गृहपृष्ठ आन्तरिक उत्पादन बढेपछि सिमेन्ट आयातमा भारी गिरावट, अबको प्राथमिकता निर्यात वृद्धि
आन्तरिक उत्पादन बढेपछि सिमेन्ट आयातमा भारी गिरावट, अबको प्राथमिकता निर्यात वृद्धि
भौतिक पूर्वाधारको मेरुदण्ड मानिने सिमेन्टमा तीन वर्ष अगाडिदेखि नै नेपाल आत्मनिर्भर भइसकेको छ । त्योभन्दा केही वर्ष अघिसम्म व्यापारिक कारोबारका लागि भारतीय ओपीसी, पीपीसी सिमेन्टको आयात गरिन्थ्यो । अहिले भने सिमेन्ट आयात शून्य रहेको व्यवसायीको दाबी छ ।
उद्योग विभागले पनि केही खानीहरूको उत्खननपछि सिमेन्टमा नेपाल आत्मनिर्भर भइसकेको जनाएको छ । विभागका अनुसार पछिल्लो समय दर्ता भएरै ६ दर्जनभन्दा धेरै उद्योगहरू सञ्चालनमा आएपछि विदेशी सिमेन्टको आयात रोकिएको हो । अहिले नेपालका ठूला सिमेन्ट उद्योग भने लुम्बिनी औद्योगिक करिडोरमै सञ्चालित छन् । लुम्बिनी करिडोरमा सिद्धार्थ सिमेन्ट, जगदम्बा सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, ब्रिज सिमेन्ट, सुप्रिम सिमेन्ट, पाठक सिमेन्ट, अम्बुजा सिमेन्ट, अग्नि सिमेन्ट, विशाल सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योग सञ्चालनमा भने नवलपरासीमा सिजी, सर्वोत्तम र बुटवलमा निर्माण सिमेन्ट उद्योग सञ्चालनमा छन् ।
सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत नै सिमेन्टलाई प्रमुख निर्यातक वस्तु बनाउने घोषणा गरेको थियो । आर्थिक विकासको आधारको रूपमा लिएको सिमेन्ट गुणस्तरीय भौतिक पूर्वाधारले मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक हुने भन्दै सरकारले प्रचार गरेको थियो । सरकारले भनेजस्तै शतप्रतिशत नभए पनि सिमेन्ट व्यवसायीहरू पनि सिमेन्टमा परनिर्भरता हटेको दाबी गरिरहेका छन् । ‘अहिले मागभन्दा धेरै आन्तरिक उत्पादन छ,’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले भने, ‘अहिले मागभन्दा केही बढी उत्पादन भइरहेको छ । बाहिरबाट भने कच्चा पदार्थ पनि आयात भएको छैन । मागभन्दा दोब्बर कच्चा पदार्थ हामीसँग जम्मा छ ।’
ठूला आयोजना र अग्ला भवन निर्माणमा नेपाली सिमेन्टको प्रयोग बढ्दै गएपछि भारतलगायत तेस्रो मुलुकबाट सिमेन्ट क्लिंकर आयात ठप्प रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार तीन वर्षअघि ३० अर्ब २० करोड रूपैयाँ बराबरको सिमेन्ट क्लिंकर आयात हुन्थ्यो भने एक वर्षमै आयात घटेर ०७५/०७६ मा ११ अर्ब ६७ करोड रुपैयाँको मात्र आयात भएको थियो । जुन ६१.३ प्रतिशत कम हो । त्यसपछि भने मागअनुसार मात्रै उत्पादन हुने गरेको अध्यक्ष थापाले बताए । उनले भने, ‘२०७५ मा बढी माग भएको हुँदा उत्पादन पनि धेरै भयो । बाहिरबाट खासै ल्याउनु परेन । त्यसयता बाहिरबाट पनि बन्द भयो । हामीले पनि चाहिने जति उत्पादन गर्याैं ।’
नेपालमा वार्षिक करिब ९ करोड बोराको हाराहारीमा सिमेन्ट खपत हुने गरेको छ । केन्द्रका अनुसार निजी क्षेत्रको लगानीमा खुलेका अर्घाखाँची, जगदम्बा, मारुती, अम्बे, अग्नी, वृज, सर्वोतम, शक्तिमान, शिवम्, यूनाइटेड, सगरमाथा लगायतका सिमेन्ट सबैभन्दा बढी खपत हुने गरेको छ । त्यसमा पनि अरूभन्दा पीपीसी सिमेन्ट वाल लगाउने, प्लाष्टर गर्ने र ओपीसी सिमेन्टको प्रयोग पिलर र ढलान गर्ने हुँदा यी दुई प्रकारका सिमेन्ट बढी विक्री भइरहेका छन् । सिमेन्ट उत्पादन हुने उद्योगदेखि बजारसम्म पुर्याउँदा भाडा जोडर बिक्रेताले सिमेन्ट बेच्दा उद्योगको मूल्यभन्दा ८० रुपैयाँदेखि ११० रुपैयाँसम्म थप रकम उपभोक्ताले तिर्नुपर्ने सिमेन्ट उत्पादक संघले जनाएको छ ।
पछिल्लो समयमा अधिकांश सिमेन्ट कम्पनीहरूले अत्याधुनिक प्रविधिको प्लान्टबाट सिमेन्ट उत्पादन गरिरहेको हुँदा गुणस्तरमा पनि सुधार भएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर परीक्षणपश्चात प्रमाण पत्रसमेत दिने गरेको छ । विभागले सिमेन्ट उत्पादनको ३ दिन, ७ दिन र २८ दिनको नमूना परीक्षणको आधारमा मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको प्रवक्ता दिनानाथ मिश्रले बताए । उनका अनुसार त्यसरी नमूना परीक्षण गर्दा ३ दिनको सिमेन्टमा १६ एमपीए, ७ दिनको सिमेन्टमा २२ एमपीए र २८ दिनको सिमेन्टमा ३३ एमपीए न्यूनतम हुनुपर्ने मापदण्ड छ ।
नेपाल सिमेन्टमा पूर्ण आत्मनिर्भर
देशभर पूर्वाधार, परियोजना तथा भवन निर्माणमा स्वदेशी सिमेन्टको प्रयोग बढेपछि विदेशी सिमेन्टको आयात ठप्प भएको व्यवसायी बताउँछन् । सिमेन्ट उत्पादनका लागि मूख्य कच्चा पदार्थ नेपाली चुनढुंगाको प्रयोग बढेकाले भारत लगायतका मुलुकबाट क्लिंकर आयात शून्यमा झरेको हो । ‘नेपालमा सिमेन्ट क्लिंकर आयात तीन वर्षयता नै ठप्प भएको छ,’ जगदम्बा सिमेन्टका वरिष्ठ ब्रान्ड प्रबन्धक जगन्नाथ दाहाल भन्छन्, ‘सिमेन्ट उत्पादन गर्ने कम्पनी नेपालमा धेरै छन्, मागअनुसार उत्पादन पनि पर्याप्त भइरहेको छ ।’
दाहालका अनुसार नेपालमा जुनसुकै निर्माण प्रयोजनका लागि नेपाली सिमेन्ट पर्याप्त छ । व्यापारिक कारोबारका लागि ओपीसी, पीपीसी भारतीय सिमेन्टको आयात अघिल्लो वर्षदेखि नै शून्यमै झरिसकेको हो । ‘सिमेन्ट उद्योगीले गत वर्षसम्म कोइलामात्र बाहिरबाट ल्याउने गरेका थिए,’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले भने, ‘अहिले भने कच्चा पदार्थ पनि केही समयका लागि बाँकी नै छ । त्यसै कच्चा पदार्थले लामो समय उत्पादन गर्न सकिन्छ ।’
सिमेन्ट उत्पादन गर्नका लागि अनिवार्य कच्चा पदार्थको रूपमा कोइला र चुनखानीलाई लिइन्छ । पछिल्लो समयमा भने नेपालमा चुनखानी उत्खनन सुरु भएयता सिमेन्टमा नेपाल आत्मनिर्भर बनेको व्यवसायीको बुझाइ छ । थापाले भने, ‘सुरुमा सरकारी स्वामित्वका एकाध उद्योगबाहेक भारतबाट आयातीत कच्चा पदार्थ क्लिंकर पेलेर निजी क्षेत्रबाट सञ्चालित नेपाली उद्योगले ‘भीएसके’ प्रणालीबाट सिमेन्ट उत्पादन गर्थे । अहिले स्वदेशमै उपलब्ध चुनढुंगाबाट क्लिंकर उत्पादन गरी रोटोरी प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने गरिएको छ ।’ नेपाल-भारत सीमानजिकैका भूभाग र चुरे क्षेत्रमा रहेका चुनढुंगा खानीलाई आधार बनाएर नेपालमा ठूल्ठूला सिमेन्ट उद्योग सञ्चालनमा आएपछि सिमेन्टमा नेपालको परनिर्भरता घटेको उनले बताए ।
प्रकाशित समय १९:२४ बजे

















