गृहपृष्ठ कार्यकारी राष्ट्रपतिको कुरा ‘आउटडेटेड’ : नेकपा नेता भुसाल
कार्यकारी राष्ट्रपतिको कुरा ‘आउटडेटेड’ : नेकपा नेता भुसाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद घनश्याम भुसालले विदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताएका छन् । ‘अनुदानले देश बन्दैन, अनुदानमा के–के सर्त हुन्छन्, बरु ऋण ठीक हो, देशले पचाउन सक्ने सामर्थ्य भए ऋणले राष्ट्र डुब्दैन ।’ तर, ऋण ल्याएर भत्ता बाँड्ने र भ्रष्टाचार गर्ने काम भएमा मुलुक सत्यानाश र बर्बाद हुने उनको भनाइ छ ।
बुटवलमा बुधबार आयोजित कार्यक्रममा नेता भुसालले कांग्रेस ऐतिहासिक रुपमा पछि परेको बताए । ‘हिजो कांग्रेस कति बलियो थियो, चुनावमा यसरी हारिन्छ भन्ने त सोचेकै थिएन,’ उनले भने, ‘अहिले कम्युनिस्टलाई ठूलो अवसर छ, ऐतिहासिक अवसर छोप्न नसके हामी पनि कांग्रेसझैं पछि पर्छाैं ।’
विकास र नेपालको भविष्य कम्युनिस्टको हातमा आएको उनले दाबी गरे । ‘अब पार्टी नै भ्रष्टाचारविरोधी छन् भन्ने कुरा नेकपाले प्रमाणित गर्नुपर्छ,’ उनले भने, ‘पार्टीभित्र भ्रष्टाचार भए बाहिर लड्न सकिँदैन, दुनियाँसँग लड्न सक्नेगरी हामी पार्टी निर्माण गर्छाैं ।’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी राष्ट्रपतिको कुरा निकाल्नु अहिलेको सन्दर्भभन्दा फरक भएको उनको भनाइ छ । ‘अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, पहिला त्यसमा जुटौं, भएन भने त्यतिबेला के गर्नुपर्छ गरौंला, कसले रोकेको छ र ! उहाँ नै अध्यक्ष हुनुहुन्छ,’ नेता भुसालले भने ।
अहिलेसम्म चीनसँग नेपालको सम्बन्ध समस्यारहित रहेको उनले बताए । ‘चीनबाट पुल मागेर, हाइड्रो र रेल मागेर हामी धनी हुँदैनौं, रेलमा त हामी नै हिँड्ने होला नि,’ नेता भुसालले भने ।
प्रकाशित समय १०:३५ बजे
















