गृहपृष्ठ खर्च घटाउन सांसदको आग्रह

खर्च घटाउन सांसदको आग्रह

samsad-newskarobar फाइल तस्बिर

विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा ६ जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा. मीनेन्द्र रिजालले आगामी आवमा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । उनले निर्माणाधीन विमानस्थलको समयावधी र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताए ।

त्यस्तै सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गरे । उनले विश्व सम्पदासूचीमा सूचीकृत सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान नदिएको भन्दै खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेश गरेके बताए ।

युवा तथा खेदकूद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रमिला राईले अनावश्यक रकम घटाउनुपर्ने उल्लेख गरिन् भने अर्का सांसद प्रकाश रसाइलीले अर्थमन्त्रालय शीर्षकको खर्च रकम घटाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यसैगरी सांसद दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च रकममा ग्रामीण पर्यटनको विकासमा ध्यान नदिएको उल्लेख गर्दै मन्त्रालयको विनियोजित बजेट घटाउनुपर्नेमा जोड दिइन् ।

(रासस)

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु