गृहपृष्ठ योजना अनुगमनका नाममा प्रदेश सांसदको खल्तीमा लाखौँ भत्ता, कसले कति बुझे ?

योजना अनुगमनका नाममा प्रदेश सांसदको खल्तीमा लाखौँ भत्ता, कसले कति बुझे ?

सुदूरपश्चिम प्रदेशका सांसदले योजना अनुगमनका नाममा वार्षिक लाखौँ रकम भत्ताबापत बुझ्ने गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा आफैँले विनियोजन गरेका योजनाको अनुगमनका नाममा सांसदले लाखौँ रकम भत्ताबापत बुझ्ने गरेका हुन् ।

हरेक सांसदले भ्रमण भत्ता र यातायात खर्च शीर्षकमा लाखौँ बुझेको तर त्यसको प्रभाव र असर भने कुनै पनि सरकारी योजना प्रभावकारी नदेखिएको आमसर्वसाधारण बताउँछन् । कैलालीको गोदावरी नगरपालिकाका पुष्कर परियारले भत्ताका लागि मात्रै सांसदहरुले अनुगमनको नाटक गर्ने गरेको आरोप लगाए । ‘आफ्नो घरवरिपरिका योजनाको अनुगमनबापत भत्ता बुझ्नु राज्यको ढुकुटीको दोहनबाहेक केही होइन,’ उनले भने । योजना अनुगमनमा भत्ता बुझ्ने परिपाटीलाई आमसार्वसाधारणले कमाउ धन्दा भएको भन्दै आक्रोश पोखेका छन् ।

सांसदहरुले भने नियमअनुसार भत्ता लिएको भन्दै बचाउ गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारद्वारा कार्यान्वयनमा रहेका योजनाको प्रभावकारिताका लागि सांसदहरुले योजनाको अनुगमन गर्न जानुलाई अन्यथा भन्न नमिल्ने जिकिर प्रदेश सभा सदस्य डिल्लीराज पन्तको छ । ‘योजनाको अनुगमन गरेर सरकारलाई उचित निर्देशन दिन सांसदहरुले आफ्नो जिल्लाको भ्रमण गर्न जाँदा योजना कार्यान्वयनमा सहयोग नै पुग्छ,’ उनले भने ।

योजना अनुगमन भत्ता कति छ ?

योजना अनुगमन गर्न गएबापत हरेक प्रदेश सांसदले दैनिक २ हजार ५ सय रुपैयाँ र यातायात खर्चबापत तराईमा भए ३ हजार, पहाडमा ४ हजार र हिमाली जिल्लामा ५ हजारका दरले प्रत्येक पटक दुईतर्फी भाडा रकम उपलब्ध गराउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नै दैनिक भ्रमण भत्ता र यातायात खर्च पाउने गरेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामी बताउँछन् ।

आफ्नो सुविधाका लागि आफैँ नियम बनाउने अवसर पाएका सांसदहरु भ्रमण भत्ता र यातायात खर्च पाउने प्रवधानको बचाउमा छन् । सुरुका दुई आर्थिक वर्षको तथ्यांक हेर्दा सुदूरपश्चिमका ५३ जना सांसदमध्ये अधिकांशले भ्रमण भत्ता र यातायात खर्चबापत जनही ३ लाखभन्दा बढी रकम बुझेको पाइएको छ ।

सबैभन्दा बढी भत्ता बुझ्नेमा काँग्रेस सांसद भरतबहादुर खड्का छन् भने सबैभन्दा कम बुझ्नेमा नेकपा सांसद वीरमान चौधरी देखिएका छन् । प्रदेश सभाका सांसदहरुले भ्रमण भत्ता र यातायात खर्च बुझ्ने प्रतिस्पर्धाका बीच कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित सांसद वीरमान चौधरीले भने सुरुका दुई आर्थिक वर्षमा ६७ हजार १ सय रुपैयाँ बुझेको पाइएको छ ।

सांसद चौधरीले सरकारी बजेट किफायती गर्नुपर्छ भन्ने ठानेर आफूले भ्रमण आदेश र भत्ताका लागि माग नगरेको बताए । दुर्घटनामा पर्दासमेत उपचार खर्च नमागेको सांसद चौधरीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सभाले अहिलेसम्म ४२ वटा कानुन बनाए पनि अधिकांश कानुन सेवा सुविधा दिनका लागि मात्रै निर्माण गरिएको तर नागरिकलाई सेवा दिन भने अझै कयौँ कानुन बनाउन नसकेको आरोप लाग्दै आएको छ । सुदूरपश्चिम प्रदेश सभामा सांसदहरुका लागि पहिलो वर्ष एक करोड बजेट विनियोजन गरिएकोमा दोस्रो आर्थिक वर्षमा भने ५० लाख विनियोजना गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

कसले कति बुझे ?

आव २०७५/२०७६ र २०७६/२०७७ मा प्रदेशका मन्त्रीबाहेक सांसदले बुझेको भ्रमण भत्ता र यातायात खर्चको अवस्था :

अर्जुनबहादुर थापा (सभामुख)‑ २,५२,५१८

निर्मला बडाल जोशी (उपसभामुख)‑ २,२९,५४५

अक्कलबहादुर रावल‑ ३,०८,१७५

अर्चना गहतराज‑ २,१६,७५०

अमरबहादुर साउद‑ २,३३,४००

अम्भीकुमारी थापा‑ २,९५,७५०

उमाकुमारी बादी‑ २,२५,७७५

कर्णबहादुर मल्ल‑ २,९६,७२५

कुन्ती जोशी‑ १,३४,७७५

कुमारीनन्दा बम‑ २,३९,०५०

कुलवीर चौधरी‑ १,८२,८२५

कृष्णबहादुर चौधरी‑ १,३४,३७५

गेल्बुसिंह बोहरा‑ १,७४,०७०

गोविन्दराज बोहरा‑ २,५२,५५०

चुनकुमारी चौधरी‑ २,८८,८००

टेकबहादुर रैका आउजी‑ २,०२,७२०

डिल्लीराज पन्त‑ १,०२९००

तारा लामा तामाङ‑ २,१६,९००

दिव्यश्वरी शाह‑ १,६७,९००

दुर्गाकुमारी कामी‑ २,८५,५२५

देवकी मल्ल थापा‑ २,९४,६७५

देवराज पाठक‑ १,९७,३७५

नन्दबहादुर साउद‑ १,१८,१५०

नेपालु चौधरी‑ १,७०,६२८

पूर्णा जोशी‑ २,०७,७५०

प्रेमप्रकाश भट्ट‑ २,७४,३५०

बलदेव रेग्मी‑ २,३३,७५०

बलबहादुर सोडारी‑ २,९७,८७५

भरतबहादुर खड्का‑ ३,१९,८७५

मनाकुमारी साउद‑ २,४३,६२५

महेशदत्त जोशी‑ १,९५,४७५

मानबहादुर धामी‑ १,४२,१२५

मानबहादुर सुनार‑ १,९८,६२५

माया तामाङ बोहरा‑ १,५९,१२५

मालामति रानाथारु‑ १,४५,०००

रणबहादुर रावल‑ १,८९,१८१

रतन थापा‑ ८१,५००

लालबहादुर खड्का‑ २,२७,१७५

लीलाधर भट्ट‑ २,३८,०००

वीरमान चौधरी‑ ६७,१००

शान्ति नेपाली‑ २,३१,६२५

श्यामलाल राना‑ २,२१,५७५

सुशीला बुढाथोकी‑ १,४६,२५०

हर्कबहादुर कुँवर‑ २,३२, ५७६

दीर्घबहादुर सोडारी‑ ७२,७५०

कृष्णराज सुवेदी‑ १,५८,१२५

प्रकाश रावल‑ १,१८,३३०

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु