी गरेका छन् । उनले प्रदेश पार्टीबाट त्यसको विरोध गर्ने र पार्टीलाई बलियो बनाउने निर्णयसमेत भएको बताए । ‘सुदूरपश्चिममा हामै्र बहुमत छ, अरुको साथ चाहिएन अनि सरकार ढल्ने र अर्को पक्षले सरकार बनाउने कल्पना नगरे पनि हुन्छ,’ उनले भने, ‘हाम्रा सांसदहरु एकढिक्का छन्, सरकार ढल्ने भन्ने हुँदैन, मन्त्री थपघट हुनसक्छन् ।’
सुदूरपश्चिमको नेकपा संसदीय दलको यो कसरतले ओली समूहतिर देखिएका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा पनि पदमुक्त हुने सम्भावना बढेको छ । त्यससँगै रावल समूहले आफ्नो पक्षका सांसदहरुलाई मन्त्रालयको जिम्मा दिने र राज्यमन्त्री थपेर प्रदेशसभा सदस्यहरुलाई फकाउने सम्भावना बढेको हो । प्रदेशसभाका विषयगत समितिसमेत बढाएर आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिने तयारी रावल समूहले गरेको छ ।
प्रकाशित समय ०७:२५ बजे
















